शितलनगरमा रहेको यशोधरा पार्कमा प्रतिमा राखिने

0

देवदह ः रुपन्देहीको देवदह नगरपालिका–७, शितलनगरमा रहेको यशोधरा पार्कमा मायादेवी, प्रजापति गौतमी, यशोधरा, भिक्षुणी प्रजापतिको प्रतिमा राखिने भएको छ । अन्र्तराष्ट्रिय भिक्षुणी संघद्धारा प्रदान गरिने ४ वटा प्रतिमा यशोधरा पार्कमा राखिने भएको हो । प्रतिमा स्थापनाको लागि भएको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा उक्त निर्णय भएको हो । सो अवसरमा बोल्दै अन्र्तराष्ट्रिय भिक्षुणी संघका डा। अनोजा गुरुमाले बोल्दै देवदह भगावान गौतम बुद्धको मावली र यशोधराको जन्म स्थल रहेकोले यशोधरा पार्कमा प्रतिमा राख्न आफुहरुले सहयोग गरेको बताउनु भयो । उहाले मायादेवी, प्रजापति गौतमी, यशोधरा, भिक्षुणी प्रजापतिको प्रतिमा स्थापनाले देवदहको पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिनु भयो । यशोधरा पार्कमा राखिने प्रतिमा संरक्षण र सम्वद्र्धनमा स्थानीवासी जागरुक भएर लाग्नु पर्नेमा जोड दिनु भयो । त्यसैगरी अन्र्तराष्ट्रिय भिक्षुणी संघका न्यानोवती गुरुमाले देवदह पर्यटकीय हिसावले महत्वपूर्ण स्थल रहेकोले आफुहरुले प्रतिमा स्थापनाको लागि सहयोग गरेको बताउनु भयो । उहाले देवदह नगरपालिकाले स्थानीय पाठयक्रम अन्र्तगत बौद्ध शिक्षा लागु गरेको प्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । सोही अवसरमा बोल्दै प्रदेश ५, का सांसद डा. कृष्णप्रसाद न्यौपानेले पर्यटकीय आकर्षणको रुपमा देवदहलाई विकास गर्न लागिरहेको बताउनु भयो । उहाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न देवदहमा बौद्ध विहारको आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले कोलिय गणराज्यको राजधानी देवदह नै रहेको पुष्टि भईसकेको बताउदै देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको उत्खनन गर्न आवश्यक रहेको बताउनु भयो । यशोधरा पार्क व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री, देवदह–७, का वडाअध्यक्ष पदम थापा, बोधी टेलिभिजनका अध्यक्ष संजीव तुलाधर, सामाजिक व्यक्तित्व प्रकाश अर्याल, धर्मोदय सभाका सिपि खनाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । यम रानाको संचालनमा भएको कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

You might also like