प्रदेश ५ मा लकडाउनमा पनि रोकिएन किशोरी ओसारपसार

0

भदौ ३१ ।

प्रदेश ५ का सिमावर्ती जिल्लाहरूमा अकडाउनमा पनि किशोरी ओसारपसार गरेको पाइएको छ । लकडाउनयता रूपन्देहीमा प्रहरीको सहयोगमा १९ महिलालाई भारत जानबाट रोकिएको र तीन जनालाई भारतबाट उद्धार गरेर ल्याइएको माइती नेपाल रूपन्देहीकी प्रमुख माया क्षत्रीले बताउनुभयो । २०७६ चैतदेखि भदौसम्म १ सय ७० महिलाको उद्धार गरिएको उक्त संस्थाले जनाएको छ ।

बन्दाबन्दी खुल्नेबित्तिकै ओसारपसार अझ ह्वात्तै बढ्न सक्ने क्षत्रीको अनुमान छ । २०७२ सालको भूकम्पलगत्तै ३ सय ५० भन्दा बढी महिलाको उद्धार गरेको स्मरण गर्दै उहाँले महामारीपछि त्यस्तै स्थिति दोहोरिन सक्ने चिन्ता व्यक्त गर्नुभयो । त्यसैले माइती नेपालले निगरानीका लागि बिहान १० देखि राति १० बजेसम्म सीमामा कर्मचारी खटाउने तयारी थालेको क्षत्रीको भनाई छ ।

प्रदेश ५ प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ मा प्रदेशका फरकफरक नाकाबाट विभिन्न बहानामा भारततर्फ लैजान लागिएका २३ महिलालाई उद्धार गरिएको थियो । विवाह, शिक्षा, विदेश लैजाने, औषधोपचार आदिको प्रलोभन देखाई बर्सेनी महिला ओसारपसार भइरहेको प्रदेश ५ प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।

यसरी प्रलोभनमा पर्ने सबैभन्दा धेरै १६ देखि २५ वर्षसम्मका रहेको भन्दै उनले रोजगारी पाउने आशाले धेरै जाने गरेको पाइएको बताउनुभयो । लकडाउनकै अवधिमा प्रहरीमा मानव बेचबिखन तथा ओसारपसारका सातवटा उजुरी परेको उहाँले बताउनुभयो ।

अहिले बेचबिखनका घटनामा कमी देखिनुमा सीमा सिल, होटल बन्द, प्रहरी परिचालन कारण भएको बैदवारको भनाई छ । यो अवस्था सामान्य लागे पनि भविष्यमा चुनौती थपिने चिन्ता रहेको भन्दै त्यसैले समुदायस्तरमा चेतनामूलक कार्यक्रम, सीमामा खटिएका प्रहरीलाई थप प्रशिक्षण दिन थालेको बैदवारले बताउनुभयो । kantipur dainik

You might also like