किसानको समस्या समाधानका लागि प्रतिबद्ध छौ –नगर प्रमुख बस्याल
नवलपरासी ९ बैशाख – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कृषि तथा पशुपालनको क्षेत्रमा लकडाउनबाट परेको प्रभाव र समस्याका बारे कृषकहरुबीच अन्तरक्रिया तीब्र बनाएको छ । १०–१५ जनाको सानो समुहमा भौतिक दुरी कायम गर्दै सोमवार अन्तरिक्रया गरिएको हो ।
सो अन्तरक्रियामा नगर प्रमुख धीरज शर्मा बस्यालले लकडाउनले कृषि तथा पशुपालनको क्षेत्रमा पारेको असरबारे कृषक अगुवाहरुसंग अन्तरक्रिया गर्नुभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले जानकारी दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख बस्यालले धानबाली शुरु गर्नका लागि धानको बिउको अवस्था र त्यसमा नगरपालिकाले गर्नुपर्ने सहयोगका बारे कृषकहरुबाट जानकारी लिनुका साथै तरकारी, फलफूल दुध तथा दुधजन्य पद्धार्थ , मासुजन्य पद्धार्थ पशुआहार र नगरमा उत्पादित कृषिजन्य बस्तुको बजार ब्यवस्थाका बारे आफ्ना धारणा राख्नुभएको थियो ।
उक्त अवसरका कृषकहरुले जथाभावी रुपमा स्थानीय बासिन्दाले बाटोमा अवरोध पु¥याउदाँ गहुको भुस लगायतका पशु आहार र दुध तथा तरकारीका उत्पादनलाई ल्याउन र लैजान गाह्रो परेकाले सहजीकरण गर्न माग गरेका थिए ।
त्यसपछि नगरप्रमुख बस्यालले बजार ब्यवस्था र पशु आहार ल्याउने सवारी साधनका लागि आफुले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको पशुसेवा शाखाका प्रमुख भरत लम्सालले जानकारी दिनुभयो ।
अन्तरक्रियामा कृषकहरुले नगरले किसानका गुनासो राख्ने अवसर दिएको भन्दै बिभिन्न समस्याहरुलाई नगर प्रमुख समक्ष राखेका थिए ।
सो अवसरमा उपप्रमुख माया देवी पौडेल , स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली , कृषि शाखा प्रमुख युवराज लम्साल ,योजना शाखाका कृष्ण थापा क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।