सस्तोमा गहुँ बिक्री गर्न बाध्य सुदूरपश्चिमका किसान
धनगढीः उत्पादन घटेर निराश सुदूरपश्चिमका किसान सस्तोमा गहुँ बिक्री गर्न बाध्य भएका छन्।
नेपाल सरकारले समर्थन मूल्य निर्धारण नगर्दा सस्तोमा गहुँ बिक्री गर्न किसान बाध्य भएका हुन्। गत वर्षका लागि २०७७ फागुन २० गतेको मन्त्रिपरिषद बैठकले गहुँको मूल्य निर्धारण गरेकोमा योपटक अझै मूल्य तोकिएको छैन।
गहुँको समर्थन मूल्य निर्धारण नभएकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अझै गहुँ खरिदको प्रक्रियासमेत सुरु नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीकी प्रमुख एन्जिला बस्नेतले बताइन्।
उनले भनिन्, ‘हामीले गहुँ खरिद गर्न थालेका छैनौ। माथिबाट परिपत्र आएको छैन। मूल्य पनि निर्धारण भएको छैन।’ नेपाल सरकारले गत वर्षका लागि तीन हजार एक सय ११ रुपैयाँ प्रति क्विन्टल गहुँको मूल्य निर्धारण गरेको थियो।
तर आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारले मूल्य निर्धारण नगरेको हो। गहुँको मूल्य निर्धारणका लागि उद्योग, वार्णिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्नुपर्ने हो।
तर मन्त्रिपरिषदमा फाइल गए–नगएको बिषयमा मन्त्रालयका अधिकारी अनभिज्ञ छन्। उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डाक्टर नारायणप्रसाद रेग्मीले मन्त्रालयमा छलफल भएको तर मन्त्रिपरिषदमा पठाएको बिषयमा जानकारी नरहेको बताए।
कैलाली–कञ्चनपुरका किसानले गत वर्ष निर्धारण गरिएको मूल्य पनि पाएका छैनन्। यसपटक सरकारले गहुँ खरिदको कुनै छाटकाट नदेखेपछि किसानहरु उद्योग तथा मिलहरुमा गहुँ बिक्री गर्न थालेका हुन्।
सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता गोकुल बोहराले प्रदेश सरकारसँग गहुँ खरिदको कुनै योजना नरहेको बताए। कैलाली र कञ्चनपुरका किसानले गहुँ भित्र्याएका छन्।
कैलाली र कञ्चनपुरमा यो पटक गहुँको उत्पादन घटेको छ। कैलालीमा ३४ हजार पाँच सय ६५ हेक्टरमा गहुँ खेती गरिएकोमा एक लाख तीन हजार चार सय ७१ मेट्रिक टन मात्र उत्पादन भएको छ। प्रदेशमा झण्डै १२ प्रतिशतले गहुँ उत्पादन घटेको छ। dineshkhabar