छडके अनुगमनमा १४ कर्मचारी अनुपस्थित भेटिए
नवलपरासी – पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जिल्लाका सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा संघ र प्रदेश सरकार अन्र्तगत रहेका १२ कार्यालयका १४ कर्मचारी अनुपस्थित भेटिएका छन ।
जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृतसहितको टोलीले आईतबार कार्यालय समयमा गरेको थियो । सो अनुगमनको क्रममा संघ अन्र्तगत रहेका ६ र प्रदेश अन्र्तगत रहेका ६ वटा कार्यालयमा गरी विदा स्वीकृत नगराई १४ जना कर्मचारी अनुपस्थित रहेको र सरकारी पोशाक नलगाई आउने १८ जना कर्मचारी पनि कारवाहीको घेरामा परेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले जानकारी दिनुभयो । छडके अनुगमन प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम र सागर केसीको नेतृत्वमा भएको बताइएको छ ।
उनीहरुलाई पहिलो चरणमा प्रारम्भिक सफाईको मौका दिने र चित्तबुझ्दो जवाफ नआएमा निजामति सेवा नियमावली बमोजिम आवश्यक कारवाही अघि बढाईने प्रजिअ मरासिनीले बताउनुभयो । छड्के अनुगमनलाई अव नियमित बनाउने पनि उहाँले बताउनुभयो ।
सवैभन्दा धेरै महेशपुर भन्सार कार्यालयका ८ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको थियो भने तोकिएको पोशाक नलगाउने सवैभन्दा धेरै जिल्ला पृथ्वीचन्द्र अस्प्तालमा १० जना कर्मचारी भेटिएको बताइएको छ ।आइतवार संघ अन्र्तगत महेशपुर भन्सार कार्यालय, जिल्ला हुलाक, भूमिसुधार तथा मालपोत कार्यालय, कारागार, नापी कार्यालय तथा पशु क्वारेन्टाईन कार्यालय महेशपुरको अनुगमन गरिएको जनाइएको छ ।
त्यस्तैे प्रदेश अन्र्तगतका स्वास्थ्य, डिभिजन वन, घरेलु तथा साना उद्योग कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन सम्पर्क कार्यालय, कृषि ज्ञान केन्द्र र पृथ्वीचन्द्र अस्पतालको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।