पहिरोको डरले घर छाड्दै स्थानीय

0

०९ साउन २०७७

ताप्लेजुङ : फुङलिङ नगरपालिका–१ का दीपक घिमिरेको परिवारको तीन दिनदेखि घरमा बास छैन। घरमुनिबाट पहिरो बग्न थालेपछि सात जनाको परिवार छिमेकमा बस्न थालेका छन्। घर खाली गरेका गरेका घिमिरेले भैंसी र बाख्रा सुरक्षित गाउँमा सारेका छन्।

सडकको भित्ताबाट सुरु भएको पहिरो सय मिटर माथि रहेको घरको जगसम्मै पुगेको छ। १० रोपनीभन्दा धेरै बारी चिराचिरा परेको छ’, घिमिरेले भने, ‘सडककै कारण घर छोडेर हिँड्नुपर्ने अवस्था आयो।’ समितिले जबरजस्ती मापदण्डभन्दा धेरै सडक खनेर आफूलाई विस्थापित बनाएको उनको गुनासो छ। ‘अरू ठाउँमा ४ मिटर खनिएको छ, मेरो जग्गामा १३ मिटर खनियो’, घिमिरेले भने। उनका छिमेकी वेदनाथ घिमिरेको घर पनि जोखिममा छ। फत्ताङलुङ गाउँपालिका–५ साँघुका लक्ष्मण लिम्बूको घर पहिरोले पुरेपछि दुई हप्तादेखि उनको परिवारले पनि आफन्तकोमा शरण लिएको छ।

घरमा मान्छे नभएका बेला गएको पहिरोले खाद्यान्न पनि पुरेको छ। गाउँलेले तत्कालका लागि राहत जुटाएको स्थानीय दीपक लिम्बूले बताए। मिक्वाखोला गाउँपालिका–२ खैरेनीका मानबहादुर थापा फुङलिङ नगरपालिका–२ मा बसाइँ सरेका छन्। घर माथिको जमिन चिराचिरा परेपछि उनी घर छोडेर हिँडेका हुन्। ‘यस्तो मुसलधारे पानीमा जुनसुकै बेला पहिरोले घर बगाउने खतरा भएपछि छोडेर आएको हुँ,’ थापाले भने, अरू गाउँमा जोखिम मोलेरै बसिरहेका छन्।’

अविरल वर्षासँगै जिल्लामा जताततै पहिरो जान थालेको छ। ठूलो पहिरो नगए पनि स–साना पहिरो जान थालेपछि जोखिमा रहेकाहरू छिमेकीका घरमा सरेका छन्। वातावरण प्रभाव मूल्यांकनबिना डोजरले जथाभावी खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोको जोखिम बढेको छ। मंगलबार दिउँसोको पहिरोले आठराई त्रिवेणी गाउँपालिकाको सडक बगाएको छ। वडा नं १ मा पर्ने मेमेङखोला–मालबाँसेखण्को ४० मिटरभन्दा बढी सडक पहिरोले बगाएको वडाध्यक्ष पूर्ण सिटौलाले बताए। यो तेह्रथुम, पाँचथर हुँदै तराई झर्ने सडक हो। सिटौलाका अनुसार यो सडक मर्मत गर्न तत्काल सम्भव छैन।

तमोर नदीमा आएको बाढीले चीनसँगको सीमावर्ती गाउँ ओलाङचुङगोलाका दुई वटा पुल बगाएको छ। फत्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठे पुल बगाएको हो।

पुल बगाएपछि घाँस दाउराका लागि ओहोरदोहोर गर्न समस्या भएको स्थानीयको बताउँछन्। बाढीले तिब्बत जोड्ने सडक र चिनियाँ ठेकेदारको एउटा गाडी पनि बगाएको छ। चिनियाँ ठेकेदारले सडक निर्माणका लागि ल्याएको उक्त गाडी अविरल वर्षासँगै छोडेर गएका थिए। पक्की पुल १२ लाख र काठको पुल २ लाख रुपैयाँमा बनाइएको थियो। दुवै पुल आर्थिक वर्ष २०७५/०७६ मा निर्माण गरिएको थियो। तमोरको उद्गमस्थलमै पोखरी फुटेर बाढी आएर पुलमा क्षति पुगेको स्थानीय तेञ्जिङ वालुङको आशंका छ। उनका अनुसार तमोर नदी र बस्तीको बीचबाट सडक खनिएकाले बस्ती पनि पहिरो र बाढीको जोखिममा छ।

Annapurna post

You might also like