नेपालविरुद्ध भारतीय ‘प्रोपोगान्डा’

0

गोपाल खनाल

भारतीय टीभी जी न्युजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत हउ यान्छीलाई जोडेर १६ मिनेटको काल्पनिक र अपमानजनक रिपोर्ट बजायो । ‘ओलीकी इस्किया’ शीर्षकको आपत्तिजनक कथामा प्रधानमन्त्री ओली र राजदूत यान्छीको तस्बिरको गलत प्रयोग ग¥यो, त्यसमा कपोकल्पित कथा, पटकथा र संवाद हाल्यो ।
अत्यन्तै आपत्तिजनक र अश्लील उक्त रिपोर्टको उद्देश्य नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र नभएको र चीनद्वारा सञ्चालित भएको प्रमाणित गर्ने देखिन्छ । राजदूतले नेपाल–भारत सम्बन्ध बिगार्न षड्यन्त्र गरेको र प्रधानमन्त्री ओलीलाई चीनले प्रायोजन गरेकोजस्ता कथानक त्यहाँ बुनिएका छन् । जी झारखण्डले असार २६ मा ‘नेपाली जनताको भावनामा चोट पुगेकाले’ दुःख व्यक्त गरेको सूचना जारी ग¥यो । युट्युबबाट उक्त गलत सामग्री भने अझै हटाएको छैन । जीलगायत यस्ता ‘फेक’ समाचार प्रसारण गर्ने च्यानलको प्रसारणमा नेपालले रोक लगाएको भोलिपल्ट क्षमायाचना आयो ।
तर, अब जी न्युज नेपालको कालो सूचीमा प¥यो, नेपाली मनले यसलाई कहिल्यै पनि स्वीकार्दैन । जीका प्रधानसम्पादक सुधीर चौधरीले ‘भारतीय समाचार एङ्करसँग लड्न नसक्ने नेपाल सरकारले भारतीय सेनासँग कसरी लड्न सक्छ’ भन्ने ट्वीट गरेको एकिछनमै हटाउनुप¥यो । असत्य एकैछिन पनि टिक्दैन र जी र त्यसमा सम्पादक टिक्न सक्ने अवस्थै थिएन । त्यसअघि भारतीय दैनिक द टाइम्फ अफ इन्डियाले ६ जुलाईको सम्पादकीयमा नै प्रधानमन्त्री ओलीको अपमानजनक कार्टुन प्रकाशित ग¥यो । जसमा ओलीलाई चीनले प्रायोजन गरेको देखाउन चौँरीको शरीरमा ओलीको टाउको राखिएको छ । यो अखबारले भारतीय विदेश मन्त्रालयका प्रायोजित समाचार छाप्छ । त्यतिमात्र होइन, ‘नेपालका प्रधानमन्त्रीले अब महसुस गर्नुपर्छ उनी समस्या हुन्, भारत होइन’ भन्ने भाषासहितको चेतावनी र धम्की पनि दियो । प्रधानमन्त्री ओलीलाई भारतका कारण असफल भएको भन्ने अवसर दिनुहँुदैन भन्दै तर भित्रभित्रै द्विपक्षीय सम्बन्ध अघि बढाउन चाहने नेपालका अन्य शक्तिसँग नयाँदिल्लीले शान्तपूर्वक सहकार्य गर्नुपर्ने बतायो । यसको सोझो अर्थ हुन्छ– ओलीलाई ढाल्न नेपालका अर्का थरीसँग गोप्य गठबन्धन गर्ने ।’ भारतीय संस्थापनको बुझाइ यो पत्रिकामार्फत आयो ।
फेरि उनै पत्रकार अर्नव गोश्वामीले भारतीय समाचार च्यानलको प्रसारण रोकेपछि अर्को १५ मिनको टक शो चलाए, जसमा चिनियाँ राजदूतको निर्देशनमा भारतीय च्यानल प्रसारणमा रोक लगाइको दाबी छ । उनले नेपालीलाई उपदेशका रूपमा विकल्प दिँदै भने– भारतसँग मित्रवत् सम्बन्ध चाहने कि चीनको गोटी बन्ने ?’ आफूलाई वरिष्ठ ठान्ने यी पत्रकारको नेपाल बुझाइ यस्तो गलत भएपछि सत्य कसरी प्रसारित होस् । भारतका हिन्दी र अङ्ग्रेजी दुवै भाषाका समाचारपत्र र टेलिभिजन माध्यमका भाषा फरक छन् तर तिनीहरूले प्रधानमन्त्री ओली र नेपाली जनतामाथि नियोजित आक्रमण गरिरहेका छन् । नेपाली जनमतका नेता र स्वतन्त्र राष्ट्रका कार्यकारी प्रमुख ओलीको चरित्रमाथि हिलो छ्याप्ने दुस्साहस गरेका छन् । यो ओलीका विरुद्ध नभएर नेपाल र नेपालीविरुद्धको आक्रमण हो ।
यी सबै रिपोर्टमा चीनलाई तानिएको छ । काठमाडौँस्थित चिनियाँ राजदूतले नेपाललाई भारतविरोधी बनाउने मिसनको नेतृत्व लिएको निष्कर्ष निकालिएको छ । महिला राजदूतमाथि ‘विषकन्या’, ‘भाइसराय’, ‘महारानी’ र ‘हनिट्रयाप’ जस्ता शब्द प्रयोग गर्दै आक्रमण भएको छ ।
भारतीय सञ्चारमाध्यममा आएका यी समाचार नै होइनन्, सत्यसँग यिनको कुनै सम्बन्ध छैन तर भारतीय सरकारद्वारा प्रायोजित भने हुन् । उनीहरूले पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवलाई समेत आफ्नो भाष्यको अङ्ग बनाउने प्रयास गरे । यादवले चिनियाँ राजदूतको भूमिकामाथि छानबिन हुनुपर्ने बताएकाले ‘होनी ट्रयाप’ कथा यथार्थ रहेको एकोहोरो प्रचार गरे । यादवले आफ्नो भनाइ तोडमोड गरेको बताएकाले यसलाई त्यसरी नै बुझौँ । यी मिडियाका योजनाबद्ध नक्कली रिपोर्टको निष्कर्ष हो– भारतले ओलीविरुद्ध युद्ध छेड्यो ।

