फोहोर बर्गीकरण पछि सहज बन्दै फोहोर ब्यवस्थापन
ब्यवस्थित हुदैं बर्दघाटको फोहोर प्रशोधन स्थल
रवि पाण्डेय
नवलपरासी पश्चिम – लुम्बिनी प्रदेशको प्रबेशद्वार मानिने बर्दघाट नगरपालिकाले फोहोर ब्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । नयाँ जन प्रतिनिधि आएपछि र फोहोर ब्यवस्थापनबारे जानकार रहेका प्रमुख प्रशासकीय अधिकृत पाएपछि बर्दघाटले फोहोर ब्यवस्थापनको कार्यमा फड्को मार्ने संकेत देखिएको छ ।
वर्तमान अवस्थामा फोहोर ब्यवस्थापनको सवालमा स्थानीय बासिन्दाले समेत चिन्ता र चाँसो ब्यक्त गर्न थालेका छन् । पत्रकार कुस्माकर ढकाल (कृष्ण) फोहोर ब्यवस्थापनमा चिन्ता र चाँसो हुनुलाई आफूले सकारात्मक रुपमा लिएको बताउछन् । ‘यस अघि चाँसो अलि कम थियो । फोहोर ब्यवस्थापनमा यति धेरै चाँसो कसैमा थिएन् ।’ – पत्रकार ढकाल भन्छन् – ‘अब यो आम जनचाँसो भएको छ । बर्दघाट नगर हिजो भन्दा आज शहर उन्मुख बन्दै गयो । यहाँ कलकारखाना उद्योग ब्यवसाय समेत बृद्धि हुदैछ फोहोर उत्पादनमा बृद्धि हुदै जादाँ सबैमा चिन्ता र चाँसो बढनु स्वाभाविकै हो ।’
फोहोर ब्यवस्थापनमा चाँसो बृद्धि हुदै जानुमा नगरपालिकाको जन प्रतिनिधिहरुको समेत हात रहेको ढकालको भनाई छ । देशका ठूला शहरहरुमा फोहोर ब्यवस्थापनको कामले सताउन थालेको देखेका जन प्रतिनिधि यसबाट झस्किए ।’ फोहोरलाई मोहर बनाउन सकिने ब्यवसायिकता देखेका युवा तथा सम्बन्धित मान्छेहरुमा चाँसो बढ्यो । ‘– उनी दावी गर्छन् – ‘अनि नगरवासीमा पनि हिजो भन्दा बढी सचेतना बृद्धि भयो । त्यसैले चाँसो र चिन्ताका रुपमा यो प्रकट भएको छ ।’
पत्रकार ढकालले फोहार ब्यवस्थापन गर्ने अभियानमा नगरपालिका लागेपछि त्रिपक्षीय चाँसो बृद्धि हुदै गएको तर्क छ । यही चाँसो र चिन्ता बीच बर्दघाट नगरपालिका–४ मा रहेको ल्यान्डफिल्ड साइडलाई यतिबेला पहिले भन्दा सफा बन्दै गएको उनको भनाई छ । काठमाण्डौमा जस्तै फोहोर समस्या बन्ने त होइन ? जन प्रतिनिधिहरुमा रहेको यो चिन्ताले गर्दा उत्तरदायित्व समेत बढदै गएको ढकाल बताउछन् ।
यही चाँसोकै कारण महिना अघि सम्म फोहोरको डंगुरले भरिएको ल्याण्डफिल साइट अहिले नो फिल साइटका रुपमा परिर्वतन भइसकेको छ । दाउरा घाँस लिन जाने देखि अन्य कामले जाने मानिसहरुले त्यहाँ पुग्दाँ नाक नै थुन्नु पर्ने स्थल अहिले धेरै सुधारिएको छ ।
फोहोर संकलनको जिम्मा पाएको बर्दघाट बजार विकास समितिले २२ वटा टोलबाट संकलन गरेको फोहोर अहिले बर्गीकृत भएर प्रसोधन स्थलमा पुग्ने गरेपछि फोहोरको चाप समेत घट्दै गएको देखिन्छ । ‘हिजो जस्तो नाकै थुनिहाल्नुपर्ने अवस्था छैन् । पहिले कुहिने नकुहिने र शिसाजन्य फोहोर एकै ठाँउमा फाल्दाँ ब्यवस्थापनमा कठिनाई हुन्थ्यो ‘– बर्दघाट बजार बिकास समितिका अध्यक्ष तारा प्रसाद गौतमले भने – ‘फोहोर बर्गीकरण पछि फोहोर समेत निकै कम भयो । अब सहज हुदै समेत जाला ।’
नगरपालिकाले माघ १ गतेबाट नगरवासीले उत्पादन गर्ने फोहोरलाई स्रोतबाट नै बर्गीकरण गरी फोहरलाई मोहरमा बदल्ने अभियान शुरु गरेको थियो । सरसफाई अभियानलाई प्रभावकारी बनाउन नगरले हरेक महिनाको पहिलो र अन्तिम शनिवार सरसफाई गर्दै आएको छ ।
