एमसीसी फेल भए राजीनामा दिन्छु, ढुक्क हुनुहोला : दाहाल
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आगामी जेठ २० गते बस्ने बैठकमा एमसीसी सम्झौताबारे छलफल गर्ने र त्यसमा एमसीसी फेल भए आफूले राजीनामा दिने बताएका छन् ।
संसद्मा एमालेको अवरोधलाई लिएर पनि दाहालले असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने, ‘विघटनकारी विचार र विघनकारी शक्तिहरू अहिले पनि संसद् विघटनको पक्षमा छन् । बिना कुनै प्रमाण, तथ्य, तर्क सदन अवरोध भएको छ । जसले पटक-पटक सदन अवरुद्ध गर्ने दुस्साहस गरेर अहिले पनि विघटन गर्न खोजिरहेका छन् ।’
पार्टी विभाजन भएको विषयमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले संसद्बाट केही निकास नआउने दाहालको भनाइ थियो । उनले भने, ‘अर्को पार्टी बन्यो, सभामुखले अर्को पार्टी बनाउन भूमिका खेल्नुभयो भन्ने कुरा छ । अहिले मुद्दा अदालतमा छ । अदालतले फैसला नगरी अरू केही हुने अवस्थता छैन । सभामुखले १५ दखिनभित्र दिनुपर्थ्यो १३ औँ दिनमा राय दिनुभयो,’ उनले भने ।
निर्वाचनमा सत्ता गठबन्धन एक भएर जानेबारे कांग्रेसका नेताहरूले फरक अभिव्यक्ति दिएकोप्रति सोधिएको प्रश्नमा दाहालले नेतृत्व त्यसमा प्रष्ट रहेको बताए । कांग्रेस नेतृत्व गठबन्धन गर्नेमा प्रष्ट रहेको र फरक मत भएका कांग्रेस नेताहरूले पार्टीभित्र छलफल गर्नुपर्ने उनको सुझाव थियो ।kantipurnews