सुस्तावासीको दुखेसो ‘ब्यवस्था फेरियो अवस्था फेरिएन’

0

रवि पाण्डेय सुस्ता – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को ‘भारतीय पक्षबाट अतिक्रमण’मा पर्दै आएको सुस्ता गाउँपालिका–५ स्थानीय बासिन्दाले जुन सुकै ब्यवस्था परिर्वतन भएपनि राज्य पक्षबाट आफुहरु प्रति वेवास्ता गरिएको गुनासो गरेका छन् । नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्र आएपनि ‘देशको सिमानाका रक्षक’ सुस्तावासीका समस्या ज्यु का त्यु रहेको उनीहरुको दुखेसो थियो । नेपाल पत्रकार महासंघ स्थापनाको अवसरमा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको टोलीसंग सुस्तावासीले उक्त दुखेसो पोखेका हुन ।


उनीहरुले सिमा अतिक्रमण लगायत विभिन्न समस्या समाधान गर्न राज्य पक्षलाई माग गरिएपनि त्यो प्रति बेवास्ता हुँदै आएको सुस्तावासीले दुखेसो पोखेका थिए । सुस्ता पुग्न नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलसमेत निर्माण अलपत्र पर्नु र यसबाहेक नागरिकता, जग्गाधनी पुर्जा, शिक्षा, स्वास्थ्य, बिजुलीबत्तीलगायत चौतर्फी समस्या समयमै हल गर्न राज्य पक्ष उदाशीन देखिएका सुस्तावासीको भनाई थियो । सुस्ता बचाउ अभियानका सदस्य तथा युवा समाजसेवी रविन्द्र बानीयाँले देशले विगतमा भोगेको नाकाबन्दी जस्तै भारतीय पक्षबाट सुस्तामा अघोषित नाकाबन्दी भइ नै रहेको बताउनुभयो । उहाँले ‘राष्ट्रले भारतबाट नाकाबन्दी भोग्यो त्यो समाधान पनि भयो तर हामी सुस्तावासीले भने दिनहुँ अघोषित नाकाबन्दी भोगिरहेका छौ ’ भन्नुभयो ।
सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले सुस्तावासीलाई आवतजावत सहज हुने उद्देश्यले चार वर्षअघि नारायणी नदीमा झोलुङ्गे पुल निर्माणकार्य शुरु भए पनि चार वर्ष बितिसक्दा पनि बन्न नसकेको जानकारी दिनुभयो । उहाँले काम अलपत्र पर्दासमेत राज्यले उचित कदम नचालेको बताउनुभयो ।
पछिल्लो तथ्याङ्कअनुसार हालसम्मको अवस्थामा २ सय ६५ घरधुरीका करीब तीन हजार १६५ जनसङ्ख्या रहेको छ । त्यस्तै सुस्तामा नागरिकताको समस्यासमेत राज्य गम्भिर नभएको सुस्तावासीले बताएका थिए । सुस्तामा मतदाता नामावलीलाई आधार मान्दा हालसम्म २९५ जनाले मात्र नागरिकता पाएका छन् । सिमाना बचाउन बचाउन वर्षौदेखि भारतीय पक्षसंग ‘पौठेजोरी ’ खेल्दै आएका अधिकांश सुस्तावासी नेपाली हुनबाट समेत बञ्चित छन् । राज्यले छुट्टै प्याकेजमार्फत उमेर पुगिसकेका सबै सुस्तावासीलाई नागरिकता प्रमाणपत्र दिनुपर्ने अभियानका उपाध्यक्ष आदम खाँ ले माग गर्नुभएको छ । त्यस्तै उमेर पुगिसकेका करिब एक हजार ६०० नागरिकले नागरिकता प्रमाणपत्र पाउनुपर्ने तथ्याङ्क रहेको खाँको दाबी थियो । केही सुस्तावासीको नेपाली सवारीसाधन अनुमतिपत्र छ, विभिन्न बैंकमा खाता पनि छ, तर नागरिकताको प्रमाणपत्र भने छैन । सुस्ताका मुन्ना खाँले सो अवसरमा भन्नुभयो, “मसँग सवारीसाधन अनुमतिपत्र छ, बैंकमा खाता पनि छ तर नागरिकता प्रमाणपत्र छैन”, सवारीसाधन अनुमतिपत्र देखाउँदै उहाँ भन्नुहुन्छ, “भारतीयले सुस्तावासीलाई नेपाली हुन् भनेर हेपाहा प्रवृति कामयमै राख्छ तर अधिकांश सुस्तावासीसँग नागरिकता छैन ।”
त्यस्तै सुस्ताका विविध समस्या जस्तै केही व्यक्तिसँग लालपुर्जा भए पनि जग्गा जोतभोग गर्न नपाएको अवस्था छ भने अधिकांश सुस्तावासी लालपुर्जा पाउनबाट बञ्चित बनेका छन् ।