पहिलेको जस्तो अहिले दुर्गन्ध कम हुदै गएको कवाड ब्यवसायी समेत रहेका यम बहादुर थापाले जानकारी गराए । उनले उक्त स्थानको फोहोर बर्गीकरण गरेर बिक्री गर्दै आएका छन् । ‘पहिले धेरै फोहोर आउथ्यो अहिले निकै कम आउछ’ –थापा भन्छन् – ‘अहिले ज्यालामा थोरै मान्छे लगाएको छु । अब ब्यवस्थित होला भन्ने आशा छ ।’
फोहोर संकलन धेरै भए आफूलाई धेरै फाइदा हुने बताउदै थापाले नगरपालिकाको अभियानमा आफ्नो साथ हुने बताउछन् । ब्यवसायी थापाका अनुसार प्लाष्टिकका बोतल प्रतिकेजी ३० देखि ३८ रुपैया ,कार्टुन अर्थात गत्ता १५ देखि १८ रुपैया प्रतिकेजी ,सादा शिसाजन्य बोत्तल ७ देखि ९ रुपैया प्रतिकेजी, कालो निलो शिसाका रंगिन बोत्तल ३ देखि ६ रुपैया प्रतिकिलो भैरहवा लगेर बिक्री गर्ने गरिएको छ ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरसभा र नगर कार्यपालिकाबाट नै नीतिगत निर्णय गरेर आवश्यक कार्यविधि तथा कानुन बनाएर फोहर बर्गीकरण अभियानमा लागेको बताए । ‘यो अभियानलाई हामीले जसरी पनि पुरा गर्नुछ ‘– नगर प्रमुख श्रेष्ठ भन्छन्–’ त्यसमा सबैको साथ आवश्यक छ ।’
बर्दघाट नगरमा उत्पादित फोहरलाई सूर्य ज्योती युवा क्लव बर्दघाट –२ चिसापानी जिमिरेभार बजार विकास समिति बर्दघाट–७ जिमिरेभार, पञ्चनगर बजार विकास समिति भुताहाले पनि संकलन गर्दै आएका छन् ।
उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले निर्माण गर्न लागेको फोहोर प्रसोधन केन्द्रमा पहिलेको जस्तो फोहोर नभएको बताए । उनले आफूले पटक पटक उक्त स्थानमा पुगेर अवलोकन गरेको बताउदै फोहोर ब्यवस्थापनको कार्यलाई निष्र्कषमा लैजाने बताए । ‘चुनौतीहरु पनि छन्’ – उनले भने – ‘यो चुनौती पार गरिनेछ । पहिले भन्दा ब्यवस्थित हुदै गएको छ । अझ धेरै काम गर्न बाँकी छ ।’
उक्त फोहोर बिर्सजन स्थल बस्ती तथा खानेपानीको मुहान नजिक रहेको भन्दै स्थानीयले असन्तुष्टि समेत जनाउदै आएका थिए । उप प्रमुख उपाध्यायले नगरवासीको चिन्ता प्रति आफूहरुको चाँसो रहेको बताए । ‘बस्ती र खानेपानी नजिक भयो भन्ने आएको छ । ‘– उनले भने – ‘खानेपानी र बस्तीको वाताबरण बिग्रन दिदैनौं । दुवै काम नगरपालिकाको दायित्व भित्र पर्छ । यसमा हामी स्थानीय बासिन्दाकै साथमा छौं । हामी यसमा जिम्मेवार रुपले प्रस्तुत हुन्छौ ।’
बर्दघाट बजार बिकास समितिले यस अभियानलाई निकै साथ दिएको बर्दघाट नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले फोहोर फाल्ने उक्त स्थानको मुहार नै फेरिएको बताउछन् । सो स्थानमा कुहिने र नकुहिने र शिसाजन्य फोहोर छुट्याएरै राख्ने गरिएको छ । कुहिने र नकुहिने फोहोरमा लागि छुट्टाछुटै खाडल खनिएको छ भने शिसाजन्यलाई बेग्लै राख्ने गरिएको छ । कुहिने फोहोरबाट प्रांगारिक मल बनाएर बिक्री गर्न सकिन्छ । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले प्रांङगारिक मल बनाएर बिक्री गर्नका लागि समेत ब्यवसायीहरु तयार भइसकेको जानकारी गराए । ‘प्रांङगारिक मल बनाएर बिक्री गर्छाै भनेर ब्यवसायीहरु सम्पर्कमा आउनुभएको छ’ –उनले भने –’ हामी गड्यौलाको खोजीमा छौ । अब प्रांङगारिक मल उत्पादन हुन्छ । फोहोरबाट मोहोर बनाउने तयारीमा छौ ।’ अभियानमा नगरवासीले साथ दिनेमा सापकोटाको विश्वास छ ।
यो समाचार हामीले बर्दघाट पोष्ट दैनिकबाट साभार गरेका हौ–सं