नवलपरासीमा बढ्दो जनसंख्या, १० वर्षमा ५६ हजार ३६९ थपिए
पछिल्लो १० वर्षमा नवलपरासीमा जनसंख्या वृद्धि दर बढेको छ । यो अवधिमा जिल्लामा ५६ हजार ३६९ जनसंख्या थपिएको छ ।
सबैभन्दा बढी सुनवल नगरपालिकामा जनसंख्या वृद्धि बढेको देखिएको हो । लुम्बिनी प्रदेशमै सुनवल नगरपालिका जनसंख्या वृद्धि उच्च हुने पालिकामध्येमा पाँचौ स्थानमा रहेको छ । नवलपरासीका सात पालिकामध्ये भने सुनवल नगरपालिकामा जनसंख्या वृद्धिमा पहिलो देखिएको छ ।
जनसंख्या वृद्धिदर बढ्दै गएपनि स्थानीय तहहरुले भने त्यसको व्यवस्थापन गर्न खासै चासो देखाएको पाइएको छैन । बसाँसराइका कारण पनि जनसंख्या वृद्धि भएको पालिकाहरुले जनाएका छन् । तर बसाइसराइ गरेर कहाँबाट कतिको संख्यामा आए भन्ने यकिन तथ्यांक पालिकाहरुले दिन सकेका छैनन् ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार सुनवलमा कुल जनसंख्या ७२ हजार ६२१ छ । त्यहाँ १० वर्षको अवधिमा १६ हजार ८३१ जना थपिएका छन् । जिल्लाका पालिकाहरुमध्ये सबैभन्दा बढी जनसंख्या रहेको बर्दघाट नगरपालिका जनसंख्या वृद्धिदरमा भने दोस्रो देखिएको छ ।
बर्दघाटको कुल जनसंख्या ७५ हजार १७ छ । त्यहाँ १० वर्षको अवधिमा १३ हजार ५४५ जनसंख्या थपिएको छ । तेस्रोमा रहेको रामग्राम नगरपालिकाको जनसंख्या ६४ हजार १५० छ । त्यहाँ १० वर्षको अवधिमा ७ हजार ३०५ जना थपिएका छन् । जनसंख्या वृद्धिदरको चौथो स्थानमा रहेको प्रतापपुर गाउँपालिकाको जनसंख्या ५० हजार ३२६ रहेको छ । १० वर्षमा त्यहाँ ५ हजार ८५ थपिएका छन् । पाँचौमा रहेको पाल्हीनन्दन गाउँपालिकाको जनसंख्या ४० हजार ३२५ रहेको छ । १० वर्षमा त्यहाँ ४ हजार ८९६ थपिएका छन् । त्यस्तै जिल्लाको जनसंख्या वृद्धिदरमा छैठौं स्थानमा रहेको सरावल गाउँपालिकाको जनसंख्या ४२ हजार २१७ रहेको छ । त्यहाँ १० वर्षमा ४ हजार ७९९ थपिएका छन् । सातौंमा रहेको सुस्ता गाउँपालिकाको जनसंख्या ३९ हजार ७९८ रहेको छ । १० वर्षको अवधिमा त्यहाँ ३ हजार ९०८ जना थपिएको प्रारम्भिक नजितामा उल्लेख छ ।
२०६८ को जनगणनाअनुसार जिल्लमा कुल जनसंख्या ३ लाख २८ हजार ८५ थियो । २०७८ सम्म आइपुग्दा जनसंख्या बढेर ३ लाख ८४ हजार ४४५ पुगेको विभागको प्रारम्भिक नतिजामा उल्लेख छ । जिल्लाको शहरी क्षेत्रमा जनसंख्या बढ्नुमा बसाई सराई प्रमुख रहेको छ । जिल्लाको नगरपालिका क्षेत्रमा बसाई सराई बढेको देखिएको हो ।
जनसंख्या बढ्दै गएपछि यसको व्यवस्थापनका लागि स्थानीय तहहरु चनाखो हुनुपर्ने जनसंख्या विषयका जानकार पत्रकार चेतन अधिकारीका बताउँछन् । उनअनुसार नवलपरासीका स्थानीय तहहरुमा जनसंख्या व्यवस्थापनको कुनै योजना देखिएको छैन । ‘तराईतर्फको सघन जनसंख्यालाई समयमा नै व्यवस्थापनको उचित पहल जरुरी छ । यसका लागि संघ, प्रदेश र स्थानीय तहको संयुक्त प्रयास जरुरी छ,’ अधिकारीको भनाइ छ ।
केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक नतिजाअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी जनसंख्या रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बढेको छ । त्यहाँ १० वर्षको अवधिमा ३.८५ प्रतिशतले जनसंख्या बढेको छ । त्यस्तै दोस्रोमा कोहलपुर नगरपालिका, तेस्रोमा बुटवल उपमहानगरपालिका, चौथोमा देवदह नगरपालिका छ ।
पहाडी क्षेत्रको जनसंख्या घट्ने र तराईको द्रुतगतिमा बढ्ने भएपछि दुवैतिर समस्या सृजना हुने विज्ञहरुले बताएका छन् । तराईमा बसाईसराई गरेर आउँदा नेपालको हिमाली र पहाडी जिल्लामा जनसंख्या क्षति हुने क्रम बढ्दै गएको तथ्यांकले देखाएको छ । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाले देशका ३२ वटा हिमाली र पहाडी जिल्लाको जनसंख्या घटेको देखाएको छ ।
के भन्छन् पालिका प्रमुख ?
सुनवल नगरपालिकाकी मेयर विमला अर्यालले कति जना बसाइसराइ गरेर आए भन्ने नगरपालिकासँग तथ्यांक नरहेको बताइन् । ‘नगरपालिकासँग कति व्यक्तिहरु कहाँबाट आए भन्ने तथ्यांक छैन । तपाईंले सोध्नुभयो । अब तथ्यांक संकलनतर्फ लाग्छौं,’ अर्यालले भनिन् ।
बसाइँसराइ गरेर आउने व्यक्तिहरुको खानेपानी, बिजुली, सडकलगायतका समस्या बुझेर समाधानतर्फ लाग्ने अर्यालको भनाइ छ ।
बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले जनसंख्या बढ्नुमा बसाईसराई प्रमुख भएको बताउँछन् । तर कति जनसंख्या बसाईसराई गरेर आए भन्ने तथ्यांक भने यकिन भन्न नसकिएको उनको भनाई छ । सुनवल र बर्दघाटमा स्याङ्जा, पाल्पा, गुल्मी र बाग्लुङ जिल्लाबाट बसाईसराई गरेर आएका व्यक्ति बढी छन् ।
‘बसाइँसराइको तथ्यांक वडामा होला । ठ्याक्कै कस्ता व्यक्ति आए भन्न सकिएन, ‘श्रेष्ठको भनाइ छ ।
नयाँ आउने व्यक्ति खाली ठाउँमा नभई बस्ती नै रोजेर बस्ने भएकाले यातायातदेखि बिजुली र अन्य सुविधाको समस्या नभएको उनले बताए । ‘नयाँ आउने व्यक्तिहरु टोल नै बनाएर बस्ने होइन । बस्तीमै जाने हो । हाम्रो नगरपालिकामा सबै खाले सुविधा पुगेकाले समस्या छैन,’उनले भने ।
बसाइँसराइ गरेर आउनेहरुका कारण केही वर्षपछि जनघनत्व बढेर केही समस्या हुनसक्ने उनले अनुमान गरे । annapurnapost