बोटैमा ओइलाउँछ लालीगुराँस

0

हाडी जंगल । ढकमक्क लालीगुराँस ।

यो दृश्य डडेल्धुरा अमरगढी नगरपालिकाको हो । सदुपयोग नहुँदा करोडौंको लालीगुराँस खेर गइरहेको छ । जंगलमा फुलेको लालीगुराँस फुल जंगलमै सुकेर खेर जाने गरेको हो । यहाँका प्रायः वनमा लालीगुराँस ढकमक्क फूल्ने गरेको छ । फुल सदुपयोग हुन नसक्दा रुखमै सुकेर जान थालेको छ ।

केही वर्षअघि डडेल्धुरामा लालीगुराँसको जुस बनाउन सुरु गरिएको थियो । तर, बजार व्यवस्थापन हुन नसक्दा जुस उत्पादन बन्द भएपछि करोडांै मूल्यबराबरको लालीगुराँस जंगलमै खेर जान थालेको हो ।

डडेल्धुरालगायत देशभरका वनभरि फूलेको लालीगुराँस फूल उचित उपयोग हुन नसक्दा कुहिएर खेर गइरहेको छ । लालीगुराँस फूलबाट उत्पादन हुने जुस मानव स्वास्थ्य र विभिन्न रोग निदानमा फाइदा पुग्ने भनिए पनि सदुपयोग नहुँदा लालीगुराँस कुहिएर खेर गइरहेको छ ।

जिल्ला सदरमुकामस्थित ऋषि खोला सामुदायिक वनले तत्कालीन जिल्ला वन कार्यालय डडेल्धुरासँगको सहकार्यमा लालीगुराँसको जुस उत्पादन गरेको थियो । तर, दुई समूहबीच विवाद भएपछि जुस उत्पादन कार्य बन्द भएको छ ।

प्रचारप्रसार हुन नसक्दा पर्यटकसमेत आउन सकेका छैनन् । वनभर लालीगुराँस फूलेर पर्यटकलाई लोभ्याउने भए पनि प्रचारप्रसार हुन नसक्दा आन्तरिक पर्यटक लालगुँराससँग रमाउन सकेका छैनन् । विशेषगरी सदरमुकाम क्षेत्रका विभिन्न वनसहित उच्चलेकाली भागमा लालीगुराँस ढकमक्क फुल्ने गरेको छ ।

लालीगुराँसलाई नेपालको ‘राष्ट्रिय फूल’को रूपमा २०१९ सालमा मान्यता दिइएको हो । नेपालको संविधान २०७२ ले पनि लालीगुराँसलाई ‘राष्ट्रिय फूल’को मान्यता दिएको छ ।

नेपालको निशान छापमा समेत लालीगुराँसलाई समावेश गरिएको छ । नेपाली रुपैयाँ पाँच सय र एक हजारको नोटमा पनि लालीगुराँस अंकित छ । राष्ट्रिय फूल भएका कारण लालीगुराँस धेरै पटक हुलाक टिकट तथा हुलाक वस्तुमा प्रकाशन भइसकेको छ । अंग्रेजीमा ‘रोडोडेनड्रन’ भनिने यो मनमोहक फूल विभिन्न प्रजातिमा संसारभर पाइन्छ ।

हालै, प्रकाशित कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँस पुस्तकमा नेपालमा ३३ प्रजातिका गुराँस पाइने उल्लेख छ । विश्वमा लालीगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य पाँच गुराँस पाइन्छन् ।

समुद्री सतहबाट गुराँस १ हजार ३ सयदेखि ४ हजार ६ सय मिटर उचाइमा पाइने यो फूल वसन्त ऋतुमा फुल्छ । लालीगुराँस साधारणतया माघ–फागुनदेखि वैशाख–जेठसम्म फूल्ने गर्छ । तर, छिटो फूल्ने ठाउँमा पुसमा पनि फूलेको देखिन्छ ।

यो पूmल हेर्नमा जति राम्रो छ, उत्तिकै गुणकारी पनि छ । आयुर्वेद औषधिमा गुराँस फूल प्रयोग हुँदै आएको छ । रातो रङको गुराँस पोषक तत्वले भरिपूर्ण मानिन्छ भने यसको जुस कलेजो, मिर्गौलाजस्ता समस्यामा निकै उपयोगी हुन्छ । हृदय रोगलगायत केही गम्भीर रोगमा गुराँसको जुस सेवन गर्नु लाभदायक मानिन्छ । यसको जुसले हड्डी दुखाइ र उच्चरक्तचापमा फाइदा पु¥याउँछ । गुराँस एउटा मौसममा मात्र पाइने भएकाले अन्य बेला प्रयोग गर्न सुकाएर राख्न सकिन्छ । गुराँस घरको मूलढोकामा सजाउँदा ‘नकारात्मक ऊर्जा भित्रिँदैन’ भन्ने मान्यता छ ।rajdhanidaily

You might also like