बर्दघाट–१३ पनईमा सामुदायिक माछापालन शुरु
" पोखरीको संरक्षण एंव समुदायलाई उत्पादनमा जोड्ने अभिप्राय"
पुष्पा गिरी
बर्दघाट ४ जेठ – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सामुदायिक पोखरीहरुमा माछापालन कार्यक्रम शुरु गरेको छ । सामुदायिक पोखरीको संरक्षण एंव समुदायलाई उत्पादनमा जोड्ने अभिप्रायले नगरले सामुदायिक माछापालन कार्यक्रम शुरु गरेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
फोटो सौजन्य जि.आर भट्टराई/रमेश पाण्डेय
पोखरी तालतलैया र सिमसारमा माछापालनका लागि नगरले ३ लाख रुपैया बजेट समेत प्रबन्ध गरेको छ । उक्त योजनाअन्तरगत मंगलवार बर्दघाट–१३ पनईस्थित ३ बिघा १४ कठ्ठा क्षेत्रफलको सामुदायिक पोखरीमा माछाका भुरा हाल्ने कार्यक्रम सम्पन्न गरिएको नगर प्रमुख बस्यालले बताउनुभयो ।
फाईल तस्बिर
बर्दघाट नगरपालिका पशुपंन्छी तथा मत्स्य विकास अधिकृत भरत लम्सालका अनुसार सामुदायिक पोखरीमा माछा उत्पादन गरी समुदायकै लागि आयआर्जन गर्ने उद्धेश्यले कार्यक्रम संचालन भइरहेको हो । आज शुरुको दिन भएकोले २० केजी भुरा छोडिएको छ – उहाँले भन्नुभयो – एक क्विन्टल भुरा दिने कार्यक्रम हो । अब कार्यक्रम विस्तार गर्दै जान्छौ ।नगरले समुदायलाई कमन कार्प , सिल्भर कार्प, बिगहेड कार्प , रहु र नैनी जातका भुरा दिने कार्यक्रम रहेको लम्सालले बताउनुभयो ।
कार्यक्रमबाट पोखरी संरक्षणका साथै भुराबाट उत्पादित माछा बिक्रीबाट आएको आम्दानी स्थानीय समुदाय र युवा कल्बहरुको हुने भएकोले समुदायको आयबृद्धि हुने लम्सालको विश्वास छ ।यसैबर्ष बुद्धमंगलतालमा पनि १ क्विन्टल भुरा दिने कार्यक्रम छ – लम्सालले भन्नुभयो –गतबर्ष बाउन्न घोला सिमसारमा भुरा छोडिएको थियो ।