साझा यातायातका बस काठमाडौं उपत्यकामा गुड्न थाले ,बसमा आधा मात्रै यात्रु
मास्क अनिवार्य
काठमाडौं, १ साउन ।
सरकारी लगानीको साझा यातायात काठमाडौं उपत्यकामा आजबाट सञ्चालनमा आएको छ ।
लकडाउन भएसँगै रोकिएको साझा यातायतको सेवा आजबाट २६ वटा बसमार्फत काठमाडौंका अधिकांश रुटमा सेवा सुरु गरेको हो ।
साझाले सरकारले तोकेअनुसार सिट क्षमताभन्दा आधा मात्रै यात्रु राखेर बस सञ्चालन गर्न लागेको जनाएको छ ।बस चढ्न मास्कको प्रयोग अनिवार्य गरिएको छ ।
पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गर्न लागिएको साझाले जनाएको छ ।सरकारले तोकेअनुसार नै भाडा लिइने साझाले जनाएको छ ।
आवश्यकतानुसार बस थप्दै लैजाने साझाको तयारी छ ।
मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि पनि यातायातले बसको मर्मतसम्भार भन्दै केही दिन बस थन्क्याएको थियो ।
बि सं २०१९ सालमा सुरु भएको साझा यातायातलाई विगतमा सबैभन्दा लोकप्रिय सवारी साधन मानिन्थ्यो ।
साझाले अहिले काठमाडौं उपत्यकामा १० रुट तथा उपत्यका बाहिर पनि केही गन्तब्यमा सेवा दिईरहेको छ ।
विभिन्न समस्याका कारण २०६४ मा अवरुद्ध सेवा २०७० सालमा पुनः स्थापित गरिएको हो ।
Mirmire online