नीति निर्माता नै नीति उल्लघंनकर्ता – आफु खुसी स्वास्थ्य सामाग्री बाड्दै प्रदेश सभा सदस्य जैसवाल

सभामुखलाई जानकारी गराइएको छ - प्रजिअ दाहाल

0

रवि पाण्डेय
नवलपरासी ६ बैशाख – नीति बनाउने थलोका रुपमा रहेको प्रदेश सभाका सदस्य बैजनाथ जैसवालले सरकारी नियम विपरित बहुद्धार प्रणालीबाट स्वास्थ्य सामाग्री बितरण गरेका छन् । संघीय सरकारले कारोनाबाट उत्पन्न प्रतिकुल अवस्थाका कारण प्रभावितहरुलाई एकद्धार प्रणालीमार्फत राहत सामाग्री बितरण गर्न दिइएको निर्देशन बिपरित जैसवालले जनतामै पुगेर स्वास्थ्य सामाग्री वितरण गरेका हुन । संघीय सरकार गृह मन्त्रालयको चैत्र १६ गते आपूर्ति ब्यवस्थापनलाई सहज गराउने बिषयमा भएको बैठकको निर्णयानुसार कुनै निकाय संघसंस्था र ब्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहसंग सम्पर्क राख्नुपर्ने र आफू खुसी सहायता बितरण गर्न नपाउने निर्णय गरेको थियो । सोही निर्णय नबाझिने गरी प्रदेश सरकारले समेत एकद्धार नीति अबलम्बन गर्न सबैलाई निर्देशन गरेको थियो । तर सो निर्देशन उल्लघंन गर्दै प्रदेश सभा सदस्य जैसवालले आफ्नो निर्वाचन क्षेत्र रहेको रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँ पालिकासंग समन्वय नै नगरी स्वास्थ्य सामाग्री बांडेको ती स्थानीय तहहरुले जनाएका छन् ।

राहतलाई एकद्धार बनाउने बारे गृह मन्त्रालयको पत्र

प्रदेश सभा सदस्य जैसवालले आफै नागरिकस्तरमा पुगेर मास्क, साबुन तथा आफ्नो लगानीमा रहेको अरुणा डिस्ट्रीलरीमा उत्पादित स्यानीटाइजर वितरण गरेका हुन । जैसवालले सोफी ब्राण्डको मदिरा प्याक गर्ने प्याउचमा उक्त स्यानीटाइजर प्याक गरेर बितरण गरेको एक प्रत्यक्षदर्शीले बताए । जिल्लास्तरमा समेत स्वास्थ्य सम्बन्धि समान स्थानीय तह सहित जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमार्फत र खाद्यान्न लगायत उपभोग्य समान भए स्थानीय तहमै मार्फत वितरण गर्नुपर्ने नियम रहेको छ । जैसवालको उक्त कार्यले संघीय सरकार , प्रदेश सरकार , जिल्ला कोरोना नियन्त्रण समन्वय समितिकै निर्णय समेत उल्लघंन गरेको छ । प्रदेश सभा सदस्य जैसवालले स्थानीयतहसंग समन्वय नै नगरी आफू खुसी स्वास्थ्य सामाग्री बाड्दै हिडेपछि यसबारे बिभिन्न क्षेत्रबाट चाँसो समेत ब्यक्त हुदै आएको थियो ।

पाल्हीनन्दन वडा नम्बर १ मा स्वास्थ्य सामाग्री वितरण गर्दै जैसवाल

प्रदेशसभा सदस्य जैसवालले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने रामग्राम र पाल्हीनन्दन गाउपालिकामा ३४ लाख बराबरको स्वास्थ्य सामाग्री बितरण गरेको दावी सहितको समाचारहरु आइरहदाँ समेत सरोकारवालाहरुले भने मुख खोल्न सकेका छैनन । नवलपरासी पश्चिम प्रतिनिधिसभा २ (ख)मा रामग्राम नगरपालिकाका १३ वडा र पाल्हीनन्दन गाउँपालिकाका ६ वटा वडा पर्ने भएपनि ती स्थानीय तह समेत प्रदेश सांसद जैसवालले वितरण गरेको र स्वास्थ्य समाग्री बारे असन्तुष्ट देखिएका छन् । जयसवालले त्यहाँ रहेका कुल १७ हजार घरधुरीलाई जनही २ थान मास्क, १ सय ५० एमएलको सेनिटाइजर र एक बट्टा साबुन वितरण गरेका थिए । शुरु चरणमा नेपाली काँग्रेसको झण्डा अंकित ब्यानर नै राखेर समान बितरण गरेका जैसवालले पछि चारतारे झण्डालाई ब्यानरमा मेटाइएको थियो ।

चारतारे झण्डा सहितको वितरण कार्यक्रम

प्रदेश सभा सदस्यले पार्टीकै झण्डा रहेको ब्यनार प्रयोग गरिएको भन्दै चर्चा चलेसंगै झण्डा मेटाइएको हो । पालिकासंग औपचारिक रुपमा समन्वय नगरेपनि आफू अनुकुलका जनप्रतिनिधिहरुलाई भने जैसवालले वितरणको क्रममा सहभागी गराउदै आएका छन् ।

