पश्चिम नवलपरासीका पत्रकारहरुको कोरोना बिमा

0

नवलपरासी ८ जेठ – नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाले शाखामा आवद्ध सदस्य पत्रकारहरुको प्रति व्यक्ति ५० हजार रुपैया बराबर को कोरोना बिमा गरेको छ । भारतसँग सीमाना जोडिएको र उच्च जोखिममा रही समाचार संकलन गर्नु परेकाले शाखामा आवद्ध सबै सदस्यहरुको बीमा गरिएको शाखा अध्यक्ष हरि शर्माले बताउनुभयो । शाखामा ६३ जना सदस्य आवद्ध छन् । आवद्ध सदस्यमध्ये केही विदेशमा रहेको र केहीको यसअघि नै बीमा भइसकेकाले १ जना कर्मचारीसहित ४९ जना सदस्यहरुको बीमा गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । जनरल इन्स्योरेन्स कम्पनी लि. शाखा कार्यालय, पश्चिम नवलपरासी मार्फत बिमा गरिएको बिमाको सम्पूर्ण खर्च पत्रकार महासंघ जिल्ला शाखाले व्यहोरेको हो । कोरोना परीक्षण गर्दा कुनै पनि व्यक्तिको पीसीआर पोजेटिभ रिपोर्ट आए बीमा रकम उपलब्ध हुने बीमा कम्पनीका शाखा प्रबन्धक नारायण न्यौपानेले जानकारी दिनुभयो । कोरोना संक्रमणका विरुद्ध अग्रपंक्तिमा रहेका पत्रकारहरुको मनोबल उच्च बनाउन सरकारबाट कुनै सहयोग उपलब्ध नभएको अवस्थामा शाखामा आवद्ध पत्रकारहरुलाई पेशाप्रति उत्साहित बनाउन बिमा गरिएको अध्यक्ष शर्माले बताउनुभयो । सरकारी निकायबाट कुनै सहयोग प्राप्त नभएपनि शाखाले आवद्ध सदस्य र जिल्लामा कार्यरत अन्य पत्रकारहरुलाई स्वास्थ्य सामाग्री, प्रेसज्याकेट लगायतका सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । यसैबीच पत्रकार महासंघले जिल्लामा कार्यरत सम्पूर्ण पत्रकारहरुको पीसीआर परीक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको शाखा सचिव राजकुमार रेश्मीले बताउनुभयो ।

You might also like