भुमरीमा फसेको जहाज

0

नरेन्द्रजंग पिटर

author-image

दुई पाइलटले हाँकेको डबल नेकपा अहिले अत्यारिँदो घोप्टेभीरको छाँगोमा उभिएको छ। कोरोना महामारीले संसारकै शक्तिशाली धेरैलाई सडकमै पछार्‍यो। अर्थतन्त्र ओरालो लागिरहेको छ। किस्ता तिर्न नसकेर लिलामीका सूचनाले अब पत्रिका रंगिने भए। पेसा गुमेका छन्। प्रवासी मजदुर देश फर्किरहेका छन्। व्यवसाय ध्वस्त भएको छ। तनाव र दबाबका कारण आत्महत्या दर बढिरहेको छ। असन्तुष्टिका विद्रोही स्वर जताततै छताछुल्ल छन्। तर, यस्तो बेला नै सत्ताधारी दलको फाइट टु फिनिसको झगडाले दुनियाँलाई बिनाटिकटको तमासा बन्यो।

कलाकारको भूमिकामा ‘त्याग, आदर्श र बलिदानको’ उच्च कीर्तिमान कायम गरेका नेता छन्। नेतृत्व शक्ति सञ्चयका लागि समस्या टुंग्याउनेभन्दा टंग्याउनतर्फ लागिरहेको छ। पछुवाहरू निमित्त तर्क कोरल्दै गम्भीर विषय, बहस, कार्यक्रम र एजेन्डा खारेजी अभियान राजधानीबाट प्रदेशमा प्रवेश गरिसक्यो। थाम्न नसकेपछि दुईतिहाइको गौरवता पनि बोझिलो हुँदै बुख्याच्याको टेको लिनु पर्दोरहेछ। जे छैन त्यो देखाइँदै छ, जे छ त्यो छिपाइँदै छ ।

हरेक पार्टीका झैझगडा कार्यकर्तालाई मात्रै नभई आमजनताका पनि सरोकार हुन्। अझ देशको साँचो-लाल्चावाला पार्टीका समस्यामा देशकै भाग्य र भविष्यसँग जोडिएको हुँदा प्रत्यक्ष सरोकार राख्छ ।

भ्रष्टाचार सिन्डिकेट र कोरोनाकालमा आफ्नै कर्मले सरकार नांगिइँदै गयो। झन् अहिलेको झैझगडालाई कतिपयले एमाले र माओवादी एकतामा तुष खोज्दै छन् भने प्रधानमन्त्री र प्रचण्डबीचको भिडन्तका रूपमा पनि लिएका छन्। मौका पाउने र नपाउनेबीचको कलह भनेर पनि अथ्र्याइँदै छ। पूर्वएमालेका कैयन् शीर्षस्थ नेतासमेत प्रधानमन्त्रीका विपक्षमा रहेकाले पहिलो र दोस्रो तर्कमा दम छैन। विचार, राजनीति, संस्कृति एक भइसकेकाले दुवैका पृष्ठभृमिका सबै हकवाला र दोष एवं गुणका हिस्सेदार बनिसके। अब एमाले र माओवादी भनेर डबल नेकपामा छिद्र खोज्नुको तुक पनि छैन ।

पात्र र प्रवृत्तिका रूपमा जे देखिए पनि यो बीआरआई (चीन) र एमसीसीको (अमेरिका) भिडन्तको नेपाली संस्करण मात्रै हो। भारतको बदलिँदो विदेश नीति अमेरिकी झुकावले क्षेत्रीय तनाव देखायो। चीन-भारतबीच लद्दाखको तनावका तार यता पनि जोडिए। स्वार्थका टकराहट र दूरगामी महत्व र सन्देश दिने लद्दाख, लिपुलेक र बीआरआई-एमसीसी आपसमा जोडिएका विषय हुन्। कसले कहाँ कसरी खेल्यो ? को कसरी प्रयोग भयो भन्दा पनि क्षेत्रीय महाशक्ति भारत र विश्व शक्तिको प्रतिस्पर्धी चीन अर्थात् दुई भिन्न चिन्तन, सानो चित्तका ठूला देशका बीचमा रहने मुलुकको नियति पार्टीभित्रका झगडाका रूपमा देखिए ।

