चुनावको चक्रब्युह होइन,संसदीय व्यवस्था अन्त्य गर्नुपर्छ : किरण
लालमार्च प्रदर्शनलाई विशेष सम्बोधन
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले मंगलबार गरिएको लालमार्च प्रदर्शनलाई विशेष सम्बोधन गर्नुभएको छ । उहाँले गर्नुभएको सम्बोधनको महत्वपूर्ण अंशलाई यहाँ प्रस्तुत गरिएको छ ।
“माओ दिवसको अवसरमा म माओलाई स्मरण गर्न चाहन्छु । माओले माक्र्सवाद–लेनिनवादको विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । विश्व सर्वहरावर्ग र उत्पीडित जनमुदायको, उत्पीडित राष्ट्रियताहरुको मुक्तिका लागि माओले संघर्ष मात्रै गर्नुभएन, माक्र्सवाद–लेनिनवादमा थप विकास गरेर त्यसलाई अझ समृद्ध पार्नुभयो । र, माक्र्सवाद–लेनिनवाद–माओवादको विकास भएको छ । यही सिद्धान्तको आलोकमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढिरहेका छौं । म के भन्न चाहन्छु भने माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकलाई अबलम्बन गरेर सिद्धान्तको विकास गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न प्रतिबद्ध रहनेछौं । र, विश्व क्रान्तिको सेवा गर्न पनि प्रतिबद्ध रहनेछौं ।
माओका विचार वा योगदान सबै शोषित पीडित जनसमुदायको मुक्तिको लागि हो । यो सिद्धान्तलाई नेपालका कम्युनिस्टहरुले अवलम्बन गर्दै आएका छन् । विगतमा यही विचार र सिद्धान्तलाई अवलम्बन गरेका हामीहरु जो झापा विद्रोह हुँदै दशवर्ष जनयुद्धको प्रक्रिया हुँदै अगाडि आयौं, एकथरि साथीहरु सत्तामा, सरकारमा हुनुहुन्छ र अर्काथरि साथीहरु प्रतिपक्षमा हुनुहुन्छ ।
माक्र्सवाद–लेनिनवाद–माओवाद कम्युनिस्टहरुको मात्रै सिद्धान्त होइन, उत्पीडित जाति जनजाति सबैको हो । सत्ता र प्रतिपक्षमा बसेकाहरुले पनि मान्दै आएका हुन् । उनीहरुले पनि यस्तै झण्डा फहराउँदै आएका हुन् । आजको यो दिनले सबै उत्पीडित प्रहरी, कर्मचारी, सत्तामा रहेका, सत्ताभन्दा बाहिर रहेका शोसक सामन्त, फटाहा दलाल बाहेक सबैको मुक्ति गर्ने सिद्धान्त हो । यो सिद्धान्तप्रति विश्वस्त हुन जरुरी छ ।
माओले युवाहरुको सन्दर्भमा भन्नुभएको थियो– ‘यो देश तिम्रो पनि हो, हाम्रो पनि हो । तर अझ बढी तिमीहरुकै हो । बुढाहरुको तुलनामा युवा भर्भराउँदो उर्जा हो । विहानको ८÷९ बजेको सूर्यजस्तै तपाई युवाहरु हो । तपाईहरुको भविष्य उज्वल छ । क्रान्तिलाई सम्पन्न गर्ने काममा पनि उमेर, शक्ति र साहसका हिसाबले तपाईहरु नै सक्षम हुनुहुन्छ ।’ युवा साथीहरुले माओको यो भनाइमाथि विशेष जोड दिनुहुनेछ भन्ने आव्हान गर्न चाहन्छु ।
आज पुरानो सत्ता, व्यवस्था छ । दलाल पुँजीपति, नोकरशाही पुँजीपति र सामन्त वर्गीय राज्यसत्ता अझै छ । शासनसत्तामा अहिलेको संसदीय व्यवस्था छ । शोषण, दमन र उत्पीडनका मूलभूत रुपहरु कुनै बदलिएका छैनन् । सुरुमा कांग्रेसले संसदीय व्यवस्थालाई आफ्नो व्यवस्था भन्थ्यो वा ठान्थ्यो । मुलत ः संसदीय ब्यवस्था काँग्रेसहरुकै ब्यवस्था हो । झापा विद्रोहका साथीहरु र महान जनयुद्धमा सामेल एउटा हिस्सा सत्तामा गएर कांग्रेसीहरुको भाग खोसेर उनीहरुले संसदीय व्यवस्था त हाम्रो पो व्यवस्था हो त भन्न थालेका छन् । हामी नै यसका संरक्षक हौं भन्न थाले । यो सत्ता, व्यवस्था र संविधानबाट जनताको मुक्ति हुनेवाला