बाढीका कारण बन्द भए करिब ५ सय मेगावाटका जलविद्युत् आयोजना

0

२६ असार,

काठमाडौं । अविरल भारी वर्षासँगै खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहहरुबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिए ।

बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङले बताए ।

‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढ भएको छ, करिब ५ सय मेगावाट  उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं’,घिसिङले भने, ‘आफ्नो उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ ।’

उनले बन्द रहेका विद्युत्गृह, प्रसारण तथा वितरण लाइन संचालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको जानकारी दिए ।

बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युतगृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको वहाव झन् बढेर आएकाले विद्युत्गृह कतिवेला संचालन गर्न सकिन्छ अहिले नै केही भन्न नसकिने केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए ।

प्राधिकरणका ७० मेगावाटको मध्यमरर्स्याङ्दी ङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत्गृह बन्द छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीलगायतका विद्युतगृहको करिब २४० मेगावाट विद्युत् उत्पादन भएको छ ।

भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरुको करिब १५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुंडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको छ ।

Online khaber

You might also like