झण्डा हटाइएको ब्यानर सहितको कार्यक्रम रामग्राम वडा नम्बर ५ मा स्थानीय जनप्रतिनिधि सहित

त्यस्तै पाल्हीनन्दन गाउँपालिकामा अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले सांसद जैसवालले नागरिकमा आफै पुगेर स्वास्थ्य सामाग्री बितरण गरेको बताउदै समान बाढनु अघि जैसवालले आफूलाई फोन गरेको तर आफुले एकद्धार प्रणालीबाट राहत बाढ्न प्रस्ताव गर्दै गाउपालिका मार्फत बितरण गर्न सुझाव दिदाँ समेत मनोमानी ढंगबाटै स्वास्थ्य सामाग्री बितरण गरिएको बताउनुभयो । उहाँलाई एकद्धार गरौ भन्यौ – गुप्ताले भन्नुभयो – तर एकद्धार गर्न मान्नुभएन , आफै बाड्नुभयो । उहाँले दिएको स्यानीटाइजरको गुणस्तरबारे समेत आफू सन्तुष्ट नभएको गुप्ताले बताउनुभयो ।

त्यस्तै रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रदेश सांसदले नै बहुद्धार प्रणालीमार्फत राहत वितरण गर्नु जायज नभएको बताउनुभयो । उहाँले रामग्राम नगरपालिकाको परासी बजार सहित बिभिन्न स्थानमा जैसवालले नगर संग समन्वय नगरी राहत वितरण गरेको जानकारी आइरहेको जानकारी दिनुभयो । रामग्राम नगरपालिकास्थित वडा नम्बर ५ मा जैसवाल आफै पुगेर बैशाख ५ सामान बितरण गरेको गुप्ताको भनाई थियो ।

त्यस्तै जिल्ला समन्वय समितिका सभापति शिवशंकर रायले जिल्लास्थित कोरोना संक्रमण समन्वय समितिको बैठकमै प्रदेश सांसद बैजनाथ जैसवाल सहितको बैठकले एकद्धार प्रणाली मार्फत राहत बितरण गर्ने निर्णय गरेकोमा उहाँले निर्णय उल्लंघन गर्न नमिल्ने बताउनुभयो । उहाँले सांसद जैसवाललाई यस बिषयमा आफुले सचेत समेत गराएको जानकारी दिनुभयो । उहाँ आफैले राहत बाड्न मिल्दैन – रायले भन्नुभयो – स्वास्थ्य सामाग्री भए जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति मार्फत दिन मिल्छ । खाद्यान्न लगायत समान भए स्थानीय तहमार्फत बुझाउनुपर्छ । बैठकका एक सहभागीका अनुसार जिल्लास्थित कोरोना नियन्त्रण समन्वय समितिकै बैठकमा समेत सांसद जैसवालले बितरण गरेको ३४ लाख रुपैयाको स्वास्थ्य सामाग्रीको आयस्रोत बारे चर्चा चलेको थियो । गाईगुई उहाँले दिएको ३४ लाखको स्वास्थ्य सामाग्री बिषय बारे समितिकै बैठकमा र पछि समेत कुरो उठेको थियो – बैठकका ती सहभागी भने ।

यस बारे जिल्ला प्रशासन कार्यालय ( बर्दघाट सुस्ता पश्चिम ) का प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले स्वास्थ्य सामाग्री बारे सांसद जैसवाललाई सचेत गराइएको जानकारी दिनुभयो । हामीले उहाँलाई यसो नगर्नुस भनेका छौ तपाई माननीय हो भनेका छौ – प्रजिअ दाहालले भन्नुभयो – यसबारे सभामुख ( प्रदेश सभा ) लाई समेत जानकारी गराएका छौ । प्रजिअ दाहालको आफूले सांसद जैसवाललाई ३४ लाखको मात्र किन ? ३४ करोडकै पनि तपाईले बाड्न पाउनुहुन्छ , तपाई आफै गएरै बाड्नुहोला तर एकद्धार गर्नुस भनेर पटक पटक भनेको बताउनुभयो । प्रदेश सांसद जैसवालले आफूले राहत समान नभई स्वास्थ्य सामाग्री दिएको प्रतिक्रिया दिनुभयो । उहाँले पाल्हीनन्दन वडा नम्बर १ मा वडाध्यक्षकै रोहवरमा वडा कार्यालय र २६ जना स्थानीयलाई स्वास्थ्य सामाग्री बाडेपछि एकद्धार बारे आफूले जानकारी पाएकोले पाल्हीनन्दनमा अध्यक्ष दिपक गुप्तासंग सम्पर्क गरेर उपाध्यक्षमार्फत गाउँपालिकालाई उक्त समान दिएको दावी गर्नुभयो । मैले कही कतै आफैले समान बाँडेको छैन समन्वय गरैकै छु – सांसद जैसवालले दावी गर्नुभयो –तर यस्तो कुरा किन आइरहेको छ ?

You might also like