सिमा सुरक्षा पोष्टको संख्या पाँच गुणा बढाउने गृहमन्त्रालयको तयारी

0

काठमाडौं । गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको सिमा सुरक्षा पोष्ट (बिओपी)को संख्या पाँच सय पुराउने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दिएको निर्देशनअनुरुप सशस्त्र प्रहरी बलले सोसम्बन्धी खाका तयार पारी आज गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारीसमक्ष प्रस्तुत गरेको हो । हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर ५ सय पुराउने सरकारको तयारी छ । नेपालतर्फको सिमानाकामा भारतको ५३० बिओपी रहेकोमा नेपालले पनि सोही अनुपातमा बिओपी थप्ने तयारी गरेको हो ।  प्रस्तावअनुसार सो संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि  सशस्त्रले राखेको छ । हाल सरदर १५ किलोमिटरको दुरीमा रहेको बिओेपी त्यसपछि ३.५ किलोमिटर सिमामा रहनेछ । बिओपी थपसम्बन्धी गृहमन्त्रालयको छलफलमा गृहमन्त्री थापाले सिमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बिओेपी थपसम्बन्धी प्रस्ताव आफूले मन्त्रीपरिषदमा लैजाने बताउनुभयो । गृहमन्त्री थापाले सशस्त्र प्रहरीले तयार पारेको प्रस्ताव राम्रो रहेको भन्दै बिओेपी रहने स्थान, आवश्यक पूर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिनुभयो । शान्त,  समृद्ध र स्वाधीन नेपालका लागि सिमा व्यवस्थापन अनिवार्य शर्त रहेको बताउँदै गृहमन्त्री थापाले यसका लागि राज्यले बजेटमा कन्जुस्याइँ गर्न नहुने बताउनुभयो ।   तत्कालै वा चरणवद्धरुपमा ५ सय स्थानमै बिओेपी स्थापना प्रक्रिया अगाडि बढाइने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । गृहमन्त्रीले अहिले जटिल परिस्थितिमा सीमित, स्रोत र साधनका बाबजुद सिमामा कोरोना नियन्त्रणका लागि सुरक्षानिकायले  खेलेको भूमिका प्रशंसनीय रहेको टिप्पणी गर्नुभयो ।  गृहसचिव महेश्वर न्यौपानेले सिमाको विषय सम्वेदनशील विषय भएकोले सिमाबाट हुने अपराध, चोरी, तस्करी नियन्त्रणका लागि समेत बिओेपी बढाउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्सारको १११ ठाउँमा रहेको जग्गा बिओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । यसअघि सिमाक्षेत्रमा ८७ बिओपीमात्रै रहेकोमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रालय सम्हालेपछि यसमा ठूलो संख्यामा थप गरी १२० पुराइएको छ । त्यस्तै बिओपी संख्या २२१ पुराउने गृहमन्त्रीको प्रस्ताव मन्त्रीपरिषद्ले यसअघि नै पारित गरिसकेको छ । यसअघि बिओपीमा करिव ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सिमा सिलपछि ८ हजार ३८३ थप जनशक्ति सिमामा थपिएको हो ।  गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सिमामा पठाउन निर्देशन दिएसँगै अहिले ठूलो संख्यामा सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् । सशस्त्रको १२१ स्थानमा मात्रै बिओेपी रहेपनि कोरोनाको संक्रमणका कारण सिमा सिलपछि त्यसलाई बिस्तार गरि १२ सय स्थानमा अस्थायी र स्थायी पोस्ट बिस्तार गरिएको सशस्त्रले जनाएको छ । दैनिक अनलाइन
Read more at: https://dainikonline.com/story/31762/2020/5/4/sima-bop?fbclid=IwAR0hzkEqV1nNa41DO0ZbuI0W4-XpjxlqUvtKEHnRONmM9JAydF1ZwRNx3s8

You might also like