पार्टी एकतामा ढिलाइ हुँदा तल्लो तहसम्मकै पार्टी सदस्य उकुसमुकुसमा– नेता भुसाल

0

बर्दघाट – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी एकतामा ढिलाइ हुँदा तल्लो तहसम्मकै पार्टी सदस्य उकुसमुकुसमा रहेको भन्दै पार्टीको एकता प्रक्रिया अब नलम्बिने बताउनुभएको छ ।

कम्युनिस्ट आन्दोलनका योद्धा तथा जनगायक प्रचण्डबहादुर बुढाथोकीको छैठौं दिनको पुण्यतिथिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)पश्चिम नवलपरासीले बर्दघाट–२ चिसापानीमा शुक्रबार आयोजना गरेको श्रद्धाञ्जलि सभामा उहाँले एकतालाई छिटो टुङ्ग्याउनुपर्ने दबाब सिर्जना भएको उल्लेख समेत गर्नुभयो ।

उहाँले अब एकता प्रक्रिया लम्बाउनु हुँदैन, हाम्रो पार्टी यति बलियो र सुसंस्कृत रहेछ, करीब एक वर्षसम्म पार्टीका सबै कमिटी लथालिङ्ग र जिम्मेवारी विहीन हुँदा पनि दायाँबायाँ भएका छैनन्, यो हाम्रो ठूलो उपलब्धि हो । तर अब यो अवस्था लामो समय रहन दिनुहुन्न भन्नुभयो ।

सांसदसमेत रहेका नेता भुसालले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहप्रति पार्टीको आधिकारिक धारण तय भइनसकेको भन्दै उहाँले विप्लवको नीति अनुसारको व्यवहार भने नरहेको बताउनुभयो।

प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रचण्डबहादुर बुढाथोकी जस्तै योद्धाको योगदानलाई स्मरण गरेर सरकार सञ्चालकले काम गर्ने हो भने मुलुकले सही दिशा लिने भन्दै आफूले पनि सोही अनुसार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री शान्ता मानवीले स्व सर्जक बुढाथोकीसँग आफू सानै उमेरदेखि सामिप्यमा रहेर काम गरेको स्मरण गर्दै उहाँले देखाएका सकरात्मक सन्देशको अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद तिलक महत, केन्द्रीय सदस्य डा विजय पौडेल, जनसांस्कृतिक महासङ्घका संस्थापक केन्द्रीय सदस्य देवेन्द्र घिमिरे, बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल लगायतले स्वर्गीय बुढाथोकीको निधनले सिङ्गो पार्टीमात्र नभई नेपाली गीतसङ्गीत र साहित्य क्षेत्रमासमेत अपूरणीय क्षति पुगेको बताउनुभएको थियो ।

You might also like