बुटवलमा निर्वाचन बहिष्कार सभा सम्पन्न (फोटो फिचर)

दलालहरुलाई भोट दिएर देशबेचुवाहरुको मतियार बन्नु हुदैन-गजुरेल

0

बुटवल – नेकपा(क्रान्तिकारी माओवादी) सहित चार दलीय मोेर्चाले बुटवलमा निर्वाचन बहिष्कार/अबज्ञा सभा गरेका छन् । सभा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले दलाल संसदीय ब्यवस्थाको अवसान शुरु भईसकेका बताउदै दलालहरुलाई भोट दिएर राष्ट्रघात जनघातमा समाबेश नहुन जनतालाई आब्हान गर्नुभयो । दलालहरुलाई भोट दिएर देशबेचुवाहरुको मतियार बन्नु हुदैन –बुटवलको बीपीचोकस्थित सभालाई सम्बोधन गर्दै नेता गजुरेलले भन्नुभयो – त्यसैले भोट दिन गएर दलालहरुको देशबेच्ने लाईसेन्स नवीकरण नगरौ ।


उहाँले वर्तमान अवस्थामा देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको टिप्पणी गर्दै जनयुद्धका सुप्रिम कमाण्डर समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र त्यस बेला माओवादीलाई टाउकोको मुल्य तोक्ने शेरबहादुर देउवाबीच गठबन्धन हुनुलाई ठगबन्धनको संज्ञा दिनुभयो ।


संसदीय ब्यवस्थाले जनतालाई केही पनि दिन नसकेको चर्चा गर्दै उहाँले संघीय जनगणतन्त्रका लागि संर्घष गर्नुपर्नेमा जोड दिनुभयो । केही मान्छेहरु फेरिएर हुदैन यो ब्यवस्था बदल्नुपर्छ – देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहनु भएका गजुरेलले भन्नुभयो ।


फरक प्रसंगमा उहाँले नो भोटको ब्यवस्था गर्न सरकारलाई सर्बाेच्च अदातलले निर्देशन गरेको भएपनि संसदवादीहरुले नो भोटको कानुन नबनाउदाँ समस्या भएको बताउनुभयो । नोट भोट भयो भने दलालहरुका डब्बा रित्तै हुने उनीहरुले राम्रो संग बुझेका छन् – नेता गजुरेलले भन्नुभयो – त्यसैले नो भोटको ब्यवस्था गर्न चाहिरहेका छैनन् । त्यही बहानामा स्वतन्त्रहरु जन्मेका हुन् । ब्यक्ति फेरिएर हुदैन ब्यवस्था फेरिनुपर्छ ।उहाँले निर्वाचन बहिष्कार कार्यक्रम शान्तिपुर्ण हुने बताउदै कार्यक्रममा अवरोध गरिए शान्तिपुर्ण भनेर मात्र नहुने चेतावनी दिनुभयो । यहाँ हिजो देखि नै हाम्रो कार्यक्रममा अबरोध प्रयास भयो– उहाँले प्रहरी प्रशासनलाई लक्षित गर्दै भन्नुभयो – हामीले देशैभर शान्तिपुर्ण कार्यक्रम गर्दैछौ । हामीले मात्र शान्तिपुर्ण कार्यक्रम गर्न चाहेर मात्र हुदो रहेनछ । यो सत्ताले अवरोध गरे शान्तिपुर्ण हुने कुरा भएन् ।


त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला यो व्यवस्थामा हुने चुनावले भ्रस्टचारी, कालाबजारी, शिक्षाका माफिया, राष्ट्रघाती, जनघाती र विदेशी दलालहरुलाई जिताउने भएकाले यस चुनावलाई सबै जनतालाई अवज्ञा गर्न अपील गर्नुभयो । हामीले यो चुनाव अवज्ञा गर्ने नीति लिएका छौँ । हामीले देशमा राजनीतिक स्थिरता, समृद्धि, सामाजिक रुपान्तरण, शान्ति र स्वाधिनताका लागि स्वाधिन संयुक्त सरकार निर्माण गर्दै नयाँ जनवादसहितको वैज्ञानिक समाजवाद स्थापना गर्न संघर्ष गर्दैछौँ । – उहाँले सो अवसरमा जनतालाई भन्नुभयो ।


कार्यक्रममा नेकपा(मशाल)का महासचिव सन्त बहादुर नेपालीले निर्वाचनलाई सक्रिय बहिस्कार गरेर दलाल संसदीय ब्यवस्थालाई धक्का दिएको उल्लेख गर्नुभयो । ‘यो चुनावमा भोट हालेर कसैलाई जिताउनु भनेको देशमा समृद्धि ल्याउनु होइन – उहाँले भन्नुभयो – यसको सक्रिय बहिष्कार गर्नुपर्छ ।
नेता नेपालीले देशका क्रान्तिकारी धुब्रीकरणको आवश्यकता समेत औल्याउदै ४ पार्टीको बहिष्कार आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिनुभयो ।


कार्यक्रममा माओवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव रामनारायण पालले ब्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै रहेको चर्चा गर्दै बैज्ञानिक समाजवादका आधार तयार गर्न संसदीय निर्वाचन बहिष्कार गर्न आग्रह गर्नुभयो । सभा नेकपा(बहुमत) रुपन्देहीका ईन्चार्ज प्रबेशको अध्यक्षता क्रान्तिकारी माओवादीका रुपन्देही जिल्ला सेक्रेटरी विनोद मरासिनीको स्वागत, नेकपा (मशाल)का नेता दीपक पौडेलको संचालनमा भएको थियो । बुटवल बसपार्कबाट जन¥याली सहित शुरु भएको जुलुस बीपीचोकमा पुगेर सभामा परिणत भएको थियो ।

 

You might also like