संरक्षणको पर्खाईमा इनारचुली : स्थानीय तह बेखबर जस्तै

ईनारीचुली र गुफाको अनुसन्धान तथा उत्खनन आवश्यक

0

रवि पाण्डेय
नवलपरासी १० माघ- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर–२ विहारीगाँउ नजिकै रहेको सेनकालीन विश्वास गरिएको ईनारचुली बारे सरोकारवाला बेखबरजस्तै छन् । बर्दघाट बजारबाट उत्तर चुरे क्षेत्रको चुचुरोमा रहेको विहारीगाउको नजिकै रहेका ईनारचुलीमा पुराना ईट्टा , घैटोका टुक्रालगायतका सामाग्री छन् । ती सबै पुरातात्विक सामाग्री पाल्पाकालीन सेनबंशसंग जोडिएको स्थानीयको विश्वास रही आएको छ । त्यस्तै ईनारचुलीलाई पुरानापाकाहरुले पुराना राजाहरुको गढीका रुपमा लिने गरेको रिम सुनारीले बताउनुभयो । स्थानीय सरकार भने त्यसबारे बेखबरजस्तै छ । तत्कालिन पाल्पा साम्राज्यको मुकाम तानसेनको लाइफलाइनका साथै त्रिवेणीधाम सम्म आउने बाटोको रुपमा यस चुरेका गोरेटोहरुलाई लिने गरिएको छ । त्रिवेणीधाममा आउने र नुन बोकेर जाने पुराना बाटोहरु चुरेका डाडाँहरु नै रहेको स्थानीय भिमबहादुर रानाले बताउनुभयो । संसारकोटबाट उत्तरतर्फको तिल्केनीगाँउ यसक्षेत्रको पुरानो गाँउ रहेको छ ।
त्यस्तै इनारचुली नजिकै जिर्ण अवस्थाको गुफा पनि छ । गुफामा तीनवटा तलाजस्तै खुटकिलो रहेको थियो । अहिले गुफा स्याहार संम्भारमा कमीका कारण साघुरिदैं गएको सुनारीले बताउनुभयो । गुफा पुरिन थालेको भन्दै स्थानीय चिन्तित भएका छन् । यस अघिका पुस्ताले सो गुफाबाट पहिलो उत्तरतर्फ रहेको विनयीखोला सम्म पुग्ने गरेको स्थानीय बताउछन् । चुरेमा इनार रहेकाले यसलाई स्थानीयले ईनारचुली भन्ने गरेका हुन ।
यसबारे बर्दघाट वडा नम्बर २ का वडा सदस्य प्रेम सौमेले संरक्षणका अभावमा लथालिंग अवस्थामा रहेको जनाकारी दिनुभयो । इनारचुलीका पुराना सामाग्रीहरु लथालिंग छन् । गुफा पुरिदैं गएको छ – सोमैले चिन्ता ब्यक्ता गर्नुभयो । सोमैले संसारकोट र ईनारचुली तथा गुफालाई संगसंगै जोडेर लैजान सके उचित हुने विचार राख्नुभयो । उहाँले उक्त स्थानबारे नगरलाई जानकारी दिएको दावी गर्नुभयो । अव यस बारे बि.स.१९९८ अघिका पाका पुस्ताहरुसंग पनि सोध्छु र अझै धेरै जानकारी दिन्छु – सोमैले भन्नुभयो– नगरमा पनि कुरा गरेको छु ।
यता बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले नगरक्षेत्रका पुरातात्विक बस्तु तथा स्थानको संरक्षण गर्न नगर प्रतिबद्ध रहेको बताउदैं उक्त स्थानबारे भने आफू अनबिज्ञ रहेकोले बुझ्ने क्रममा रहेको जानकारी दिनुभयो । ईनारीचुली र गुफाको अनुसन्धान तथा उत्खनन आवश्यक रहेको स्थानीयवासी बताउछन् । त्यस्तै बर्दघाट नगरपालिकामा ऐतिहासिक बुद्धमंगलताल, संसारकोट, कञ्चनकुटीलगायतका ऐतिहासिक तथा पर्यटकीयस्थल रहेका छन् ।

You might also like