नियोजित रुपमा नगरपालिकालाई बदनाम गरियो – नगर प्रमुख गुप्ता

अब मसिनो स्टिम चामल दिइने

0

नवलपरासी – रामग्राम नगरपालिकाले लकडाउन बाट प्रभावित गरिब तथा विपन्न वर्गका लागि वितरित राहत नगरपालिकाको मुल गेटमा फ्याक्ने कार्यलाई नियोजित प्रचार भएको दावी गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले राहत सामाग्रीमा कुनै कमि कमजोरी देखिए सच्चाउने मौका दिनुपर्नेमा गेटमा ल्याएर खाद्यान्न फ्याँक्ने कार्य नियोजित भएको जिकिर गर्नुभयो । उहाँले नगरपालिकालाई बदनाम गर्ने नियतले कपोकल्पित र भ्रामक प्रचार गरी उक्साहटमा राहत सामाग्री फिर्ता गर्ने र गेटमा छिरोल्ने कार्य भएको बताउनुभयो । चामल गुणस्तरहीन रहेको राहत पाएकाहरुले बताउदै आएका छन् । तर नगरपालिकाले यसअघि वितरित चामल सबैले आएर हेर्न सक्ने र स्वतन्त्र छानविन गर्न सक्ने पनि उल्लेख गर्दै बिज्ञप्ति समेत जारी गरेको हो । पत्रकार सम्मेलनमा चामललाई गन्हाएको कुहिएको भन्नु लान्छना मात्रै भएको दाबी गरिएको थियो ।
यस्तै उप प्रमुख रम्भा कुँवरले जारी गरेको विज्ञप्तिलाई ईगिंत गर्दै केहि व्यक्तिबाट सत्यतथ्य नै नबुझि जनप्रतिनिधि तथा कर्मचारी माथी लगाईएको आरोप निराधार रहेको र सो आरोपको खण्डन गर्दै चैत्र ३० गतेको बैठकबाटै भत्र्सना गरिएको प्रमुख गुप्ताद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै राहतमा गुणस्तरहीन चामल वितरण गरेको भन्दै बिरोध भएपछि रामग्राम नगरपालीकाले अब स्टिम मसिनो चामल वितरण गर्ने भएको छ । नगरले वितरण समन्वय समिति गठन गरि राहत वितरण थाल्ने निर्णय गरेको बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । बैठकको निर्णायानुसार गठित समितिको संयोजकमा वडा नम्बर ७ का अध्यक्ष शिवशंखर प्रसाद हरिजन र सदस्यहरुमा कार्यपालीका सदस्य उमाशंखर हरिजन र ईन्दु वि.क रहेको बताइएको छ । यसअघि १० किलो वितरण गरिएकोमा अब चामल २५ किलो दाल एक किलोग्राम, नुन एक प्याकेट, खाने तेल एक लिटर र हात धुने साबुन दुई वटा र सोयाबिन ५ सय ग्राम वितरण गर्न निर्णय भएको नगरपालिकाले जनाएको छ ।

You might also like