‘आपत् पर्दा मात्र चीन नसम्झौं’
काठमाडौं : छिमेकी मित्रराष्ट्र चीनसँगको मैत्रीपूर्ण सम्बन्धलाई सन्तुलित राख्दै राष्ट्रिय हितमा प्रयोग गर्न परराष्ट्र विज्ञहरूले सुझाएका छन्। एक चीन नीतिलाई नेपालले समर्थन गरेको र नेपालको हितमा चीनले चासो देखाए पनि कार्यान्वयन अधुरै रहेको उनीहरूले भनाइ छ।
अन्नपूर्ण मिडिया नेटवर्क, अन्नपूर्ण एक्सप्रेसद्वारा आयोजित ‘नेपाल–चीन सम्बन्ध’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले भू–राजनीतिक यथार्थतालाई आत्मसाथ गर्दै राष्ट्रिय सुरक्षाका साथै आर्थिक विकासमा उपयोग गर्नुपर्ने बताए। चीन र नेपालबीच सन् १९५५ अगस्त १ मा औपचारिक रूपमा दौत्य सम्बन्ध स्थापित भएको हो। कूटनीतिक सम्बन्ध स्थापनापछि भू–राजनीतिक सम्बन्धलाई राष्ट्र हितमा उपयोग गर्न राजनीतिक दलहरू चुकेको परराष्ट्र मामिलाका जानकारहरूको भनाइ छ।
त्रिदेशीय सीमा क्षेत्रमा रहेको लिपुलेकबारे कूटनीतिक ढंगले समस्या समाधान गर्नुपर्ने चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतमले बताए। ‘चीनलाई आश्वस्त हुने गरी इमान्दारीपूर्वक कुराहरू राख्नुपर्छ,’ गौतमले भने, ‘हामीलाई दुखेको कुरा भन्दैनौं भने निर्णय प्रक्रियामा आउँदैन। मिडिया र गैरसरकारी संस्थाबाट समाधान हुँदैन। नेपालले आफ्नो नीतिगत प्रभावकारिता बढाउनुपर्छ।’
भू–राजनीति संवेदनशीलताको उपयोग
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इंगेजमेन्टका अनुसन्धान निर्देशक डा. प्रमोद जैसवालले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाका विषयमा बृहत् छलफल गर्नुपर्ने बताए। ‘सरकार र अन्य क्षेत्रको धारणा बीआरआईमा के छ ? कुनै छलफल वा अध्ययन नै भएको छैन। अरूको आँखाबाट हेर्ने र दृष्टिकोण बनाउँदा समस्या हुन्छ,’ उनले भने, ‘सरकारले आफ्नो दृष्टिकोण बनाउनुपर्छ।’
परियोजनामा नेपालले सन् २०१७ को मे १२ मा हस्ताक्षर गरेको थियो। बेल्टअन्तर्गत चीन हुँदै दक्षिण तथा मध्य एसिया र युरोपसम्म सडक तथा रेल कनेक्टिभिटी वा सञ्जालमा जोड दिइएको छ। परराष्ट्र मामिला जानकार गोपाल खनालले चीनसँगको सम्बन्धलाई उपयोग गर्न नसकिएको बताए। ‘चीन र भारतबीच शत्रुतापूर्ण सम्बन्ध मात्र छैन। आपसमा समन्वयको सम्बन्ध पनि छ। छिमेकी वा महाशक्तिसँगको सम्बन्ध र महत्वलाई बेलैमा बुझ्न सकेनौं भने हामी अप्ठ्यारोमा पर्छौ,’ खनालले थपे, ‘कुनै मुलुकसँग सम्बन्ध राख्दा दुनियाँले के भन्छ ? भन्ने प्रश्न होइन। नेपालले आफ्नो चाहनामा ध्यान दिनुपर्छ। कुन चाहनालाई महŒव दिने भन्ने कुराको पहिले पहिचान गर्नुपर्छ।’
चिनीयाँ राष्ट्रपति सी चिनफिङले दुई दिने राजकीय भ्रमणमा नेपाल आएका बेला प्रतिबद्धतालाई उपयोग गर्न नसकिएको खनालले बताए। ‘शक्तिशाली राष्ट्रको राष्ट्रपतिले नेपाललाई ल्यान्डलक्डबाट ल्यान्डलिंक्ड (भू–जडित) बनाउन सहयोग गर्छौं भन्नु चानचुने कुरा हो र ? त्यसको फलो अप (अनुगमन) कहाँ भयो ?,’ उनले प्रश्न गरे, ‘हाम्रो प्राथमिकतामा किन परेन ?’
२०७६ असोजको अन्तिम साता नेपाल आएका सीले होटल सोल्टीमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै सीले नेपाललाई भूपरिवेष्ठितबाट भू–जडित राष्ट्रमा रूपान्तरण हुने सपना साकार तुल्याउन चीनले सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
समानान्तर सम्बन्ध आवश्यक
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इंगेजमेन्टका अनुसन्धान निर्देशक डा. प्रमोद जैसवालले राजा महेन्द्रको पालादेखि हालसम्म सत्तारुढ पार्टीले ‘थ्रेट’ महसुस भएको बेला मात्र चीन सम्झने गरिएको बताए। उनले भने, ‘मुलुकमा गणतन्त्र स्थापना पनि चीनले राजनीतिक दलसँग सम्बन्ध स्थापित गरेको हो। ’ annapurnapost