भेटवार्ता कि हस्तक्षेप ?
सत्तारूढ पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला चिनियाँ राजदूतले प्रधानमन्त्रीको राजीनामा माग्ने नेता माधव नेपाल, झलनाथ खनाल र प्रचण्डसँग निजीनिवासमै बेग्लाबेग्लै वार्ता गर्नुभयो । वार्तामा के छलफल भयो सार्वजनिक भएको छैन । चिनियाँ दूतावासले पनि सारवस्तुबारे बताएको छैन । त्यसैले नेकपाभित्रको सत्तासङ्कट जोगाउनै उहाँ सक्रिय हुनुभएको निष्कर्ष निकाल्न मिल्दैन, शङ्का गर्न सकिन्छ । एउटा तर्क सही हो– कूटनीतिक भेटवार्ताका लागि समय उपयुक्त थिएन ।
नेकपाभित्रको विवाद सत्ताको हो, सिद्धान्त र विचारको होइन । प्रधानमन्त्री ओलीविरुद्ध हठात् अघि बढाइएको पूर्वप्रमहरूको गठबन्धन सत्ताकै लागि हो भन्ने प्रमाणित छ । लिम्पियाधुरासम्मको नक्सा, नागरिकतामा विदेशी बुहारीलाई सातवर्षे प्रावधानजस्ता कदमका कारण ओलीलाई हटाउने भारतीय सूची लम्बिएको थियो । नाकाबन्दीबिरुद्ध लडेर ओलीले पहिला नै चुनौती दिनुभएको थियो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेको लिपुलेक सडकको नेपालबाट भएको विरोधलाई ‘चीनबाट उक्साइएको’ भन्ने भारतीय संस्थापनको व्याख्या गलत थियो । त्यही गलत बुझाइलाई प्रमाणित गर्न खोज्दा भारतलाई ‘बुमे¥याङ’ हुँदै छ ।
यही प्रसङ्गमा चिनियाँ राजदूतलाई विवादमा तानिएको छ । र, प्रधानमन्त्री ओली र यान्छीलाई पात्र बनाएर नेपाली सार्वभौमिकता र पहिचानमाथि नियोजित आक्रमण गरिएको छ । त्यसैगरी,
नेपाल–चीन सम्बन्धमाथि कूटनीतिक मर्यादा र सीमा नाघेर धावा बोलिएको छ । भारतले स्मरण गर्नुपर्छ, लैनचौरस्थित केही राजदूतले नेपालमा महŒवपूर्ण घरेलु निर्णयमा दखल दिन तत्कालीन समयमा शङ्कास्पद भेटवार्ता गरेकै हुन् । सबै भेटवार्तालाई हस्तक्षेप ठानिएको थियो ? यस्ता भेटवार्तामा भारतभन्दा चीन धेरै पछि हो ।

