माक्स नलगाई हिँड्ने ४५ जना पक्राउ

0

२४ असार २०७७

धरान : लकडाउनको समयमा धरानमा माक्स नलगाई हिँडडुल गर्ने ४५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले माक्स नलगाई हिँड्नेलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए लगत्तै धरान प्रहरीले बुधबार  ४५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपालमा समेत दिनप्रतिदिन कोरोना संक्रमण पोजिटिभ बिरामीको संख्या बढिरहेको छ । सरकारले बाहिर जाँदा अनिवार्य माक्स लगाएर मात्र हिड्न अनुरोध गरेको भएपनि अवज्ञा उलंघन गर्नेलाई नियन्त्रणमा लिएको डिएसपी बस्नेतले बताए ।

धरानका विभिन्न स्थानबाट पक्राउ गरिएकालाई प्रहरीले धरानको भानुचोकको वडाप्रहरी कार्यालयमा २ घण्टा राखेर सम्झाइ बुझाइ गरी छाडिदिएको डिएसपी बस्नेतले बताए ।  पक्राउ परेका व्यक्तिले पुन: मास्क नलगाइ हिँडेको पाइएमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाउने भन्दै चेतावनी दिएर छोडेको उनको भनाइ छ ।

लकडाउन खुकुलो भएपछि धरानमा सामाजिक दूरी कायम नगर्ने, लागुऔषध खरिदबिक्री गर्ने र समूहमा माक्स नलगाई  सर्वसाधारणको भीड लाग्न थालेपछि प्रहरीले कडाइ गर्न थालेको डिएसपी बस्नेतले बताए।

Annapurna post

You might also like