पहिरो प्रभावित बस्तीमा खाने पानीको हाहाकार

0

०७ साउन २०७७

बाजुरा : आइतबारदेखि लगातारको वर्षाका कारण आएको पहिरोले खाने पानीको मुहान बगाउँदा समस्या भएको छ।  बुढीगंगा नगरपालिका २ को बजेडी, नडाग, मुसी, ताप्रा र ताँप्रीसेरा लगाएतका बस्तीको खाने पानीको मुहान पहिरोले बगाएर क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए।

पानीका मुहान नै बगाएर लगेको छ। पानीमुल खोला र ठाँडो खोलाको नजिकै खाने पानीका मुहान भएकोले तीनै खोलाको वारिपारिबाट पहिरो गएपछि खाने पानीको हाहाकार भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए। पहिरोले खाने पानी नै बगाएपछि बुढीगंगा नगरपालिकाका वडा नम्बर २ र ३ का ५ सयभन्दा बढी परिवार समस्यामा परेका छन्।

खाने पानी तथा सरसफाइ सब डिभिजन कार्यालय बाजुराका प्रमुख सुरेश शाहका अनुसार पहिरो प्रभावित क्षेत्रमा खाने पानीको समस्य छ। तत्कालको लागि पाइप पठाएको र मर्मत हुने क्रममा रहेको उनले बताए।

बस्तीको चारैतिर पहिरो आवतजावत बन्द

बुढीगंगा नगरपालिका २ को नडाग बस्तीको चारैतिरबाट पहिरो बगेपछि बस्ती उच्च जोखिममा रहेको छ। पहिरोका कारण नडागका बासिन्दालाई बस्ती आउन र जान समस्या भएको नेपाल रेडक्रस नेपाल बाजुरा जिल्ला सभापति रामबहादुर शाहीले बताए।

बस्तीको एकतिरबाट पानीमुल खोला र अर्कोतिरबाट ठाडो खोलाको छेउछाउका खेतीयोग्य जमिन खाने पानी, बाटो सबै बगाएपछि त्यहाँका स्थानीयलाई समस्या भएको शाहीले बताए। नडागका १ सय ५ परिवार छन् । सबै परिवार पहिरोको उच्च जाखिममा छन्। बुढीगंगा नगरपालिका २ नडाग बस्ती नगरपालिकाको बिकट बस्ती हो। दैनिक खाद्यन्न ल्याउने बाटो बन्द भएपछि सो बस्तीमा समस्या भएको छ।

सयौं परिवार विस्थापित

लगातारको वर्षाका कारण बाजुरा जिल्लाका विभिन्न ठाउँमा लाखौंको क्षति भएको छ भने सयौं परिवार विस्तापित भएका छन्। आइतबार राति आएको अविरल वर्षाले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका २ बजेडीका १ सय ३४ परिवार, नडागका १ सय ५ परिवार, मुसीगाउँका ३६ परिवार, ताप्रीसेराका ६ परिवार गरी २ सय ८१ घर परिवार जोखिममा छन्।

बुढीगंगा नगरपालिका १ मा रहेको अम्कोट, डुग्री र कुडीका सबै बस्ती नै पहिरोको उच्च जोखिमा छन् भने केही परिवार विस्थापित भइसकेका स्थानीय भरतराज उपाध्यायले बताए। अम्कोटका मरुदेवी पाध्याय, डम्मदेवी पाध्याय र सिर्जनादेवी पाध्याय घर नजिकै पहिरो गएका कारण केही दिनदेखि छिमेकीको घरमा ओत लागेर बसेका उपाध्यायले बताए।

त्यसै गरी सोही वडाको कुडीका भुज चदारा, जीत चदारा, शान्ती चदारा, दिपक सिहं, गोरे दमाई, राम साउँद र भोज चदाराका घर पनि पहिरोको जोखिममा रहेको छन्। उनीहरु नजिकैको स्कुल, मन्दिर र खेतमा पाल हालेर बसेका स्थानीय भरत उपाध्यायले बताए।

त्यस्तै सोही वडाकै डुग्रीका नरी थापा र हर्क सनाईका घर पनि पहिरोको उच्च जोखिममा रहेकोले सो परिवार पनि विस्थापित भएको स्थानीयले जानकारी दिए ।  सोही वडाका रावतवाडाका २० परिवार उच्च जोखिममा रहेका स्थानीयले बताएका छन। गाउँका तल र माथि दुवैतिरबाट पहिरो गएकोले तत्काल उद्धार नगरे धन जनको क्षति हुने स्थानीयले बताएका छन्।

बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताँप्रीसेराका सयौं बिगा खेतीयोग्य जमिन बगरमा परिणत भएको बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले बताए। ‘आइतबार राति आएको अविरल वर्षाले बजेडीका २० परिवार उच्च जोखिममा छन् । घरमाथिबाट पहिरो आएपछि छिमेकीको घरमा सरेका छन्। पहिरोले १ सय ३४ घर परिवार रहेको बस्तीका नागरिक रातभरि जागाराम बस्ने गरेका छन्’, उनले भने। त्यसै गरी नडाङका १० परिवारका घर चर्किएर  शिवशंकर प्राविमा बसेका थापाले बताए।

ताप्रीसेरा बजारभित्रै बाढी पसेर लाखौंको क्षति भएको छ। घट्टे खोलाबाट आएको बाढीले ताप्रीसेराका ६ होटेल पसल पूर्ण क्षति भएका छन् भने अन्य सामान्य क्षति भएको वडा अध्यक्ष थापाले बताए।

त्रिवेणी नगरपालिका ७ कोशेडीका ३ परिवार, वडा नम्बर ४ तोलीका ३ परिवार उच्च जोखिममा रहेको दैविक प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए।  खप्तड छेडेदह गाउँपालिका ७ गुम्लागाउँका  ४५ घरधुरी र सोही गाउँपालिकाका दशरथ बठालेख प्राविको भवन पनि उच्च जोखिममा रहेका जानकारी आएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए। जिल्लाका अन्य पालिकामा के कति क्षति भएको बारे बुझ्न तथ्याङ्क संकलन गरिरहेको गैह्रेले बताए।

Annapurna post

 

You might also like