‘भारत तर्फबाट आउनेहरुका कारण पश्चिम नवलपरासीमा कोरोना संक्रमणको चुनौती’

0

नवलपरासी ३१ बैशाख :

खुल्ला सिमानाका कारण भारततर्फबाट आउने नेपालीहरुका कारण पश्चिम नवलपरासीमा कोरोना संक्रमणको चुनौती बढेको सरोकारवालाहरुले बताएका छन् ।
नेपाल पत्रकार महासंघको आयोजना जिल्ला समन्वय समितिको समन्वयमा बुधवार परासीमा आयोजित कोरोना भाइरस रोकथाम र नियन्त्रणका विषयक सरोकारवाला बिचको सञ्चार संवाद कार्यक्रममा उक्त कुरा औल्याइएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायसहित जिल्लाका सातै स्थानीय तहका प्रमुखसहितका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
भारतबाट पश्चिम नवलपरासीमा भित्र्ने नेपालीहरुको सङख्या बढिरहेको र त्यसमा पनि लुकिछिपि जिल्ला भित्र्ने क्रम बढ्दै गएपछि जिल्लामा क्वारेन्टाइन व्यवस्थापन, लकडाउन कार्यान्वयन, कोरोना परीक्षण, राहत सामाग्री वितरण लगायतका विषयमा केन्द्रित रहेर संञ्चार संवाद गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले विकास निर्माण र उद्योग संचालनका निम्ति केहि खुकुलो भएता पनि कार्यान्वयनका लागि हरसम्भव प्रयास भईरहेको बताउनुभयो । उहाँले भारततर्फबाट सिमाक्षेत्रमा आउने नेपालीहरुका लागि सिमामै ब्यवस्था गर्नका लागि प्रशासनले सरकारलाई सुझाव दिएको बताउनुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्याल सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापा , रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ता पाल्हीनन्दन गाउपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरी सुस्ता गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेय , प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्मा र जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गौरब ढकाललगायतले कोरोना रोकथामका कारण लागि भएका कार्य र सिमा क्षेत्रबाट आउनेहरुका कारण भएको चुनौती बारे बोल्नुभएको थियो ।

यस्तै जिल्ला समवन्य समिति प्रमुख तथा जिल्ला स्तरीय कोरोना नियन्त्रण समन्वय समितिका संयोजक शिवंशङ्कर प्रसाद रायले लकडाउन कार्यान्वयन पछिल्लो पटक फितलो देखिएको बताउदै सबैलाई यसमा साथ दिएर कार्यान्वयमा कडाई गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले गर्नुभएको थियो । जिल्ला समन्वय समितिको सहयोगमा भएको सञ्चार संवाद कार्यक्रमको संचालन पत्रकार बिकास अधिकारीले गर्नुभएको थियो । यस्ता कार्यक्रमले आम नागरिकमा देखिएको चासोलाई सम्बोधन गर्न सघाउ पुग्ने भएकाले पनि पत्रकार महासंघ जनसरोकारका विषयलाई सम्बोधन गर्न सदैव अग्रस्थानमा रहने महासंघका जिल्ला सचिव राजकुमार रेश्मीले बताउनुभयो ।

You might also like