सीके राउतसँग सरकारले गरेको सम्झौताले विखण्डनकारी शक्तिलाई मान्यता -पौडेल

0

परासी – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीके राउतसँग सरकारले गरेको सम्झौताले विखण्डनकारी शक्तिलाई मान्यता दिएका कारण जनकपुरमा स्वतन्त्र मधेसको नारा लागेको बताउनुभएको छ । सोमबार कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ पश्चिम नवलपरासीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले जनकपुरमा सीके राउतको उपस्थितिमा स्वतन्त्र मधेसको नारा लागेको विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ,‘सीके राउतसँग सरकारले गरेको सम्झौताको भाषाबारेमा सरकार बोल्दैन । जनकपुर पुगेर सीके राउत स्वतन्त्र मधेसको नारा लगाउँछन। अनि आम नागरिकले त्यो सम्झौताले स्वतन्त्र मधेसको नारा लगाउन छुट दिएको भनेर नबुझे के बुझ्ने?’
वरिष्ठ नेता पौडेलले केपी ओलीले पटक पटक राष्ट्रवाद शब्दको दुरूपयोग गरेको समेत आरोप लगाउनुभयो । उहाँले थप्नुभयो ,‘केपी ओलीले आफू जतिको राष्ट्रवादी कोही नभएको ढोङ पिटेका थिए। आज उनका गतिविधिले के देखाइरहेको छ। अब मुलुकलाई कथित राष्ट्रवादी नारा लगाउने मान्छे होइन देशभक्त मान्छे चाहिएको छ।’
कम्युनिष्ट सरकारका कारण एक वर्षको समय बेकाममा वितेको पौडेलको तर्क थियो । विगतमा भन्दा ओली नेतृत्वको दुई तिहाईको सरकारका पालामा भ्रष्टचार बढेको बताउँदै उहाँले भन्नुभयो ,‘पहिले पहिले यति लाखको भ्रष्टचार भयो भन्ने सुनिन्थ्यो। तर, अहिले अर्बको भ्रष्टचारको कुरा आउँछन । कम्युनिष्टहरूको बहुमत भएको लेखा समितिले वाइडबडीमा भ्रष्टचार भएको तथ्य सार्वजानिक गरेको छ। चिनीकाण्ड, सुनकाण्ड अहिले पञ्चायतकालमा जस्तै काण्डै काण्डको देश भएको छ।’

कम्युनिष्टहरू राम्रा नारा दिएर जनतालाई ठगेर लोकतन्त्रको र्भयाङ चढेर अधिनायकवाद र साम्यवादको मन्दिरमा पुग्ने योजनामा रहेको पौडेलको भनाइ थियो। उहाँले लोकतन्त्रको र्भयाङ चढेर अधिनायवाद र साम्यवादको मन्दिरमा पुग्ने योजना अन्तर्गत भ्रष्टाचारमार्फत आर्जेको पैसाको खोलो बगाएर सत्ता कब्जा गर्ने योजनामा रहेको आरोप लगाउनुभयो ।

You might also like