आरोप चिन्तन, हैसियत र आग्रहको अभिव्यक्ति हुन्छन् तर नग्न सुन्दरता हेर्न ज्यादै गाह्रो पर्छ। कसको वैशाखी कसले टेक्ने भनिरहेको सरकारी नेकपा अहिले अंशमा सकिने कि समग्रमा ! भन्ने जद्दोजेहादमा छ। कहिलेकहीं नैतिक पुँजी, आदर्श सिर्जित इच्छाशक्तियुक्त एक व्यक्तिले पनि इतिहासका धार नै फेर्न सक्छ। उम्दा सहयोगी तयार गर्छ। तर, त्यही रहेन भने नायकत्व खलनायकमा फेरिएको पनि स्वयंले पत्तै पाउँदैन। पार्टी विभाजनका परिपक्क अवस्था र कारण हुनुपर्छ। सिद्धान्त नमिल्दा, उद्देश्य र मार्गचित्र फरक हुँदा वा नयाँ कोर्स थालनीमा विश्वास फरक परेर एकै ठाउँमा रहने अवस्था गुम्छ ।

सिद्धान्त र आदर्श रहिञ्जेल पार्टीमा संगठनात्मक चरित्र र अनुशासन रहन्छन्। त्यसमा तलमाथि पर्नेबित्तिकै पार्टी फुट्नु स्वाभाविक हुन्छ। तर, नेकपाको विवादमा दुवै पक्षबीच सिद्धान्त, कार्यनीति, मार्गचित्र र दूरगामी रणनीति कुनै फरक छैन। सबै विषयको विगतमा सबै मतियार बनेका हुन् भने अहिले त्यसको पश्चात्ताप पनि दुवै समूहमा देखिँदैन। आधारभूत चरित्र एउटै भएपछि टे«डमार्कका रूपमा रहेको पार्टीमा आन्दोलनलाई नयाँ दिशा दिने हैसियत पनि खस्कन्छ। तब झैझगडा राजनीतिक विषयभन्दा प्राविधिक विषयमै केन्द्रित हुन्छन् ।

प्रश्न शक्तिसँगै हुन्छ। मूल दायित्व पनि मूल नेतृत्वसँगै भएकाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले भ्रम र अविश्वास पैदा हुने अवस्था छिमोल्न सकेनन् ।

१. विश्वास गुम्नु नै भ्रम, आशंका र आग्रहका कारण बने। अमेरिका र भारतलाई पछ्याएको कोरोना संकट समाधानका उपाय जनतालाई त्राहीमाम बन्यो, भ्रष्टाचारीलाई मौका। अमेरिका र भारतीय अभ्यास पछ्याउँदै भएका योजनारहित लकडाउनले गलत समयमा भएको सही निर्णयको हविगत सडकमा देखिए। यसैबेला सांसद ‘अपहरण’ भयो। अध्यादेश आउनुपर्ने र खारेज हुनुपर्ने कारण न संसद्ले जानकारी पायो न देशले। पुराना बहस, छलफल, आशंका र आरोप बहसमा आएनन्। प्रतिपक्ष मौन भयो, पार्टी तैं चुप मै चुप ।

सिंहदरबार बालुवाटारमा केन्द्रित सत्ता शक्तिकेन्द्रीकरण हुँदै संवैधानिक अंग खुम्चिँदै गए। शक्ति पृथकीकरणको चेक एन्ड ब्यालेन्स आदर्श बकपत्रमा सीमित भए। दर्जनौं विधेयक कार्यसूचीमा हुँदाहुँदै राजनीतिक दललाई जानकारीसम्म नदिई संसद् अधिवेशन अन्त्य गराइयो। संसदीय व्यवस्थाविरोधीले नभई स्वयं क्याबिनेट मन्त्रीले संसद्लाई ‘रत्यौली अखडा’ भनिदिइन् ।

२. कर्पोरेट र राजनीति अन्तरघुलनपछि वैधानिक भ्रष्टाचारले कानुनी आधार पायो। समाजवादउन्मुख पार्टी र सरकार भने पनि क्लेप्टोक्रेसीको (भ्रष्टतन्त्र) रजगज भयो। बिनाघुष खुवाएर कुनै पनि काम फत्ते होला भन्ने विश्वास गुम्दै गयो ।

३. संकटले समाधान लिएर आएको मात्रै हुँदैन, त्यसलाई हल गर्ने नयाँ मार्गचित्र साथै ल्याएको हुन्छ। तर, त्यसलाई पहिल्याउने र योजनामा फेर्ने नेतृत्व हुनुपर्छ। सपना देखाउँदै नयाँ ऊर्जा भर्ने नयाँ नेतृत्व संकटकै बीचमा जन्मिँदै जोखिमले मूर्तरूप पनि लिन सक्छ। तर कोरना महामारीमै संसारभर उग्र दक्षिण ढल्को नेतृत्व मैमत्त हुँदै छ। प्रधानमन्त्री पनि त्यही पुरानो अन्धराष्ट्रवादी कार्ड प्रयोग गरेर नयाँ संकटमोचन योजनामा छन्। एउटै नदी दोस्रोपटक पनि तर्न सकिँदैन पानी त बगिसकेको हुन्छ ।

