बर्दघाट–११ भगजोगनीका स्थानीयको खुट्टाको अप्रेसन गर्दा निधन भएपछि अस्पताल घेराउ

0

बर्दघाट – बर्दघाट–११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको खुट्टाको अप्रेसन गर्दा निधन भएको छ । बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको अप्रेसन गर्दा उहाँको निधन भएपछि न्यायको माग गर्दै आफन्तहरुले अस्पताल घेराउ गरेका हुन् ।
उनीहरुले डाक्टरको लापरवाही भएको भन्दै अस्पताल घेराउ तथा नाराबाजी गरेका छन् । मृतकका आफन्तहरुले घटनाको छानवीन, दोषीलाई कारवाही र क्षतिपुर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन् । मृतकका आफन्तले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार सांझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो । ताराप्रसादको डा. योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेको जनाइएको छ । ३–४ घण्टामा अप्रेसन सकिन्छ भनिएको तर राति ११ बजे मात्रै अप्रेसन थियटरबाट निकालेर आईसीयूमा लैजान खोजेपछि शंका लागेर सोध्दा अवस्था नर्मल छ आत्तिनुपर्दैन भनेका र फेरि ५ बजेतिर बोलाएर अवस्था सिरियस छ भेन्टिलेटरमा राखेर हेरौं भनेको केहीबेरमै मामाको मृत्यु भएको हेमलालले बताउनुभयो ।
४ वर्ष अघि दुर्घटनामा खुट्टा भांचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएकोमा रडको नट भांचिएपछि अप्रेसन गर्न भर्ना भएको आफन्तहरुको भनाई छ ।
उपचार अघि गरिएको एक्सरेमा रड भांचिएको नदेखिएको तर पछि रड भांचिएको भनिएको हेमलालले बताउनुभयो ।
बर्दघाटका स्थानीय गजेन्द्र चौधरीका अनुसार क्षतिपूर्ति बारे अहिले अस्पताल प्रशासनसंग वार्ता जारी रहेको छ ।

 

You might also like