क्रान्तिकारी पत्रकार महासंघले फागुन २९ र ३० गते बुटवलमा राष्ट्रिय सम्मेलन गर्ने

0

काठमाडौं -क्रान्तिकारी पत्रकार महासंघले फागुन २९ र ३० गते बुटवलमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । महासंघको माघ ४ र ५ मा काठमाडौंको बुद्धनगरमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सम्मेलन ५ नं. प्रदेशको बुटवलमा गर्ने निर्णय गरेको हो । महासंघको बैठकले सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नका विधान तथा प्रतिवेदन लेखन उपसमिति, आर्थिक तथा व्यवस्थापन उपसमिति, प्रचार तथा प्रकाशन उपसमिति निर्माण समेत गरेको छ । सम्मेलनलाई लक्षित गर्दै पछिल्लो चरणमा क्रान्तिकारी पत्रकार महासंघले प्रदेश तथा जिल्लाहरुमा संगठन निर्माणलाई तीव्रता दिएको छ । यसै क्रममा महासंघले प्रदेश नम्बर चार, सात र तीनको भेला सम्पन्न गरिसकेको छ भने प्रदेश नम्बर तीनले आइतबार मुख्यमन्त्रीलाई मकवानपुरको हेटौडामा ज्ञापन पत्र बुझाएको थियो । बैठकले प्रदेश तथा केन्द्रीय स्तरमा पत्रकारको हक, हित र अधिकार र पत्रकारिताको विषयमा अन्तरक्रिया गर्ने, सरोकारवालाको बीचमा बहस, छलफल चलाउने, प्रेस काउन्सिल, सूचना विभाग र अन्य सम्बद्ध निकायहरुले लिएका नीति, प्रकृयाबारे संगठनको धारणा पेश गर्ने तथा श्रमजीवी पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षालगायतका विषयमा आवश्यक अन्य संघर्षका कार्यक्रमहरु निरन्तर सञ्चालन गर्ने निर्णयहरु गरको छ । संगठनका अध्यक्ष इन्द्र राउतको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी प्रकाशन विभाग इन्चार्ज रामसिंह श्रीस, संगठनका सल्लाहकार तथा पार्टीका केन्द्रीय सदस्य कुमार शाहको विशेष उपस्थिति रहेको थियो ।

You might also like