जेठो रानीपोखरीको पुनर्जन्म

0

 

भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हाताभित्र रहेको रानीपोखरीका बारेमा संरक्षणको काम सुरु हुनुअघिसम्म धेरैलाई थाहा थिएन । २०४० मा सैन्य तालिम केन्द्रका लागि सरकारले पोखरी आसपासका सार्वजनिक र सर्वसाधारणको जग्गासमेत अधिग्रहण गरेको थियो । पोखरी १५ रोपनी ५ आना २ पैसा क्षेत्रफलमा छ । नगरपालिकाले क्रमागत रूपमा चार चरणमा बजेट पारेर रानीपोखरीको जीर्णोद्धार गरेको जनाएको छ । पोखरी निर्माणका लागि नगरपालिकाले २ करोड ७५ लाख ९५ हजार लागत इस्टिमेट गरेको थियो । स्थानीय श्यामसुन्दर बाटी संयोजकत्वको उपभोक्ता समितिले २ करोड ५४ लाख ८३ हजारको लागतमा पोखरी जीर्णोद्धार गरेको छ । पोखरी जीर्णोद्धारका क्रममा २२ टोलीका ८ सय ८४ जनाले श्रमदान गरेका छन् ।

इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको रानीपोखरी काठमाडौंको भन्दा ४० वर्ष पुरानो रहेको प्रमाण भेटिएको छ । राजा प्रताप मल्लले नेपाल संवत् ७९० अर्थात् विसं १७२७ मा बनाएको काठमाडौंको रानीपोखरी, नेपाल संवत् ७६७ (विसं १७०४) मा राजा सिद्धिनरसिंह मल्लको पालामा बनेको ललितपुरको रानीपोखरी (न्हुः पुखु) र राजा जनज्योति मल्लले नेपाल संवत् ७५० (विसं १६८७) मा भक्तपुरको रानीपोखरी (न्हुः पुखु) बनाएको पाइएको छ ।

मल्लकालीन कान्तिपुरका राजा प्रताप मल्लले भक्तपुर आक्रमण गर्दा पोखरीमा आक्रमण गरेको पाइएको इतिहासविद् डा. श्रेष्ठ बताउँछन् । ‘प्रताप मल्ल चाँगु हुँदै भक्तपुरको उत्तरतिरको महाकाली पीठसम्म आक्रमण गर्दै आए । तर, भक्तपुरको पर्खालबाट भित्र छिर्न सकेनन् । त्यहाँ मजबुत गढ थियो । उत्तरबाट नसकेपछि भक्तपुरको पश्चिममा रहेको रानीपोखरीबाट आक्रमण गरेका थिए,’ उनले भने, ‘प्रताप मल्लले सुन्दर पोखरी बिगारे । यहाँका सुन्दर कलाकृति उठाएर हनुमानढोका दरबारमा सजाउन लगे ।’ भक्तपुरमा लगातार आक्रमण गरेका प्रताप मल्लले पोखरीका कलाकृति लैजानुले आफ्नो सहरमा त्यसपछि रानीपोखरी बनाएको सहजै अनुमान गर्न सकिने उनी बताउँछन् । भक्तपुरका भाजु पोखरी, सिद्धपोखरी, रानीपोखरी देखेपछि प्रताप मल्लले आफ्नो दरबारको पूर्वमा रानीपोखरी बनाएको उनको दाबी छ ।

आक्रमणबाट भताभुंग भएको रानीपोखरीलाई ललितपुर र काठमाडौंका राजालाई पनि बोलाएर जीर्णोद्धार गरिएको इतिहासमा उल्लेख भएको जनाइएको छ । जगज्योति मल्लले नगरको शोभा बढाउन, राज्यको प्रतिष्ठा कायम राख्न, संस्कृति जीवन्त बनाउन र जल भण्डारण गर्न पोखरी बनाएको पाइएको नगर उपप्रमुख एवं आर्किटेक ई. रजनी जोशी बताउँछिन् ।

पोखरी बनाउनुमा राजनीतिक र कूटनीटिक कारणसमेत पाइएको इतिहासविद् डा. श्रेष्ठको भनाइ छ । भक्तपुर प्रवेश गर्दा होस् वा बाहिरिँदा यही पोखरी हुँदै जानुपर्छ । ‘त्यति बेला तीनवटै मल्ल राजा र कूटनीटिक व्यक्ति भेट गर्नुपरेमा रानीपोखरीमा भेट गर्ने चलन थियो,’ उनले भने, ‘त्यसैले यो पोखरी राजनीतिक, कूटनीतिक, धार्मिक, सांस्कृतिक रूपमा महत्त्वपूर्ण छ ।’

पोखरीको दक्षिण दिशाबाहेक चारैतिर प्रशस्त दिगु द्यो (देवता) छन् । अक्षय तृतीयाका दिन भक्तपुरका स्थानीयवासी सिद्धपोखरी र रानीपोखरीमा भेला भएर देवाली मनाउने गर्दछन् । सेनाले स्थानीय देवाली पूजाबाहेक अन्य समयमा सर्वसाधारणलाई पोखरी प्रवेशमा रोक लगाउँदै आएको थियो । म‌ंगलबारबाट सर्वसाधारणका लागि रानीपोखरी प्रवेश खुला गरिएको समेत जनाएको छ ।

नगरभित्रका पोखरीमध्ये सबैभन्दा सुन्दर भएकै कारण रानीपोखरी नामकरण भएको मानिन्छ । प्रताप मल्लले आक्रमण गर्दा क्षति पुगेको पोखरी नेपाल संवत् ७९८ (विसं १७३५) मा जितामित्र मल्लले जीर्णोद्धार गरेपछि ‘न्हुः पुखु’ नामले पनि रानीपोखरीलाई चिनिन थालेको श्रेष्ठले बताए ।

रानीपोखरीको उद्घाटन नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले गरे । भक्तपुर दूधपाटीबाट सांस्कृतिक र्‍यालीसहित पोखरी आइपुगेका नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, प्रदेशसभा सदस्यहरू सुरेन्द्रराज गोसाईं, सिर्जना सैंजु, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग, इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठ, विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायतले भक्तपुर नगरपालिकाको कामको प्रशंसा गरेका छन् । साँझ रानीपोखरी परिसरमा दीपावली गरिएको थियो । नगरपालिकाले रानीपोखरी परिसरमा ३ फल्चा (पाटी) र ४ वटा प्रवेशद्वार निर्माण गरेको छ ।kantipurnews

 

You might also like