विषादीले बिरामी

0

थोरै जग्गामा धेरै फलाउने र अधिकतम लाभ लिने ध्याउन्नमा लागेकाहरु गर्दै छन् विषादीको जथाभावी प्रयोग
किसानहरु विषादीको जथाभावी प्रयोगबाट सिर्जित दुर्घटना मात्रै भोगिरहेका छैनन्, फसल उत्पादन बढाउनैपर्ने बाध्यताका कारण अत्यधिक विषादी प्रयोग गर्नाले अनेकन् गम्भीर स्वास्थ्य जटिलताहरुसँग पनि जुधिरहेका छन्

कविलासी–१ पिपरियाका वीरेन्द्र पण्डितको भोगाइ महेन्द्रको जस्तै छ । गत जेठमा उखुमा किराको प्रकोप बढेको थियो । उनी विषादी छर्न पुगे । घर फर्किंदा उनलाई केही गाह्रो अनुभव भयो । जीउ डमडमी सुन्नियो । परिवारले उनलाई स्थानीय क्लिनिकमा लगे । कडा खालको विषादीले उनलाई प्रतिकूल असर गरेको स्वास्थ्यकर्मीले भनेका थिए । कुन विषादी छर्केको भन्नेमा पण्डित अनभिज्ञ छन् । गाउँकै बीज भण्डारबाट विषादी ल्याई झोल बनाई ट्यांकीबाट छर्केका थिए । त्यो दिन गर्मी अधिक भएकाले उनले गन्जी मात्रै लगाएका थिए । नाकमुख छोपेका थिएनन् । असुरक्षित तरिकाले विषादी छर्केकै कारण बिरामी परेपछि उनले दुई दिन अस्पताल बस्नुपर्‍यो ।

सर्लाही–रौतहटमा महेन्द्र र वीरेन्द्र जस्ता कृषकको संख्या धेरै छ, जो खेतीबालीमा लाग्ने रोगकिरा हटाउन एग्रोभेटको भर पर्छन्, सल्लाह लिन कृषि प्राविधिक खोज्दैनन् । सावधानी नअपनाई खेतबारीमा विषादी प्रयोग गर्छन् । ‘यहाँ सबै किसानले गर्ने यही नै हो । एग्रोभेटले जे दिन्छ त्यही विषादी छर्ने हो,’ महेन्द्र भन्छन् । बिरामी पर्दा नजिकैको मेडिकलबाट जाँचबिनै औषधि किनेर खाएजस्तै किसान एग्रोभेट पुगेर विषादी लिएर आउने गरेको उनले बताए ।

विषादीको अत्यधिक र जथाभावी प्रयोगबाट हुने तत्काल हुने स्वास्थ्य समस्या त सामान्य भइसक्यो । वर्षौंदेखि विषादीको प्रयोग गर्दै आएका कृषकहरू क्यान्सरजस्ता घातक रोगहरूसँग पनि जुधिरहेका छन् । खासगरी तरकारीको पकेट क्षेत्रका कृषकहरूमा क्यान्सर रोगको प्रकोप देखिएका छन् । हरिवनको घुर्कौली तरकारी उत्पादनको पकेट क्षेत्र हो । जहाँ पाँच वर्षयता क्यान्सर रोगले २२ जनाको मृत्यु भइसकेको छ भने आधा दर्जनभन्दा बढी बिरामी छन् । बिरामीमध्ये अधिकांशमा छाला तथा रगतको क्यान्सर छ । हरिवनमा मात्रै गत आर्थिक वर्षमा ३६ जना क्यान्सर रोगी नगरपालिकाको सम्पर्कमा आए । नगरपालिकाका स्वास्थ्य संयोजक शशिकान्त सिंह भन्छन्, ‘उपचारका लागि सहयोगको सिफारिस लिन आएकाको मात्र तथ्यांक हामीसँग छ, संख्या बढी हुन सक्छ ।’

