मन्त्री हेरफेरको निर्णयले एकीकृत समाजवादीमा विद्रोह, के छ ध्यानाकर्षण पत्रमा ?

0
 

पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो

काठमाडौं : मन्त्री हेरफेरको निर्णयमा नेकपा एकीकृत समाजवादीका मन्त्रीसहित १० सांसदले विद्रोहको संकेत गरेका छन्। सत्तारुढ दल एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका मन्त्री हेरफेर गर्ने निर्णयको विरुद्ध १० सांसद एक ठाउँ उभिएका हुन्।

उनीहरुले उनीहरुले तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गरेका छन्।

ध्यानाकर्षण पत्रमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, पर्यटन मन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ, सांसदहरु कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, निरुदेवी जैरु, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थले हस्ताक्षर गराएका छन्।

पर्यटनमन्त्री आलेले बुधबार मात्रै प्रचण्डसँग भेट गरी पार्टीले मन्त्री फेरे ‘१३ जना सांसदसहित विद्रोह गर्ने’ बताएका थिए। आलेले मन्त्रीबाट हटाइए पार्टी फुटाउने चेतावनी प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि दिएको बताइएको छ।

के छ ध्यानाकर्षण पत्रमा ?

१) आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न सकिन्न ।

२) पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठीक मान्न सकिँदैन ।

३) स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरित पटक-पटक आजै/भोलि नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न ।

४) मन्त्रीहरूले संसदमा बजेटसम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छोड्ने छौं भन्ने प्रतिबद्धतालाई कमजोरी ठानियो, यो व्यवहार प्रति हामी गम्भीर छौं ।

५) प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भीर असहमत छौं ।

६) पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सही मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागिता नभएको, गैह्र सांसद र एकै जिल्लाबाट दुई जना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं ।

७) मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टीम पूरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न जोडदार माग गर्दछौं।

८) यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउनसमेत माग गर्दछौं ।  annapurnapost

You might also like