यसपटकको दशै – रोजाईमा स्वदेशकै खसीबोका

0

नवलपरासी – दशैंलाई लक्षित गरी भारतबाट नेपालमा सस्तो खसीबोका नेपाल भित्रिए पनि अधिकाँशको रोजाई नेपाली खसी बोकामै देखिएको छ । यसको ज्वलन्त उदाहरण बनेको छ पश्चिम नवलपरासीको रुपौलियामा लागेको खसीबजार र पुर्व नवलपरासीको हुप्सेकोट गाउंपालिका ४ झ्यालबास बेलुवामा स्थानीय महिलाहरुको सहकारीले सञ्चालन गरेको खसीबोका संकलन तथा विक्री केन्द्र । नेपालीहरुको ठूलो चाड दशैं आँगनमै आइपुगेको छ । बजारमा किनमेलको चहलपहल बढेको छ। यस्तै किनमेलको चहल पहल झ्यालबासमा लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले चलाएको खसीबोका संकलन तथा विक्री केन्द्रमा पनि देखिएको छ । उता रुपौलियामा लागेको हाटमा पनि यस्तै छ । त्यति मात्र नभएर निजी बाख्रा पालन फर्ममा समेत नेपालकै उत्पादन दशैमा प्रयोग गर्ने भन्दै खसीबोका किन्न आउनेहरु प्रसस्त भेटिन थालेका छन् । नवलपरासीको बर्दघाट ४ दिब्यनगरमा रहेको बर्दघाट ब्यवसायिक बाख्रापालन फर्मकी संचालक पार्वती पाण्डेको अनुभव पनि यस्तै छ ।

पहिले सस्तोमा भारतीय बजारका खसी बोका किन्नेहरु पनि अहिले त्यसमा गुणस्तर नभएकोले आफ्नो फर्ममा किन्न आउने गरेको उहाँको भनाई थियो । नवलपुरको साविक देउराली गाविसका साथै हालको हुप्सेकोट गाउंपालिका भित्रका किसानहरुले उत्पादन गरेको खसीबोका संकलन गरी विक्रीका लागि राखिने गरिन्छ । दशैंलाई लक्षित गरी अघिल्लो बर्ष ३ सय १० वटा खसी बोका विक्री गरेको यस सहकारीले अहिले दशैं शुरु नहुँदै ६ सय भन्दा बढी विक्री गरिसकेको सहकारीका व्यवस्थापक सुशिला परियारले बताउनुभयो । यो बर्षको दशैंमा ९ सय खसीबोका विक्री गर्ने लक्ष्य राखेकोमा त्यो भन्दा बढी विक्री हुने देखिएको उहाँको भनाई थियो । गिरुवारीकी महिला किसान सर्मिला विश्वकर्माले सहकारीले नै खसीबोका खरिद गरिदिएकोमा खुसी समेत ब्यक्त गर्नुभएको थियो । देउराली गाविसका दुई हजार ४१ जना महिलाहरु आवद्ध भएर शुरु गरेको यस सहकारीले अहिले साविक देउराली गाविसको मात्र नभएर हुप्सेकोट र धौवादी गाविस सहित मिलेर बनेको हुप्सेकोट गाउंपालिका भरिका किसानहरुले उत्पादन गरेको खसीबोका संकलन र विक्री गर्ने गरेका छन । यहां १२ महिना खसीबोका संकलन र विक्री गरिने भएपनि चाडपर्वलाई लक्षित गरी किसानहरुले बढी खसी बोका ल्याउने र चाडपर्वमै बढी विक्री हुने गरेको व्यवस्थापक परियारले सुनाउनुभयो । उनीहरुले खसीबोका संकलन र विक्री केन्द्र खोलेको ४ बर्ष भएको छ । व्यवस्थापक परियारका अनुसार पहिलो बर्ष ३ सय ७८ वटा खसी बोका विक्री गरिएकोमा पछिल्लो तीन बर्ष त्यो बढ्ने क्रममा रहेको छ । गत आर्थिक बर्षमा मात्रै यहांबाट एक हजार ७ सय ५५ वटा खसीबोका विक्री गरेको उहाँले बताउनुभयो । त्यस्तै भारतबाट क्वारेन्टाइन चेक नगराई खसी बोका ल्याइने भएकोले स्वदेशकै उत्पादन प्रयोग गर्नुपर्ने र स्वास्थ्यका हिसाबले पनि उपर्युक्त हुने पशुसेवाकर्मी रामहरि शर्माले बताउनुभयो । अचेल अलि बढिले नेपालकै खसी बोका प्रयोग गर्न थालेका छन् –उहाँले भन्नुभयो ।

 

त्यस्तै स्वदेशी खसीबोका संगै खेतवारीलाई उर्वर बनाउन बाख्राको मल (जुुतो) पनि निकै बिक्री हुने गरेको कृषकहरुले बताएका छन् । प्रतिबोरा १ सय ५० देखि २ सय सम्म मल बिक्री हुने गरेको छ । गोबर जस्तै बाख्राको मल प्रांगरिक रुपमा प्रयोग गर्नाले उत्पादन बृद्धि हुने कृषकहरु बताउछन् ।

 

You might also like