बर्दघाट नगरपालिकाद्वारा प्रकोप ब्यवस्थापन कोषको आय तथा ब्यय सार्वजनिक

0

पुष्पा गिरी
बर्दघाट १५ साउन – बर्दघाट नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ मा प्रकोप ब्यवस्थापन कोषको आय तथा ब्यय सार्वजनिक गरेको छ । बिपद ब्यवस्थापन समितिको विहीवार नगरपालिकाको सभाहलमा भएको बैठकमा बर्दघाट नगरपालिकाले प्रकोप ब्यवस्थापन कोषको आय ब्यय सार्वजनिक गरेको हो ।
विपद ब्यवस्थापन समितिको बैठकमा नगरपालिकाका लेखा अधिकृत बिष्णुलाल पुरीले आय ब्यय प्रस्तुत गरेका गर्नुभएको थियो । प्रकोप ब्यवस्थापन कोषमा बिभिन्न शिर्षकमध्ये प्राप्त २ करोड ८५ लाख ७ हजार १ सय २६ रुपैया बाट २ करोड ७८ लाख २५ हजार २ सय ७९ रुपैया खर्च असार मसान्त सम्म खर्च भएको र कोषबाट भुक्तानी दिनुपर्ने दायित्व वापतको रकम घटाउदाँ अब कोषमा ४ लाख २८ हजार २ सय ७१ रुर्पैया वचत रहेको जानकारी दिइएको थियो ।

 

बैठकमा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बैठकका प्रस्तावहरु पेश गर्नुभएको थियो । बैठकमा आय ब्यय सार्वजनिक , वडा नम्बर १५ मा हावाहुरीबाट भएको क्षति ,समुदायस्तरमा कोरोना संक्रमण भए÷नभएको बारे थाहा पाउन समुदायस्तरमा पीसिआरबाट कोरोना परिक्षण गर्न ब्यवस्थापन गर्ने बारे छलफल गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले जानकारी दिनुभयो ।


बैठकमा नगर प्रमुख बस्यालले होम क्वारेन्टाइनलाई प्राथमिकताका साथ संचालन गर्ने सरकारी तयारी रहेको बताउदै आवश्यकता अनुसार समुदायस्तरमा समेत क्वारेन्टाइन हुने बताउनुभयो । उहाँले समुदायस्तरबाट ६० जनाको कोरोना परिक्षण गर्नका लागि नमुना संकलन गर्न स्वास्थ्य शाखाले समन्वय गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले हालको कोरोना संक्रमणको स्थिति र बिद्यालयमा भएका क्वारेन्टाइनहरु मर्ज भए÷नभएको बारे जानकारी गराउनुभयो ।
कार्यक्रममा नेकपाका नगर अध्यक्ष इन्द्रकुमार राना नेपाली काँग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेलगायतले नगरपालिकालाई सुझाव दिनुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख मायादेवी पौडेल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

You might also like