पानी पर्दा खाट सार्दै बित्छ एरपाेर्टका प्रहरीको रात

0

बझाङ : जिल्ला सदरमुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य छन्।हरेक विमानस्थलको सुरक्षामा खटिएका प्रहरी बस्ने भवनमा बर्खाको भेल पस्नुका साथै रात बिताउनै सकस छ। ‘बर्खा लाग्ने बितिकै चुहिने, तथा हावा लागेको बेला ढुंगा खस्ने डर लाग्छ’ प्रहरी नायव निरिक्षक सुन्दर सिंह धामीले सुनाए,‘पानी पर्दा थाल कचौरा समातेर रातभर चुहिने ठाउँमा डिउटी गर्नु पर्छ। कहिले त निदाएको बेला पानीले ओछ्यान नै भिजेको हुन्छ।’

भिजेको लुगा ३–४ दिन सम्म लुगा नसुकेपछि कति रात त लुगाबिना सुत्नु परेको धामीले बताए। पुरानो भएको भान्साघरको टिन छियाछिया छ। पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ। नागरिकको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित छन्। पाखाबाट माटो, कुहिएको काठ उप्केर जिउमै खस्छ।

एकतले भवन सामान्य वर्षा हुँदा पनि चुहिन्छ। पानी पर्न थाल्यो कि रातभर खाट सार्दै सुत्नुपर्ने बाध्यता छ। ‘वर्षाको पानी ओछ्यानमा चुहिन्छ। बेलाबेला विषालु सर्प भित्रै आइपुग्छन्। राति निदाउनै सकिदैन।

माथिबाट ढुंगा खस्ने डरले रातभर जाग्राम बस्नु परिरहेको प्रहरी जवान गोविन्द प्रसाद जोशीले सुनाए। जोशीले भने,‘वाल भत्केर टिनको वाल  हालेको छ, बाँकी रहेको वाल पनि कुन बेला झर्ने हो थाहा छैन’ जोशीले भने,‘बर्षा हुँदा सुत्न त के खानासमेत राम्ररी खान पाइँदैन।’

भान्सामा पानी भरिभराउ हुन्छ। झ्याल नभएकाले गर्मीमा खलखल्ती पसिना चुहिन थाल्छ। मुसाले प्रहरीको युनिफर्म काट्नु त सामान्य जस्तै भइसकेको छ। हावाहुरी आउँदा घरसँगै उडाउने चिन्ता छ।

देवल विमानस्थल सुरक्षा समितिले विमानस्थल सुरक्षा गार्डमा खटिएका प्रहरी बस्ने जीर्ण भवनको विषयमा नेपाल नागरिक उड्यान प्राधिकरणलाई जानकारी गराएको जनाएको छ। १५ जनाकाे दरबन्दी रहेकाे विमानस्थलमा ११ जना मात्र कार्यरत छन्।

Thaha khaber

You might also like