४. विगतको भूल सच्याउँदै नयाँ नक्सा जारी गर्नु स्तुत्य पक्ष हो। तर, त्यसपछि गम्भीर कूटनीतिक प्रयासलाई हल्का, ठट्टा वा आक्रोसमा व्यक्त गर्दा नक्सा हाम्रो हातमा जग्गा अर्काका हातमा रहने अवस्था आउन सक्छ। युघको रूप लिनै खोजेको गलवान भिडन्त अहिले गम्भीर कूटनीतिक प्रयासले समाधान खोज्दै छ, त्यसबाट नेपालले सिक्नुपर्छ ।

५. प्रधामन्त्री व्यक्ति मात्रै नभई संस्था हो। तर दबाब र तनावमा किचिएपछि नक्कली शत्रु खोज्दै छायाँदेखि तर्सिन थालेर काल्पनिक विम्ब खडा गरिँदै छ। ‘विदेशीले सरकार ढाल्न खोज्यो’ ‘राष्ट्रपति महाभियोग’ प्रसंग आए। तर आफ्ना वरिपरिकाको घोर अपराध र भ्रष्टाचारसम्बन्धी उठेका विषयको प्रतिरक्षा भयो। प्राविधिक र स्वास्थ्यसम्बन्धी विषयमा प्रशिक्षण नै दिन खोजियो। होलीवाइन प्रकरण सामान्य विषय थिएन।

प्रधानमन्त्री होटल सर्नु घबराहट र बेचैन लक्षण त्यही बेला देखिए। प्रधानमन्त्री खुद गल्ती गरिरहेछन्, गर्दै जाऊन त्यो अझ बढोस् भन्ने विपक्षी चाहन्थे। आफ्नो छवि बचाउन अर्काको छवि ध्वस्त गराउने रणनीति लिइयो। अवस्था सम्हालिएन्, आतंकित पारेपछि बालुवाटार शीतल निवासको म्याराथुन चले। मन्त्रीहरूलाई भय र प्रलोभनले समर्थन लिने कोसिस भए। देशको प्रमुख कार्यकारी निवास पार्टी कार्यालयमा फेरिनु र राष्ट्रपतिलाई प्रत्यक्ष पार्टी गुटमा तानिनु त मर्यादित राजनीतिमा दाग लगाउनु नै हुन्थ्यो ।

अन्त्यमा राम्रो काम त सरकारको दायित्वमै पर्छ। तरिका गलत भएपछि परिणाम पनि राम्रो निस्कन्न। भोको पेट, अपमानित स्वाभिमान, अनिश्चित भविश्य, टुटेका सपना, ध्वस्त भएका व्यवसायी नेतृत्वका रत्यौली देख्दा जनमानसमा निराश बढेर आक्रोश उत्पन्न भएको छ ।

पार्टीमा राजनीतिक संस्कृति नदेखिएपछि परिवर्तनका नारा आत्महत्या गर्दै गुट, फुट, झुट र लुट नै पार्टीको परिचय र संस्कृति बन्छ। गम्भीर विषय ओझेल पर्दै समस्या सैद्धान्तिक, वैचारिक र सांस्कृतिक भएर बहसमा प्रवेशै पाउँदैनन् वा खारेजीमा पर्छन्। गलत नियतले उमारिएका निमित्त तर्कले कुण्ठा मात्र जाहेर गर्छ। त्यस्ता कुण्ठाले प्रतिशोध जन्माउँछ। प्रतिशोध नै जब उद्देश्य हुन्छ त्यसले विध्वंस निम्त्याउँछ नै। सिद्धान्त, विधि र पद्धतिको मान्यता अवलम्बन नगर्दा नेकपा ध्वस्त अवस्थामा पुगेको हो। यो भिडन्तमा देशले ठूलो मूल्य चुकाउन पर्नेछ ।

अंशमा सकिने कि समग्रमा ध्वस्त हुने भनेर भुमरीमा फसेको जहाज कसरी निकाल्ने भन्ने विश्वासिलो योजना क्याप्टेनहरूसँग देखिँदैन। यो खुसीको समय नभई जाग्राम बस्ने समय हो। कोरोनापछिको अर्थतन्त्र, बेरोजगारी हटाउने र लिपुलेक भारतीय अतिक्रमणको गम्भीर कूटनीतिक सक्रियता कसरी गर्ने चुनौती हुन्। नेतृत्वमा इष नभई सर्वस्व गुम्नुभन्दा अंश गुम्न त राम्रो भन्ने सोच पलाउनुपथ्र्यो। तर सामन्ती अहंकारी संस्कृतिले टुट्न दिन्छ, झुक्न वा समझदारीमा पुग्न दिँदैन। पराइसँग जति लम्पसार परे पनि जोडीदारसँग भने ऊ ऐंठिन्छ ।

Annapurna post

You might also like