खुवा मगमगाउने एउटा गाउँ

0

 

कपिलवस्तु विजयनगर गाउँपालिका–५ नौरगिया गाउँमा पुगेपछि खुवा नखाई फर्कने त सायदै कोही होलान् । गाउँका सबै घरमा खुवा (कुराउनी) पकाइन्छ, जसको बासना गाउँभर फैलिएको हुन्छ ।

नौरगिया गाउँको खुवा चर्चा जिल्लाभर नै हुने गर्छ । कृष्णनगर, बाहादुरगन्ज, चन्द्रौटालगायत स्थानमा नौरगियामा तयार हुने खुवाको प्रमुख बजार हुन् । पछिल्लो समय नौरगियाले भैंसीपालन र खुवा उत्पादनका लागि ख्याति कमाउँदै छ । बिहानैदेखि भैंसी चराउने, कुँडोपानी खुवाउने अनि दुहुने काममा जुट्ने शिवनाथ अहिरको परिवार बाह्रै घन्टा बेफुर्सदिलो हुन्छ । गोबरको थुप्रो हातमा समाउँदै शिवनाथ भन्छन्, ‘खुवा हाम्रो गाउँको परिचय हो । यहाँ आउने जोकोहीले चाखेर मीठो मानीमानी खान्छन् ।’ उमेरले ४८ वर्ष कट्दै गरेका उनलाई बिहानैदेखि साँझसम्म एकछिन फुर्सद हुन्न । बिहानै भालेको डाँकोसँगै ब्युँझिन्छन् ।

बिहान ३ बज्दै गर्दा उनी भैंसी फुकाएर जंगल खेद्छन् । यहीबाट सुरु हुन्छ, उनको दैनिकी । सानाठूला गरी उनको गोठमा ३० भैंसी छन् । दैनिक सय लिटर दूध दिन्छन् । अहिर बिहान घरको सबै काम सक्ने र अघाएका भैंसी घर फर्केपछि दुहुने काम सुरु गर्छन् । ठूलो बाल्टीभर दूध दोहेर ठूलै ताउलामा खन्याएपछि मीठो खुवा बनाउन थालिन्छ । गाउँका सबैजसो परिवारको दैनिकी यसरी नै सुरु हुन्छ । खुवा उत्पादनबाटै राम्रो आम्दानी भएपछि उनलाई परिवार पाल्न मुस्किल छैन । भैंसी र पाडा बिक्रीको आम्दानी छोडेर खुवाबाट मात्रै मासिक ४० हजार रुपैयाँ आम्दानी हुने गरेको छ । भैंसीपालनका लागि १० कठ्ठा जग्गामा घाँस बीउ लगाएका उनले जंगलमा चराउने भैंसीले दूध कम दिने हुँदा अब दाना र घाँस खुवाएरै पाल्ने योजना बनाएको सुनाए ।

बिहान घरको सबै काम सक्ने र अघाएका भैंसी घर फर्केपछि दुहुने काम सुरु गर्छन् । ठूलो बाल्टीभर दूध दोहेर ठूलै ताउलामा खन्याएपछि मीठो खुवा बनाउन थालिन्छ । गाउँका सबैजसो परिवारको दैनिकी यसरी नै सुरु हुन्छ

अर्का भैंसीपालक शिवप्रसाद यादवले पनि भैंसीपालनबाटै मनग्य आम्दानी लिँदै आएका छन् । दूधलाई खुवा बनाएर आम्दानी, मलले खेतीपातीमा राम्रो उब्जनी र पाडापाडी बिक्री गर्दा आउने पैसाले छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको उनी बताउँछन् । ‘भैंसीपालन पुरानै पेसा हो, बाआमाले यही काम गरे । मैले पनि गरिरहेको छु,’ यादव भन्छन् । परम्परागत पेसाका रूपमा रहेको भैंसीपालन र खुवा बनाउने पेसा यहाँको पुख्र्याैली हो । दूध घोटेर बनाइने खुवा मिठाई बनाउन प्रयोग गरिन्छ । पहाडतिर खुवालाई ‘कुराउनी’ भन्ने चलन छ । दूधको मूल्य कम पर्ने हुँदा गाउँका किसान खुवातर्फ आकर्षित भएका हुन् ।

