चिसापानीको जग्गा सार्वजनिक सम्पतिका रुपमा स्थापित गर्न ६ दलले संर्घष गर्ने

0

नवलपरासी १९ भदौ – बर्दघाट नगरपालिकामा क्रियाशिल ६ दलको शुक्रवार भएको संयुक्त बैठकले बर्दघाट–२ चिसापानी ढेडारीफाँटको जग्गा सार्वजनिक बनाउन संर्घष गर्ने निर्णय गरेको छ । विहीवार नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिले उक्त जग्गा कब्जा गरेको थियो । नेपाली काँग्रेस बर्दघाट नगर कार्य समितिका सभापति शम्भुलाल श्रेष्ठले नगरमा क्रियाशिल सत्तारुढ दल बाहेकका ६ दलको बैठकले ८ बिगाहा १२ कट्ठा २ धुर जग्गा सार्वजनिक गर्न संर्घषका कार्यक्रम गर्ने निर्णय गरेको बताउनुभयो ।
नेपाली काँग्रेस, नेकपा (क्रान्तिकारी माओवादी ) , जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी राष्ट्रिय जनमोर्चाको बैठक भएको थियो । दलहरुबीच उक्त जग्गालाई सार्वजनिक सम्पतिको रुपमा राख्नका लागि सहमति भई सो अनुरुप कार्यक्रम गर्ने निर्णय भएको क्रान्तिकारी माओवादीका नगर सेक्रेटरी रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँले बैठकमा क्रान्तिकारी माओवादीले जग्गामा गाडेको झण्डा तथा ब्यानर प्रहरी प्रशासनबाट फ्याक्ने कार्य गरिएको प्रति निन्दा समेत ब्यक्त भएको बताउनुभयो । त्यस्तै बैठकले यस मुद्धामा सहमत हुने दल तथा बिभिन्न संघसस्था एंव ब्यक्तिहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने समेत निर्णय गरेको छ ।

You might also like