छैन ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु अत्यन्तै विकराल बनेर गएका छन् । हिजो राष्ट्रिय स्वाधीनताको कुरा गर्नेहरु भारतले लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्र मिच्दा पनि आज चुपचाप छन्, बोल्दैनन् । हिजो अमेरिकी साम्राज्यवाद भनेर विरोध गर्थे, अमेरिकी साम्राज्यवाद नेपालमै आएर हिन्द प्रशान्त रणनीतिको अंगको रुपमा एमसीसी ल्याएपछि पनि सबै जनताले संसदबाट पास गर्नुहुन्न भन्दाभन्दै संसदबाट अनुमोदन गराएका छन् । स्वाधीन राष्ट्रिय अर्थतन्त्रको पनि कुरा गर्थे, तर विदेशीहरुलाई पोस्ने नवउदारवादी अर्थतन्त्र अँगालेर देशलाई तहसनहस पार्ने काम भइरहेको छ । त्यसकारणले हिजोको शोसक फटाहाहरु र अहिलेका नयाँ हिजोका कम्युनिस्ट साथीहरुमा सारतः केही फरक पाइँदैन । उस्तै भएका छन् ।
युवाहरु विदेशिन बाध्य भएका छन् । नेपाली जनताहरु रोग, भोक, मिटरब्याजी शोषणलगायतबाट अत्यन्तै शोषित पीडित बनिरहेका छन् । त्यसकारणले अब यो व्यवस्था चल्दैन। यो यथास्थितिवाद संसदवाद हो । हामीले यो राज्यसत्ता र साथसाथै यो संसदीय व्यवस्थाको पनि अन्त्यका निम्ति संघर्ष गर्न जरुरी छ ।
यही स्थितिको फाइदा उठाउँदै केही राजावादीहरु पनि चलमलाउने गरेका छन् । उनीहरु यो संसदीय व्यवस्था अन्त्य गरेर निरंकुश राजतन्त्र ल्याउनुपर्छ भनेर लागिरहेका छन् । हामी संसदीय व्यवस्था राख्नुपर्छ र निरंकुश राजतन्त्र फर्काउनुपर्छ भन्ने यी दुवैका विरुद्धमा छौं । संसदीय व्यवस्थाबाट देश अगाडि बढ्न सक्दैन र निरंकुश राजतन्त्रबाट पनि देश र जनताको भलो हुन सक्दैन । हाम्रो धारा भनेको तेस्रो धारा हो । त्यो भनेको नेपालमा नयाँ जनवादी गणतन्त्र हुँदै वैज्ञानिक समाजवादको स्थापना गर्ने धारा हो । देश र जनताको वास्तविक मुक्ति त्यसबाट मात्र सम्भव छ ।
हामीले अहिले नयाँ कार्यनीतिक सरकारको कुरा ल्याइरहेका छौं । देशमा संयुक्त अस्थायी सरकारको आवश्यकता छ । सम्पूर्ण देशभक्तहरु, क्रान्तिकारी जनवादीहरु, वामपन्थीहरु एकढिक्का हुनुपर्छ, सम्मेलन गरेर संयुक्त मोर्चा बनाउनु पर्छ र सशक्त र प्रभावकारी संघर्ष गरेर यो सत्ता र व्यवस्थाको अन्त्य गरेर अस्थायी संयुक्त सरकार बनाउनु पर्छ । त्यो सरकारले एकातिर राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लगायत जनताको हक हितको पक्षमा काम गर्छ भने अर्कोतिर जनसंविधान निर्माण गर्छ ।
यो संसदीय संविधान अब खारेज गर्नेपर्छ । यो तथाकथित संसदीय लोकतन्त्रको फाँसीवादीकरण भइरहेको छ । यो संसदीय व्यवस्थाको मिति पुगिसकेको छ । अब यसलाई फेर्नुपर्छ । अब मिसन ०८४ बाट यो व्यवस्था टिक्नेवाला छैन । ०८४ बाट देशमा केही हुनेवाला छैन । चुनावप्रति जनताको सम्मान छैन, वितृष्णा पैदा भइरहेको छ । संसदीय चुनावको पाँचवर्षे चक्रब्यूहबाट केही हुनेवाला छैन । यो व्यवस्था बदल्न हामीसँग संघर्ष गर्ने बाहेक अरु विकल्प छैन । संघर्षको प्रक्रियामा संसदवादी पार्टीभित्र भएका परिवर्तन चाहने साथीहरु मात्रै होइन, सुरक्षा प्रशासन, कर्मचारी प्रशासन लगायत सम्पूर्ण शोषित उत्पीडितहरु यो संघर्षमा लामबद्ध हुनेछन् । दशवर्षको जनयुद्धमा पनि उहाँहरुले साथ दिएको हो र आगामी संघर्षमा पनि उहाँहरुले हामीलाई साथ दिनुहुने विश्वास छ ।”