जानकारहरुका अनुसार सुस्तामा कूल ४० हजार ९८० हेक्टर क्षेत्रफल रहेको छ । जसमध्ये हालको अवस्थामा करीब सात हजार हेक्टर जग्गा सुस्तावासीले जोतभोग गर्दै र बस्तीमा बस्दै आइरहेको अवस्था देखिन्छ । सुस्तामा हालसम्म ५५६ बिघा क्षेत्रफलको मात्र लालपुर्जा सुस्तावासीको नाममा रहेको छ । त्यसैगरी सुस्तामा १९ हजार ४८० हेक्टर विवादित क्षेत्र वा नेपाल र भारत दुवै पक्षबाट जोतभोग नगर्ने क्षेत्रफलको जग्गा रहेको छ । यसैगरी सुस्तामा १४ हजार हेक्टर क्षेत्रफल भारतीय पक्षबाट अतिक्रमण भइसकेको बताइएको छ ।
त्यति मात्र होइन सुस्तामा शिक्षाको पनि उत्तिकै ठूलो समस्या रहेको छ । सुस्तामा कक्षा ६ सम्म मात्र पढाइ सञ्चालन हुने श्री जनता दलित आधारभूत विद्यालय रहेको छ । कक्षा ६ भन्दा माथिल्लो कक्षा सञ्चालन नहँुदा सुस्ताका करीब ५० विद्यार्थी माथिल्लो कक्षा अध्ययन गर्न दैनिक नजिकको भारतीय बजारका विद्यालयमा जान बाध्य छन् भने केही विद्यार्थी पढाइ छाड्न बाध्य भएको विद्यालयका निमित्त प्रधानाध्यापक अरजजिप खाँन बताउनुहुन्छ ।
त्यस्तै सुस्तामा स्वास्थ्यको पनि निकै ठूलो समस्या रहेको छ । स्वास्थ्यचौकी रहे पनि दक्ष जनशक्ति, उपकरणको समस्याका कारण सुस्तावासी उपचारका लागि भारतीय भूमिको भर पर्नुपर्ने बाध्यता रहँदै आएको छ । सुस्ताबाट उपचार गराउन नेपाल आउनका लागि नारायणी नदीमा डुङ्गाको जोखिमपूर्ण यात्रा, भारतीय भूमि भएर नेपाल आउन पनि भारतीय सुरक्षाकर्मीको दुव्र्यवहार हुनु मुख्य समस्याको विषय बनेको छ । सुस्तावासीलाई स्वास्थ्य उपचारको सहज पहँुच बनाउन सुस्तामा प्रसूतिगृहसहितको सानै भए पनि अस्पताल निर्माण हुनुपर्ने स्थानीयवासी लैला बेगमको माग छ । उहाँले सुस्तावासीका समस्या संचारमाध्यमले उठाएपनि राज्यले भने नसुनेको तर्क गर्नुभयो ।
एक्काइशौ शताब्दीमा पनि सुस्तावासी अहिलेसम्म अन्धकारमै छन् । राष्ट्रिय प्रसारण लाइनअन्तर्गतका बिजुली सुस्तामा पुगेको छैन । केही घरमा सामान्य सोलार व्यवस्थापन गरिएको भए पनि अधिकांश सुस्तावासी अन्धकारमा बस्न बाध्य छन् । पटक–पटक यस समस्याबारे प्रदेशदेखि केन्द्रसम्मका सम्बन्धित निकायमा पुगे पनि सुस्तावासीले राष्ट्रिय प्रसारण लाइन नपाएको अभियानका सदस्य धमेन्द्र जयसवालले बताउनुभयो ।
सुस्तामा पछिल्लोपटक तटबन्ध निर्माणकार्य र ग्राबेल सडक विस्तार गर्ने काम सन्तोषजनक रुपमा भइरहेको पाइन्छ । तर सुस्तामा मुख्यरूपमा झुलुङ्गे पुल निर्माण नहुनु, नागरिकता, जग्गाधनी पुर्जा, शिक्षा, स्वास्थ्य, बिजुलीबत्तीलगायत चौतर्फी समस्या ज्यु का त्यु छ ।
सुस्तामा सबैभन्दा ठूलो समस्या भनेको समयमै झोलुङ्गे पुल निर्माण नहुनु पनि हो ।
वर्षाको समयमा त केही समय नारायणी नदीमा डुङ्गाको यात्रा बढी जोखिम हुने भएकाले बन्द हुन्छ । सबैभन्दा पहिला राज्यले पुल निर्माणलाई उच्च प्राथमिकतामा राखेर तत्काल अलपत्र परेको पुल निर्माणकार्य अघि बढाउनुपर्ने सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डले बताउनुभयो ।
सुस्तावासीको समस्या समाधानका लागि आफूले यसअगावै सडकदेखि सदनसम्म छलफल र बहस पैरवी गर्दै आएको र आगामी दिनमा गर्ने यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य अजय शाही दावी गर्नुहुन्छ । सुस्तामा थारू टोल, पहाडी टोल र बड्की टोल गरी तीन मुख्य टोल रहेका जनाइएको छ । सुस्तावासीहरु उखु उत्पादन गर्छन । यहाँ उखु मात्र नभई धान गहु र तोरी पनि राम्रो उब्जनी हुन्छ । सुस्तामा हाल १४ वटा उखु क्रेसर रहेको छ ।

You might also like