वडाध्यक्ष नागेन्द्र साह स्थानीयमा क्यान्सर रोग किन यति धेरै देखियो र कारण के हो भन्ने किटानीका साथ भन्न नसकिने बताउँछन् । तर उनी कडाखाले विषादी प्रयोग गरेकाले यस्तो भएको हो कि भन्ने अड्कल सुनाउँछन् । ‘तरकारीको पकेट क्षेत्र हो, कडाखाले विषादी चलाउने गरिएको छ, सावधानी अपनाएको देखिँदैन,’ उनले भने । चार दशकदेखि तरकारी खेती गर्दै आएका घुर्कौलीका पाल्देन लामा स्याङ्वा ७१ वर्षका भए । उनलाई क्यान्सरले गाँजेको एक वर्षअघि मात्र पत्ता लागेको हो । गोलभेंडा, परवल, बोडीलगायतका तरकारी उब्जाउने स्याङ्वाले वर्षौंदेखि रोगकिरासँग जुध्न विषादी प्रयोग गर्दै आएको बताए । ‘ठ्याक्कै यही भएर भयो कसरी भन्ने ? विषादी वा दूषित पानीमध्ये कुनै एकले गर्दा क्यान्सर भएको हुन सक्छ,’ उनी अनुमान सुनाउँछन्, ‘म मात्र हैन थुप्रै जना मलाई जस्तै रोगले पीडित छन् ।’ स्याङ्वाका अनुसार उनको क्षेत्रका किसानहरूले पचासको दशकपछि विषादीको प्रयोग थालेका हुन् । ‘पहिला माटोको उर्वराशक्ति राम्रो थियो, मल, खाद तथा विषादी छर्नै पर्थेन,’ उनले भने, ‘पछि–पछि रोग किराको प्रकोप बढ्यो, अनि सबैले मलखाद र विषादीमा जोड दिन थाले ।’ विषादी छरेको केही दिनसम्म तरकारी टिप्न नहुने भए पनि पैसाको लोभमा लापरवाही बढेकाले असर उपभोक्ताको स्वास्थ्यमा परिरहेको भन्दै उनले चिन्ता पनि जनाए ।

वाग्मती नगरपालिकामा मात्र पाँच वर्षयता १ सय ४६ जना क्यान्सर रोगी पालिकाको सम्पर्कमा आएका छन् । तीमध्ये मुटु र ब्लड क्यान्सरपीडित धेरै छन् । नगरपालिकाका स्वास्थ्य संयोजक पदम रायमाझी पनि संख्या अझै बढी हुने अनुमान गर्छन् । लालबन्दीमा गत आर्थिक वर्षमा मात्र ४४ जना क्यान्सरका नयाँ रोगी पालिकाको सम्पर्कमा आए । धेरैजसो तरकारीको व्यावसायिक खेती गरिने क्षेत्रकै छन् ।

बरहथवा नगरपालिकाबाट गत आर्थिक वर्षमा ६३ जना क्यान्सर रोगीले सिफारिस लगेको स्वास्थ्य संयोजक सत्यनारायण यादवले बताए । उनका अनुसार क्यान्सर रोगीमध्ये २८ जना महिला र ३५ जना पुरुष गत वर्षमा थपिए । जिल्लाका स्थानीय तहका स्वास्थ्य शाखाबाट प्राप्त विवरणहरू केलाउँदा तरकारीको पकेट क्षेत्रमा र बजार क्षेत्रमा क्यान्सर रोगीको बढी भएको देखिन्छ । स्वास्थ्य शाखाका कर्मचारीहरू क्यान्सर रोगीको संख्या गाउँमा धेरै भएको बताउँछन् । ‘नेपाल सरकारबाट उपचार खर्चमा एक लाखसम्मको छुटका लागि विपन्नहरूले सिफारिस लगेको तथ्यांक मात्र हाम्रो कार्यालयमा छ,’ हरिवनका स्वास्थ्य संयोजक सिंहले भने, ‘सिफारिस नलिने रोगी पनि छन् ।’

