नेपाली ‘ताजमहल’मा बढ्यो चहलपहल
पर्यटकको गुनासो : सडक स्तरोन्नति हुनुपर्छ
रानीमहल पाल्पा सदरमुकाम तानसेनबाट १३ किलोमिटरको दुरीमा कालीगण्डकी नदी किनारमा अवस्थित छ ।केही वर्षयता सडक पुगेपनि यहाँ पुग्न त्यति सहज भने छैन । चितवनको अर्विट आवासीय माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा आएको टोली तानसेनबाट दुईवटा जीप रिजर्भ गरेर रानीमहल पुग्यो । विद्यालयकी शिक्षिका अम्बिका बानियाँले तानसेनसम्म बसमा आएपनि सडकका कारण जीप रिजर्भ गर्नुपरेको बताइन् ।उनले भनिन् ‘यति महत्त्वको स्थानमा सडक स्तरीय नहुनु अत्यन्तै बिडम्वना हो । महल त राम्रो लाग्यो तर सडकको अवस्था देखेर भने दु:खी भयौं ।’ सडकको स्तरोन्नतिमा राज्यले चाँडै ध्यान दिनुपर्ने उनले बताइन् ।पोखराका लोकेन्द्रलाई पनि सडकको अवस्थाले रानीमहल पुग्न केही असहज भयो । २०/२१ वर्षअघि सदरमुकाम तानसेनबाट ३/४ घण्टाको पैदल हिँडेर रानीमहल पुगेको सम्झना उनमा ताजै रहेछ । ‘त्यो बेला तानसेनबाट हिँडेरै आएको थिएँ, अहिले सडकले सहज भएको रहेछ । तर सडकको अवस्था अझ सुधार हुनुपर्ने देखें ।’आधा सडक कालोपत्रे भएपनि बाँकी कच्ची छ । कालोपत्रे सडकमा विशेष गरी सडकमा छरिएका गिट्टीका कारण साना सवारी सचेत हुनुपर्छ । केही स्थानमा खाल्डाखुल्डी र हिलोले सास्ती दिन्छ ।अर्घाखाँचीको पाणिनी गाउँपालिका ७ अडगुरीका हरिशरण पन्थी पनि रानीमहलसम्म पुग्ने सडकको स्तरोन्नति हुनुपर्ने बताउँछन् । ‘सडक केही जोखिम भएपनि यहाँ आएपछि भने रमाइलो लाग्यो,’ उनले लोकान्तरसँग भने ।रानीमहल पुग्ने अधिकांश पर्यटकको मुख्य गुनासो हुन्छ, सडक ।देश विदेशमा प्रख्यात् रानीमहल पुग्ने सडकको स्तरोन्नति गर्नसके त्यहाँ पुग्ने पर्यटकलाई सहज हुने र त्यसले पाल्पाको पर्यटकीय विकास सम्भव हुने पर्यटकहरू बताउँछन् । रानीमहलमा पर्यटकका लागि खाना, खाजा तथा बास बस्न स्तरीय होटलहरू पनि खुल्नु जरुरी छ ।सरकारले ऐतिहासिक, पूरातात्विक तथा धार्मिक महत्त्वको रानीमहल स्थानीय सरकार तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ । अब रानीमहलको संरक्षण र सडक स्तरोन्नतिमा नगरपालिकको ध्यान जानु जरुरी छ ।
रानीको सम्झनामा बनाएको महल
पाल्पागौंडामा तैनाथ तत्कालीन सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए ।वि.सं १९४९ मा शुरू गरी पाँच वर्षमा रानीमहल निर्माण कार्य पूरा भएको थियो । दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई ‘प्रेमको प्रतिक’का रूपमा लिइने गरिन्छ ।मृत्युको अन्तिम क्षणमा खड्ग शमशेरले रानीलाई उनको सम्झनामा भारतको आग्राजस्तै ताजमहल निर्माण गरी स्मृतिलाई ताजै राख्ने वचन दिएका रहेछन् ।वचनअनुसार उनले रानीमहल निर्माण गराएको इतिहास छ ।नेपालको ताजमहलका रूपमा परिचित रानीमहल प्रेमजोडीको प्रमुख गन्तव्य मानिन्छ ।मानव बस्तीभन्दा केही टाढा, चारैतिरबाट पहाडले घेरेको, खुला बगरमा कालीगण्डकीको तिरमा अवस्थित रानीमहलले साँच्चिकै पर्यटकलाई लोभ्याउँछ । lokantar.com