विप्लव गतिविधिमाथि सुक्ष्म निगरानी – नवलपुर प्रहरी

0

नवलपरासी – सरकारले नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि नवलपुरमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । ८ वटा स्थानीय तह रहेको नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुर जिल्लामा अधिकांश स्थानीय तहका साथै सरकारी कार्यालयहरुमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

नवलपुरमा स्थानीय तहका जनप्रतिनिधिहरुमा चन्दा र राजिनामा जस्ता खबरहरुले चर्चा पाइरहेको बेला ती स्थानीय तहहरुमा समेत सुरक्षा व्यवस्था मजबुत पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक एवम् सुचना अधिकारी अर्जुन रानाभाटले सोमबार विहान कार्यालयमा गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिनुभयो । उहाँले भन्नुभयो – निगरानी बढाएका छौं । हाइ एलर्टमा राखिएको छ । कुनै गतिविधि भएको जानकारी छैन । तथापि हामीले पहाडी क्षेत्रका प्रहरीहरुलाई पनि पहाडी क्षेत्रमा रहेका सरकारी कार्यालयहरुमा गस्ती बढाउन निर्देशन दिएका छौैं । उहाँले सादा पोशाकमा पनि प्रहरी ठाउँठाउँमा परिचालन गरिएको र विप्लव समूहका गतिविधिलाई मसिनो ढंगले निगरानी राखिएको बताउनुभयो । भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले विप्लव समूहको नाममा चन्दा तथा जनप्रतिनिधिको राजिनामा माग गरेको बारे त्यस्तो सूचना आफूलाई नभएको दावी गर्नुभयो । उहाँले विप्लव समूहको गतिविधिलाई सुक्ष्म रुपले अनुगमन गरिएको र कही कतै बलजफ्ती चन्दा माग्ने, धम्काउने गरेको पाइए तुरन्त कारवाही गरिने बताउनुभयो । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै ग्रामिण क्षेत्रमा रहेका सरकारी कर्मचारी तथा जनप्रतिनिधिहरुमा त्रास भने बढेको बताइएको छ ।

You might also like