कैलालीमा डेढ सय घर डुबानमा, केहीलाई सुरक्षित स्थानमा सारियो

0

धनगढी, साउन १४ गते ।

कैलालीमा १५० भन्दा बढी घर डुबानमा परेका छन् । मङ्गलबाररातिबाट भइरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा बाढी आउँदा डुबान भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकामामात्रै १२० भन्दा बढी घर डुबानमा परेका छन् । सो नगरको वडा नम्बर ५ स्थित जबलपुर गाउँका ५०÷६० घर डुबानमा परी जोखिम बढेपछि घरमा बसेका सबै मान्छेलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभयो । ‘उनीहरुलाई नजिकको सुरक्षित स्थानमा सारिएको छ’, उहाँले भन्नुभयो । सो गाउँमा काँढा नदीको बाढी पसेको छ ।
यसैगरी, भजनी नगरपालिका–२ र ३ स्थित मोहनपुर, ढुसी र काँढा गाउँमा काँढा नदीको बाढी पसेर करिब ६० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
काँढा नदीको बाढी ‘ओभरफ्लो’ भएर सडकमा आएपछि भजनी–जोशीपुर सडक र मोहनपुर गाउँबाट महादेउली गाउँ जाने सडक अवरुद्ध भएको छ । मोहना र काँढा नदीको बाढीले भजनी नगरपालिका–३ वडाका अधिकाङ्श ठाउँ डुबानमा परेका वडा अध्यक्ष विक्रम चौधरीले जानकारी दिनुभयो ।
यस्तै, जोशीपुर गाउँपालिका–३ स्थित फरिया गाउँमा काँढा नदीको बाढी पसेर २५ घर र वडा नम्बर ४ स्थित झबही गाउँको खैरेनी टोलमा पथरैया नदीको बाढी पसेर सात घर डुबानमा परेको छ । वडा नम्बर ५ मा पनि केही घर डुबानमा परेको छ ।
अविरल वर्षाका कारण जिल्लास्थित कर्णाली, मोहना, पथरैया, काँढा, कान्द्रा, घुरहा, खुटिया, कटैनी लगायतका सबै नदी र खोलानालामा बाढी आइ पानीको बहाव उच्च भएको छ । जिल्लाको सबैभन्दा ठूलो कर्णाली नदीमा पानीको सतह ९.६० मिटर पुगेको छ । यो सतर्कताको नजिक हो । कर्णालीमा पानीको सतह १० भएमा सतर्कता अपनाउन आवश्यक हुने गरेको ‘गेज रिडर’ पार्वती गुरुङले बताउनुभयो । यसैगरी, कर्णालीमा पानीको सतह ११ मिटर पुग्नु खतराको सङ्केत मानिन्छ ।
नदीमा आएको बाढीका कारण जिल्लाका सबै होचो ठाउँमा डुबान भएको प्रहरी नायब उपरीक्षक बिष्टले बताउनुभयो । उहाँले बर्दगोरिया गाउँपालिका र टीकापुर नगरपालिकामा पनि डुबान भएको र विस्तृत रिपोर्ट आउन बाँकी रहेको उल्लेख गर्नुभयो ।
यसैगरी, वर्षाको पानी जमेर धनगढी उपमहानगरपालिका–३ को मिलनचौक, बोराडाँडी क्षेत्रमा डुबान भएको छ । यस्तै, पार्कचौकमा पनि पानी जमेको छ ।

Gorkha patra

You might also like