सार्वभौमिकतामा धावा
प्रधानमन्त्री ओलीले भारतीय हेपाहा प्रवृत्तिविरुद्ध लडेपछि भारतीय संस्थापनदेखि मिडियासम्म ओलीको विरोधमा खुला रूपमै उत्रेको लुकेको छैन । त्यसैको एक अङ्गका रूपमा यो तहको घृणित काम भारतीय च्यानलबाट भयो । नेपालका प्रधानमन्त्रीको चरित्रमाथिको आक्रमण र आक्षेप नेपालीलाई सह्य छैन । नेपालका नागरिकको जवाफी प्रतिक्रिया बिहीबार नै आयो । नेपालका अन्तर्राष्ट्रिय च्यानल वितरकले ती भद्दा टीभीहरूको प्रसारण बन्द गरे । सबैखालका भारतीय प्रसारण बन्द गर्ने दबाब सरकारमाथि नागरिकबाटै आएको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार र सञ्चार मन्त्रालयले शुक्रबार आधिकारिक धारणा सार्वजनिक गरी धन्यवाद दिनुको अर्थ सरकारको भारतीय प्रवृत्तिविरुद्धको नझुक्ने जवाफ हो ।
नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र हो भन्ने बुझ्न भारतले ढिला गर्नुहुँदैन । नेपालले राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर भारतलगायतका छिमेकी र मित्रराष्ट्रसँग पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध अघि बढाउँछ भन्ने नबुझ्दा घाटा नयाँदिल्लीलाई हुन्छ, काठमाडौँलाई होइन । ओलीले स्थापित गरेको परराष्ट्र सम्बन्धको मानक यही हो । आफ्नो जमिन फिर्ता ल्याउन, नागरिकतामा आफूअनुकूलको प्रावधान राख्न नेपाललाई भारत वा चीनले निर्देशित गर्नुपर्दैन । यस्ता कपोकल्पित, अश्लील प्रसारणबाट नेपालमा भारतविरोधी स्थायी भावनाको निर्माण हुन्छ भन्ने त्यहाँको मिडिया र सरकारले बुझ्दा राम्रो हुन्छ । नेपालको छवि र प्रतिष्ठा धुमिल पार्ने यो प्रयास सफल हुने छैन ।
नेपाल, भारत र चीनबीचको स्वतन्त्र छिमेकी राष्ट्र हो, कसैको दास, उपनिवेश होइन । अझ भारत र चीनलाई त विदेशीले गुलाम बनाएका हुन्, नेपाललाई कसैले सकेनन् । त्यसैले नेपालीको अन्तर्राष्ट्रिय पहिचान स्वभिमानी नेपालीको पहिचान हो । पराई शासकको अधिनस्थ नहुँदा राष्ट्रियता र स्वतन्त्रताको वास्तविक मूल्य सायद नबुझेको हुन सक्छ । तर, कसैका एजेन्डा नेपाल र नेपालीले बोक्दैनन् । नेपालको भारत र चीनसँग आफ्नैखालको सम्बन्ध छ । द्विपक्षीय सम्बन्धमा तेस्रो पक्षलाई नेपाल आमन्त्रण गर्दैन । त्यसैले नेपाल–चीन सम्बन्धमा भारतले कुनै खलनायकीको भूमिका नखेल्दा उचित हुन्छ । चीनसँग पनि बलियो र भारतसँग त्यहीस्तरको सम्बन्ध कायम गर्न नेपाल सक्षम छ । कुनै एकको मूल्यमा अर्कोसँग सम्वन्ध राख्दैन । एकजना महिला कूटनीतिज्ञ र उहाँको चरित्रमाथि सम्बन्ध नै नरहेको देश र त्यसका मिडियाले आक्रमण गर्नुलाई कुनै अर्थमा पनि स्वीकार्न सकिँदैन । नयाँदिल्ली र बेइजिङबीच शत्रुता हुन सक्छ वा सहकार्य हुन सक्छ, त्यो द्विपक्षीय विषय हो । त्यसमा नेपालको सरोकार छैन । नेपाल कसैको शत्रुता प्रदर्शन गर्ने माध्यम बन्दैन । हउ यान्छी भारतका लागि चिनियाँ राजदूत होइन, नेपालका लागि चिनियाँ राजदूत हो ।
भारतीय मिडियाले बुझ्नुपर्छ यान्छी एक महिलामात्र होइन, विश्वको दोस्रो शक्ति राष्ट्रका प्रतिनिधि हुनुहुन्छ । उहाँमाथि आक्रमण व्यक्तिमाथिको आक्रमण होइन, चीनविरुद्धको आक्रमण ठहरिन्छ । यसमा बेइजिङले प्रत्याक्रमण प्रारम्भ ग¥यो भने भारतले कसरी थेग्ला ? गल्वान उपत्यकामा आफ्नो पक्षमा भएको मानव क्षति भारतले बुझोस् ।

