वन अतिक्रमण गरी बनाएका घर हटाएर टिमुरका विरूवा रोपियो (फोटोफिचर)

0

दाङ, ३० असार

डिभिजन वन कार्यालय दाङले विगत १२ वर्षदेखि वन अतिक्रमण गरी पक्की घर बनाएको क्षेत्र हटाई वृक्षारोपण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ स्थित जनकल्याण सामुदायिक वनको हटाईएको अतिक्रमण क्षेत्र करिव २ हेक्टर जमिनमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा विगत १२ वर्षदेखि अतिक्रमणमा थियाे । त्यहाँ पक्की घर समेत बनेका थिए । सो क्षेत्र खाली गर्न लगाएर तारबारसहितको वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । अतिक्रमित क्षेत्र खाली गरेपछि जनकल्याण सामुदायिक वनका पदाधिकारीहरू, उपभोक्ता, विजौरी सब-डिभिजन वन कार्यालयका कर्मचारीले संयुक्त रुपमा वृक्षारोपण गरेका थिए ।

दाङको दुर्गम क्षेत्रको रुपमा रहेको बंगलाचुली गाउँपालिकामा डिभिजन वन कार्यालय दाङले टिमुरका बिरुवा वितरण सुरुवात गरेको हाे । टिमुर रोपण महाअभियान अन्तरगत जिल्लामा एक लाख टिमुर रोप्ने लक्ष्य  वन कार्यालयले लिएकाे छ । बंगलाचुली गाउँपालिका वडा नं ४ स्थित जुम्लेपानी सामुदायिक वन उपभोक्ता मार्फत उत्पादन गरेको १२ हजार विरुवाको वितरण गरिएको कमिरेचौर सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत संयोग बस्नेतले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्षले स्थानीय टिमुर खेतीमा अग्रसर किसानलाई विरुवा वितरण गरी बंगलाचुलीमा टिमुर रोपण अभियानको सुरुवात गर्नुभएको थियो ।

दाङको पहाडी क्षेत्रमा टिमुर खेतीको सम्भावना अथक रहेकाले कोरोनाले निम्त्याएको बेरोजगारीको अवस्थामा गाँउगाँउमा भित्रिएका युवाहरुलाई टिमुर खेतीमा परिचालन गर्न सके आर्थिक समृद्धि तथा स्थानीय रोजगारी सृजना हुनेअध्यक्ष वलीले बताए ।

 

प्रदेश सरकार अन्तरगत डिभिजन वन कार्यालय दाङले यस वर्ष बंगलाचुली लगायत घोराहीको सैघा, तुल्सीपुरको छिल्लीकोट, प्रतापकोट लगायतको उत्तरी महाभारत क्षेत्रका किसानहरुलाई निशुल्क रुपमा टिमुरको बिरुवा उपलब्ध गराउने कार्यक्रम रहेको जनाएकाे छ । बंगलाचुली गाउँपालिका सबैभन्दा ठुलो पकेट क्षेत्र रहेकाले त्यस क्षेत्रमा टिमुर विस्तार प्राथमिकतामा रहेको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले वताउनुभयो ।

कार्यक्रममा स्थानीय उपभोक्तासँग अन्तरक्रियाको क्रममा टिमुरको बजारीकरण र खेतीका चुनौतीको बारेमा स्थानीयले जिज्ञासा राखेका थिए । साे क्रममा अधिकृत ज्ञवालीले वन कार्यालयले आफ्नो बारीमा फलेको टिमुर बेच्न कुनै कानुनी जटिलता नरहेको, वन कार्यालयले यसको सरलीकरणमा भुमिका खेल्ने बताउनुभयो ।

हालसम्म करिव चालीस हजार बिरुवाको माग रहेको हुँदा मागअनुसार विरुवा उपलव्ध गराउन चुनौती रहेको तर वन कार्यालयले कसैलाई निराश नबनाउने समेत ज्ञवालीले बताउनुभयाे ।

कार्यक्रमको सहजीकरण कमिरेचौर सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत संयोग वस्नेतले गर्नुभएको थियो ।

News24nepal

You might also like