जनगणनाको विस्तृत तथ्याङ्क असोजभित्र सार्वजनिक गरिने
काठमाडौं, फागुन २६ गते । केन्द्रीय तथ्याङक विभागले २०६८ को जनगणनाको विस्तृत विवरण असोज भित्र सार्वजनिक गर्ने गरी काम अघि बढाएको छ । विभागले तथ्याङक प्रसोधनको काम द्रुत गतिमा अघि बढाएकाले आउने असोजभित्र विस्तृत तथ्याङ्क सार्वजनिक गर्ने लक्ष्य राखेको विभागको तथ्याङ्क शाखा प्रमुख डुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।
विभिन्न क्षेत्रको डाटा प्रसोधनको काम चलिरहेकाले विस्तृत विवरण दिन नसक्ने जनाउँदै उहाँले असोज महिनासम्म पर्खनुपर्ने बताउनुभयो । विभागले जनगणनाको संक्षिप्त तथ्याङ्क माघ १२ गते सार्वजनिक गरेको थियो । तथ्याङ्कमा जनसंख्या वृद्धिको लक्ष्यभन्दा करिव १२ लाखभन्दा बढीले जनसंख्यामा कमी आएको थियो ।
विभागले २०६८ पछि ३८ लाख ८३ हजार ५५३ ले वृद्धि भई तीन करोड तीन लाख ७८ हजार ५५ जनसंख्या पुग्ने अनुमान गरेको थियो । तर सार्वजनिक गरिएको तथ्याङ्कमा २६ लाख ९७ हजार ९७६ ले मात्र जनसंख्या वृद्धि भएर हाल नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
२० वर्षको अनुपात अर्थात २०५८ साल देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा १.३२ प्रतिशतले जनसंख्या वृद्धि दरमा कमी आएको छ । २०५८ सालमा २.२५ र २०६८ सालमा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेको थियो तर २०७८ मा भने ०.९३ प्रतिशतमा सिमित भएको छ । २०५८ मा नेपालको जनसंख्या दुई करोड ३१ लाख ५१ हजार ४२३ थियो भने २०६८ सालमा दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो ।
संक्षिप्त तथ्याङ्कअनुसार अझै पनि पुरुषको भन्दा महिलाको जनसंख्या छ लाख नौ हजार ८५८ ले बढी छ । तथ्याङ्कनुसार एक करोड ४९ लाख एक हजार १६९ महिला र एक करोड ४२ लाख ९१ हजार ३११ पुरुष रहेको छ ।
त्यसैगरी, यस वर्ष विभागले विदेशमा रहेका नेपालीको तथ्याङ्क समेत सार्वजनिक गरेको छ, जसमा २१ लाख ६९ हजार ४७८ जना नेपाली विदेशमा बसोबास गर्दै आएका छन् । विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ ।gorkhapatra