राजनीति सफा गर्ने पहिलो उद्देश्य छ : पौडेल
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक दलको नेतृत्वबाटै राजनीतिमा विकृति ल्याउने काम भएको बताएका छन् । काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले बिहीबार क्षेत्रीय कार्यसमितिले गरेको क्षेत्रीय प्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै राजनीति सफा गर्ने आफ्नो पहिलो उद्देश्य रहेको बताएका छन् ।
उनले राजनीतिसँगै राजधानी पनि सफा गर्नैपर्ने अवस्था रहेको भन्दै त्यसका लागि समेत आफूले उचित योजनाहरू लिएर आएको बताए ।
‘काठमाडौंले देश बनाउने नेतालाई विश्वास गर्छ । विकृतिहरूलाई अन्त्य गर्ने गरी अगाडि बढेको नेतृत्वलाई विश्वास गर्छ । आज देशमा धेरै विकृतिहरू छन्,’ पौडेलले भनेका छन्, ‘राजनीतिभित्रै धेरै विकृतिहरू छन् । राजनीतिमा विकृति ल्याउने नेतृत्व पनि दलहरुभित्रै छन् । त्यसैले राजनीति सफा गर्न आवश्यक छ । मेरो पहिलो उद्देश्य राजनीतिलाई सफा गर्ने हो । त्यसपछि राजनधानीलाई पनि सफा गर्नुपर्ने छँदैछ ।’
उनले काठमाडौं- ५ ले मुलुकको नेतृत्व गरिरहेको भन्दै यहाँबाट देश बनाउने नीतिको नेतृत्व गर्ने नेता चुनिएर आउनुपर्ने बताए । ‘काठमाडौं- ५ राजधानीको पनि राजधानी हो । यसले नेपालको नीति निर्माणमा ठूलो योगदान गर्न सक्छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, राष्ट्र बैंकलगायत धेरै महत्त्वपूर्ण केन्द्रहरू यही छन्,’ पौडेलले भने, ‘त्यसैले यहीबाटै देश बन्ने नीति बन्नुपर्छ । देश बनाउने नीतिको नेतृत्व गर्ने नेता यहीँबाट चुनिएर आउन आवश्यक छ ।’
उनले आफूलाई विश्वास गर्न आग्रह गर्दै मतदाताको विश्वासलाई आफूले कुठाराघात नगर्ने प्रतिज्ञासमेत गरे । ‘तपाईंको सांसदको रुपमा मैले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नेछु । तपाईंको शिर निहुरिने, तपाईंलाई लाज हुने स्थिति मैले निर्माण गर्ने छैन,’ उनले भने । kantipurnews