प्रतिलिटर ६० रुपैयाँका दरले दूध खरिदबिक्री हुने गरेको छ । गाउँका सबै किसानबाट दूध खरिद गरी नैरगियाका नौ जनाले मात्र खुवा बनाउँदै आएका छन् । उनीहरू दैनिक १ क्विन्टलभन्दा बढी खुवा बिक्री गर्छन् । चार लिटर दूधबाट एक किलो खुवा उत्पादन हुने गरेको छ । दूध बजारमा प्रतिलिटर ६० रुपैयाँ पर्छ भने खुवा प्रतिकिलो ४ सय । खुवा बिक्रीका लागि समस्या नभए पनि बजार टाढा भएकाले आउजाउमा समस्या हुने गरेको स्थानीय बताउँछन् । गाउँका ३० घरपरिवारले भैंसीपालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । गाउँका महिलाले भैंसी चराउनेदेखि खुवा घोट्नेसम्मका काममा पुरुषलाई सघाउने गर्छन् ।

८ पुस २०७७ मा तत्कालीन लुम्बिनी प्रदेशका कृषि, पशुपक्षी तथा सहकारी विकासमन्त्री आरती पौडेलले गाउँलाई भैंसी स्रोत केन्द्रका रूपमा घोषणा गरेकी थिइन् । हाल, गाउँका खेतैभरि घाँस लगाइएको छ । पानीका लागि घरघरमै मोटरपम्प राखिएका छन् । खरको छानो रहने गोठमा जस्तापाता भएपछि हावाहुरीका समय ‘आगलागी होला’ भन्ने चिन्ता पनि स्थानीयलाई छैन । २०७३ मा गाउँका २५ गोठ आगोले जले भने दुई भैंसीसमेत मरेका थिए । लुम्बिनी प्रदेश सरकारको ५० प्रतिशत, गाउँपालिकाको ३० प्रतिशत र किसानको २० प्रतिशत लगानीमा नौरगियालाई स्रोत केन्द्रका रूपमा विकास गरिएको हो ।

सरकारले अनुदान दिएपछि गाउँका किसानलाई सहज भएको छ । गत वर्ष २० प्रतिशत लगानी गर्नेलाई योजनामा समावेश गरिएको थियो । भैंसी स्रोत केन्द्रलाई ३ करोड ८ लाखको बजेट दिइएको छ । केन्द्र अध्यक्ष शिवनाथ अहिर किसानको आवश्यकताका आधारमा योजना बनाउने अनि पालिका र प्रदेशमा माग गर्ने योजना रहेको बताउँछन् । गाउँमा २० भैंसी अटाउने क्षमताको ५ वटा, १० वटा अटाउने क्षमताको २५ वटा गोठ निर्माण भएका छन् ।

घाँस काट्न २५ थान चापाकटर किसानलाई वितरण गरिएको छ । दुई हर्ष पावरका १० वटा र ६ वटा बोरिङ पनि निःशुल्क बाँडिएको छ । तीनवटा भैंसी नश्ल सुधारका लागि जिल्ला बाहिरबाट राँगा खरिद गरी ल्याइएको छ । औषधि, घाँसको बिउको बिमा यसै कार्यक्रममा समावेश गरिएको छ । कार्यक्रम प्रभावकारी बनाउन पालिकाले पशु प्राविधिकका रूपमा जयप्रकाश यादवलाई खटाएको छ । किसानको मेहनतको प्रतिफलस्वरूप नौरगिया गाउँलाई भैंसी स्रोत केन्द्रका रूपमा विकास गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा बताउँछन् । ‘तीन गाउँमा गरी ८ सयभन्दा बढी भैसी छन्,’ उनी भन्छन्, ‘यहाँका युवा विदेश जाँदैनन् । भैंसीपालनबाट राम्रो आम्दानी गरिरहेका छन् ।’ rajdhanidaily

You might also like