एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन

0

श्रावण १२, २०७७

काठमाडौँ — पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार ५ सयले वृद्धि भएको छ ।

 

गत साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँ तथा चाँदीको मूल्य प्रतितोला ७ सय ७५ कायम भएको थियो ।

यस्तै, एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला ४३५ रुपैयाँले वृद्धि भएको छ । त्यसयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । लगातार उकालो लाग्दै आएको पहेंलो धातुको मूल्यमा सोमबार पनि उच्च वृद्धि भएको छ । महासंघका अनुसार सोमबार पनि सुनको मूल्य प्रतितोला एक हजार २ सय रुपैयाँले बढेको छ ।

महासंघले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० रुपैयाँ निर्धारण गरेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८६० रुपैयाँ तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ । मनि मेटल एक्सचेन्जका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९४२.२० डलर पुगेको छ ।

सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ । महासंघका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताउँछन् । सुन प्रतितोला झण्डै एक लाख पुग्नै लागे पनि यसको कारोबार भने ठप्प रहेको उनको भनाइ छ ।

Kantipur

You might also like