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार रौतहटमा ६५ हजार हेक्टर खेतीयोग्य जग्गा छ । जसमध्ये ३८ हजार १ सय धानखेती र अन्यमा फलफूल, माछापोखरी, नर्सरीलगायत छन् । यी सबै बाली लगाउँदा किसानले रोगको प्रतिरोधका लागि विषादी प्रयोग गर्छन् । कृषि ज्ञान केन्द्रका अनुसार तरकारीको पकेट क्षेत्र मानिने माधवनारायण नगरको ६, ७ र ८ नम्बर वडामा ५० जना व्यावसायिक तरकारी किसान छन् । नगरका जनस्वास्थ्य निरीक्षक राजेश यादव तीन वर्षको अवधिमा यी वडामा १५ जना क्यान्सर रोगी देखिएको बताउँछन् । तीमध्ये तरकारी खेती हुने ६ नम्बर वडाका ६ जना छन् । ‘विषादी प्रयोग गर्ने वडाका मानिसहरू क्यान्सर रोगको समस्या देखिएको छ,’ उनले भने, ‘समयमा सतर्क रहन सकेन भने निकट भविष्यमा ठूलो समस्या निम्त्याउँछ ।’ उक्त नगरपालिकाको वडा १ र ३ तरकारी खेतीको पकेट एरिया होइन । यहाँबाट ३ वर्षको अवधिमा एक जना मात्र क्यान्सरका बिरामीले विपन्नको सिफारिस लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गौरका जनस्वास्थ्य निरीक्षक हरेन्द्र गुप्ताका अनुसार एक वर्षको अवधिमा जिल्लाबाट ७५ देखि १ सयको हाराहारीमा क्यान्सर रोगीले छुटको सिफारिस लगेका छन् । सबैभन्दा धेरै सिफारिस राजपुर नगरपालिकाबाट गएको छ । राजपुरमा व्यावसायिक तरकारी खेती गर्ने धेरै छन् ।

तरकारीमा विषादीको प्रयोग निरुत्साहित गर्न सरकारले २०७१ मा सर्लाहीको उष्णप्रदेशीय बागवानी केन्द्रमा विषादी मापन मेसिन सञ्चालनमा ल्याएको थियो । तर कृषि मन्त्रालयको आदेशमा गत असोजमा उक्त मेसिन महोत्तरीको सदरमुकाम जलेश्वरस्थित खाद्य गुणस्तर मापन तथा नियन्त्रण कार्यालयमा सारियो । केन्द्रका विषादी मापनका प्राविधिक दिनेश यादव मेसिन फिर्ता ल्याउन पहल भइरहेको बताउँछन् । उनले भने, ‘मेसिन आएपछि सर्लाहीमा फेरि विषादी मापनको काम सुरु हुनेछ ।’

आठ वर्षअघि सर्लाहीमा गोलभेंडा र बोडीमा विषादीको मात्रा बढी देखिएको थियो । त्यसयता मात्रा घटेको यादवले बताए । तर गोलभेंडामा प्रयोग घट्न सकेको छैन । ‘उपभोक्ताभन्दा पनि विषादीका कारण किसान नै सबैभन्दा बढी जोखिममा छन्,’ उनले भने । प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवलकिशोर झाका अनुसार घातक विषादी सावधानीबिनै प्रयोग गर्दा रोग प्रतिरोधात्मक क्षमतामा असर पर्छ, साथमा पक्षाघात र क्यान्सर जस्ता गम्भीर रोग पनि लाग्न सक्छ । विषादीको सम्पर्कमा आउँदा तत्कालै रिंगटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, छाला चिलाउने, ग्यास्ट्रिक हुने लगायतका समस्या देखा पर्न सक्ने र बालबालिका र गर्भवती महिलामा बढी असर पर्ने बताए ।

