इच्छुक प्रतिष्ठानद्वारा विशेष कविता गोष्ठी सम्पन्न

0

काठमाडौ – १८औँ इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवशका अवसरमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले अनलाइन सेवा जुम मार्फत् विशेष कविता गोष्ठी सम्पन्न गरेको छ ।

महान् सहिद कृष्ण सेन ‘इच्छुक’को तात्कालिन महेन्द्र पुलिस क्लव काठमाण्डौमा हत्या भएको जेठ १३ गतेलाई अखिल नेपाल जनसांस्कृतिक महासङ्घ र इच्छुक सांस्कृतिक प्रतिष्ठानले ‘इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवश’ मनाउँदै आएका छन् ।
यस वर्ष कोरोनाजन्य माहामारीले सिङ्गो विश्व आक्रान्त भएको छ । नेपालमा पनि कोरोनाको उच्च जोखिम रहेको र माहामारीको प्रभाव बढ्दै गएका हुनाले देश विगत दुई महिनादेखि लकडाउनमा रहेको छ । यस्तो अवस्थामा कुनै पनि सङ्घ संस्थाहरूले प्रत्यक्ष रूपमा कुनै पनि गतिविधि गर्न सकिरहेका छैनन् । इच्छुक सांस्कृतिक प्रतिष्ठानले जेठ १३को वलिदान दिवशलाई अनलाइन सेवा जुममार्फत् विशेष कविता गोष्ठी गरेर यस वर्ष इच्छुकलाई सम्झिए ।

प्रतिष्ठनका अध्यक्ष हिरामणि दुःखीको सङ्क्षिप्त मन्तव्य पश्चात सुरु भएको कार्यक्रममा २६ जना कविहरूले सहभागिता जनाए । कविहरूले अहिलेको राज्यसत्ताको उत्पीडन, दमन, कोरोनाजन्य माहामारीले पारेका प्रभाव, राष्ट्रिय स्वाधीनता, जनयुद्धको मूल्यबोध आदि विषयमा कविता वाचन गरेका थिए । कार्यक्रमको सुरुआतमा प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले सहभागि कविहरूलाई स्वागत गर्दै इच्छुकको योगदान, सांस्कृतिक वलिदान दिवशको सन्दर्भ र औचित्यबारे सङ्क्षिप्त मन्तव्य राखेका थिए । त्यसपछि कार्यक्रको सहजीकरण प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले गरेका थिए भने प्राविधिक व्यवस्थापन प्रतिष्ठानका सदस्य प्रा.डा.ताराकान्त पाण्डे्यले गरेका थिए । पाण्डे्यले इच्छुकको कविता कृति बन्दी र चन्द्रागिरीबाट ‘यात्रामा हिँड्दाहिँड्दै’ शीर्षकको कविता वाचन गरेर कविता वाचनको प्रकृया अगाडि बढाइएको थियो ।
उक्त जुमसेवा मार्फत् कविता वाचन गर्ने कविहरूमा सुनिता बुढाथोकी, विष्णु भण्डारी, छायादत्त न्यौपाने, विमला चन्द, शीला योगी, गौरी दाहाल, जगदीशचन्द्र भण्डारी र मित्रलाल पंज्ञनी (काठमाडौं), राजेन्द्र पौडेल, पोषराज पौडेल, पर्शुराम कोइराला, कल्पना चिलुवाल र कृष्णराज अधिकारी (पोखरा), इन्दिरा अधिकारी, पञ्चकुमारी परियार र केशव सिलवाल (ललितपुर), उमेश आचार्य (हेटौँडा), मोदनाथ मरहट्टा, विष्णु न्यौपाने (चितवन), रोशन जनकपुरी (जनकपुर), अनिल श्रेष्ठ (तनहुँ), बलराम तिमल्सिना (भक्तपुर) र हिरामणि दुःखी (दाङ) थिए ।
हिजो दिउँसो दुई बजेबाट सुरु गरिएको कार्यक्रम साढे चार बजे सकिएको थियो । कार्यक्रमको समापनमा प्रतिष्ठानका अध्यक्षले लकडाउनका अवसरमा पनि सबै आआफ्नै घरमा बसेर महान् सहिद कृष्ण सेन इच्छुकलाई स्मरण र सांस्कृतिक वलिदान दिवशको मूल्यवोध गर्दै इच्छुकका अधुरा सपना पूरा गर्न सबैले वर्तमान प्रतिक्रियावादी राज्य व्यवस्थाका विरुद्धमा पुनः आन्दोलनको सृष्टी गर्नुपर्ने औँल्याउँदै सबै सहभागिहरूलाई धन्यावाद दिएपछि प्राविधिक कन्ट्रोल गरिरहेका सदस्य ताराकान्त पाण्डे्यले कार्यक्रम समापनको घोषणा गरेका थिए ।

You might also like