‘पपेट’को खोजी
दुःखलाग्दो के छ भने नेकपाको सत्ता ढाल्न नेकपा नै उद्यत छ । भारतीय संस्थापन र मिडिया ओलीविरुद्धको यो जेहादलाई सफल पार्न घरेलु ‘पपेट’को खोजी गरिरहेका छन्, जसप्रति नेकपा पङ्ति सचेत हुनुपर्छ । यस्तो बेला ओलीलाई प्रधानमन्त्रीबाट कदाचित हटाइनुको सन्देश के जान्छ ? नयाँदिल्लीमा विजय जुलुस निस्कन्छ । नेपालको बाँकी जीवन भारतीय नियन्त्रणमा कैद हुनेछ । यसपछिका हरेक प्रधानमन्त्री भारतले बनाउनेछ र हरेक प्रधानमन्त्री भारतले नै ढाल्नेछ । उही ‘नियन्त्रित’ अस्थिरताका पुरातन दुश्चक्रमा नेपाल फस्नेछ । भारतीय मिडियाको नेपाल चित्रबारे भारतीय सरकार बेखबर छ भन्ने नेपाल ठान्दैन । तर, त्यसैका आधारमा प्रतिशोधको कूटनीति र राजनीति गर्दैन । कूटनीतिक रूपमा समस्या समाधान गर्न भारत चाहन्छ भने तत्काल यस्ता प्रायोजित सामग्री बन्द हुनुपर्छ किनकि नेपालले सीमालगायतका सबै समस्या वार्ताबाट गरौँ भनेर औपचारिक प्रस्ताव पठाएको छ ।
नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई चुनौती नभएर अवसर ठानेको हो । त्यसको अर्थ दुवै देशसँग सन्तुलित र समान सम्बन्ध कायम राख्दै विकासमा साझेदारिताको नीति लिएको हो । ओली सरकारले त्यही गरिरहेको छ । दुवै छिमेकीप्रति सरकारले लिएको पारस्परिक सहयोग र लाभको व्यावहारिक सम्बन्धलाई आफूविरुद्ध ठान्ने र त्यसमा प्रतिशोध साँध्ने काम छिमेकीबाट बन्द होस् ।

(लेखक गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार हुनुहुन्छ ।)  

Gorkha patra

You might also like