चितवनको बीपी कोइराला क्यान्सर अस्पतालका डा. सुशील अधिकारीले बालीमा लामो समयसम्म विषादी प्रयोग गर्ने किसानको मिर्गौला, पेट, छाला, पिसाब थैली, आन्द्रामा क्यान्सर देखिएको बताए । ‘विषादी प्रयोग गर्दा मास्क, पञ्जा आदि सुरक्षित हुने साधन प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘हामी कहाँ आउने यस्ता समस्याका बिरामीमा खेतीकिसानी गर्ने धेरै छन् । विषादी प्रयोगमा असावधानी गर्नै हुँदैन ।’ सानो गह्रामा धेरै र छिटो उत्पादन चाहिएको छ । त्यसैले रासायनिक मल र विषादी प्रयोगमा नहतारिने किसान विरलै भेटिन्छन् । व्यावसायिक रूपमा खेती गरिएका अन्नदेखि तरकारीका प्रायः सबै बालीमा विषादी प्रयोग हुने गरेको छ । तराईका बस्तीहरूमा कुन बालीका लागि कुन विषादी, कति मात्रामा प्रयोग गर्ने र कसको सिफारिसमा किन्ने भन्नेमा किसानलाई जेटीएको सल्लह लिने फुर्सद छैन । विषादीको व्यापारबाट मनग्गे लाभ कमाउन पल्केका एग्रोभेटहरू आफूखुसी सल्लाह दिन्छन् । विषादीको त बढेकै छ, हानिकारक विषादि खुला सीमाबाट भित्रिएको छ । रौतहटका जेटीए उमेश चौधरीले भेटेरिनरी पसलले बढी मात्रामा भारतबाट, थोरै चीनबाट आयातित विषादी बेच्ने र किसानले बिना कुनै परामर्श कडा विषादी छर्ने प्रवृत्ति बढेको बताए । ‘नेपाल भित्रिनेमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुन्छ, बाँकी अन्य खाद्यबालीमा प्रयोग हुन्छ,’ उनले भने ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै मुलुकमा १ अर्ब ६ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको ७ लाख ८३ हजार ३ सय ४३ किलो विषादी आयात भएको छ । विषादी व्यापारमा संलग्नहरू अनौपचारिक कुराकानीमा सरकारी तथ्यांकमा नदेखिने ठूलो कारोबार अवैध रूपमा भइरहेको बताउँछन् । कृषि ज्ञान केन्द्रका अनुसार सर्लाहीमा मात्रै विषादीको कारोबार गर्न अनुमति लिएका एग्रोभेटको संख्या ८६ छ । तिनैमध्येको एक हो, गरुडा नगरस्थित बीज भण्डार । यसका सञ्चालक मनोज साहले भारत र चीनबाट वर्षमा २० करोडभन्दा बढीको विषादी खरिद गर्दै आएको सुनाए ।

लालबन्दीका एक एग्रोभेट सञ्चालकले किसानबाटै विषादीको माग बढेकाले कारोबार पनि बढेको बताउँछन् । तरकारीको पकेट क्षेत्र रहेको लालबन्दी बजारमा मात्र बर्सेनि ४ करोड बराबरको विषादीको कारोबार हुने गरेको उनले सुनाए ।

विषादीको कारोबार फस्टाउनुका पछाडि कारोबारीहरूले खुद्रा र थोक विक्रेतालाई दिने आकर्षक मुनाफा पनि जिम्मेवार देखिन्छ । केही कृषक एग्रोभेट सञ्चालकहरूले विषादी जबर्जस्ती भिडाउने उपायहरू अपनाइरहेको बताउँछन् । सिसौटियाका हरिश्याम राय एग्रोभेटमा मल लिन गएका थिए । तर विषादी किनेपछि मात्रै मल पाइने भनिएपछि उनले १ हजारको मल लिनका लागि ४ सयको विषादी लिनुपरेको गुनासो पोखे ।

सरकारले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने २१ प्रकारका विषादीमाथि प्रतिबन्ध लगाएको छ । तर भारतसँगको खुला सीमाका कारण प्रतिबन्धित विषादी भित्रिइरहेका छन् । नियमनकारी निकाय सक्रिय नहुँदा बन्देज लागेका विषादीसमेत सजिलै बिक्रीवितरण भइरहेको छ । किसानले तरकारी बालीमा बर्सेनि प्रतिकट्ठा ३ देखि ५ हजार रुपैयाँसम्म विषादीका लागि खर्चिने गरेका छन् । वाग्मती नगर–८ सोल्टीका घनश्याम बलमपाकीले अन्नबालीमा भने २ देखि ३ हजार रुपैयाँ विषादीमा खर्च हुने गरेको बताए ।

लालबन्दीका एक एग्रोभेट सञ्चालकका अनुसार अनुसार युवा मेटिन, क्लोरो साइपर, अल्फा मेथ्रिन, साइपर मेथ्रिन, एसिटामाफ्रिड, एमोडा क्लोरोफिड, थाइमाफोक्सम लगायतका विषादी बढी प्रयोगमा छ । यी विषादी तरकारीदेखि अन्नबाली र उखुमा समेत प्रयोग हुने गरेको छ । विषादीले छालामा विष लाग्ने वा पोल्ने भएकाले सुरक्षात्मक पहिरन लगाउनुपर्ने कृषि प्राविधिकरुले सुझाव दिएका छन् । विषादी प्रयोगले स्नायु प्रणालीमा विकार उत्पन्न हुने, टाउको दुख्ने, रिंगटा लाग्ने र वाकवाकी हुने, जाडो भई पसिना आउने, झाडा, बान्ता हुने लक्षणहरू देखापर्ने चिकित्सक चौधरीले बताए ।

प्रयोगमा जथाभावी

धनकुटा–९ को बेलहारा तथा छथर जोरपाटी गाउँपालिकाको सिधुवा क्षेत्रमा मात्रै पछिल्लो एक वर्षमा क्यान्सर लागेर दुईको मृत्यु भयो भने अर्का एक जना क्यान्सरसँग अन्तिम लडाइँ लडिरहेका छन् । अनौठो त यो छ कि, क्यान्सर लागेको सबैजसो व्यावसायिक तरकारी कृषकहरू हुन् । जिल्लाकै अग्रणी तरकारी उत्पादन क्षेत्र मानिएको बेलहारा र सिधुवामा अघिल्लो वर्ष नेपाल क्यान्सर रिलिफ सोसाइटीले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । त्यसबेला सिधुवा क्षेत्रमा ३० र बेलहारामा २१ जनामा क्यान्सर रोगको लक्षण देखिएका बिरामी फेला परेका थिए ।

सोसाइटीका अध्यक्ष लोकेन्द्र श्रेष्ठ त्यतिबेला धेरै जनामा क्यान्सर पहिचान हुँदा चिकित्सक नै छक्क परेको बताउँछन् । शिविरमा खटिएका भक्तपुर क्यान्सर अस्पतालका डा. प्रभु शाह क्यान्सरका लक्षण भएका बिरामी धेरै भेटिनुलाई सामान्य रूपमा लिन नहुने तर्क राख्छन् । ‘क्यान्सर हुन कारकतत्त्व जरुरी पर्छ । त्यस क्षेत्रमा देखिएको समस्याको मुख्य कारक विषादीको अत्यधिक र असुरक्षित प्रयोग नै हो,’ उनले भने ।

बेलहारा क्षेत्रको हरेक टोलमा पेट, फोक्सो, मिर्गौला, पित्तथैली, कलेजो लगायतमा स्वास्थ्य समस्या भएकाको संख्या अस्वाभाविक रूपमा धेरै देखिएको धनकुटा–९ का वडाध्यक्ष टंक रोइलाले बताए । दुई वर्षमा ४० जनामा क्यान्सर आशंका गरिएकोमा परीक्षण गराउँदा नौ जनामा फोक्सो, पित्तथैली, कलेजोमा क्यान्सर पुष्टि भएको उनले सुनाए । पूर्व वडाध्यक्ष सन्दीप रायमाझी क्यान्सरपीडितमध्ये अधिकांश गोलभेंडा उत्पादक कृषक रहेको बताए । बेलहाराको जाल्पादेवी कृषि सहकारी संस्थामार्फत सिजनमा दैनिक औसत १८ लाख रुपैयाँको गोलभेंडा संकलन हुने अध्यक्ष वीरबहादुर बस्नेतले बताए । सहकारीमा बेलहारा क्षेत्रका मात्र ६ सय गोलभेंडा उत्पादक कृषक समेटिएका छन् । जेठदेखि माघ महिनासम्म गोलभेंडा उत्पादन हुने सिजन हो । त्यहाँका प्रतिकृषकले औसत ४ देखि १२ रोपनीमा गोलभेंडा खेती गर्छन् ।

तर, त्यहाँ उत्पादित गोलभेंडामा अत्यधिक विषादी प्रयोग गरिने गुनासो छ । कृषि प्राविधिकले सिफारिस गरेको विषादीको मात्राभन्दा चौगुना बढी प्रयोग गरिने स्थानीय कृषक नै स्वीकार गर्छन् । kantipurnews

You might also like