प्रचुर पर्यटकीय सम्भावना बोकेको कंचन गढी क्षेत्रमा चमेरे गुफा फेला !

0

रवि पाण्डेय
बर्दघाट – बर्दघाट नगरपालिका वडा नम्बर –५ को दाउन्ने पानी ढलो क्षेत्रमा रहेको कंचनगढी क्षेत्र आन्तरिक पर्यटनको आर्कषणको क्षेत्र बन्ने सम्भावना देखिएको छ ।
स्थानीय बासिन्दाले पाल्पा राज्यको सेनबंशको गढिको रुपमा रहेको विश्वास गरेपनि कंचनगढीको भग्नावशेषको उत्खनन् नगर्दा सम्म यसको ऐतिहासिकताबारे यकिन हुन सक्ने अवस्था भने छैन ।
तर सरकारले देशका एक सय पर्यटकीय गन्तब्यमा राखेपछि यसक्षेत्रको प्रचार प्रसारमा समेत थप टेवा पुग्दै आएको छ । यस क्षेत्रको कंचनगढी परिसर मात्र पर्यटकीय स्थल बन्न सक्ने सम्भावना नभई समग्र क्षेत्र नै प्राकृतिक आर्कषणले भरिपुर्ण छ ।
यहाँ जैविक पर्यटन र सिंचाईलगायतको विकासले कृषि पर्यटनको क्षेत्रमा समेत उतिकै महत्व राख्ने प्रचुर सम्भावना रहेको सरोकारवाला बताउछन् ।
कंचन पानीलाई ठाँउ ठाँउमा बाँध बाधेर यहाँ धेरै पर्यटकीय गन्तब्य मात्र होइन कृषि उत्पादनमा समेत बृद्धि गर्न सकिने आधारहरु रहेको छ ।
अझ बिभिन्न प्रजातिको चमेरा रहेको चमेरे गुफाको मनोरम दृश्यले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको मनै लोभ्याउने सक्ने अवस्था छ ।
कन्चनगढी परिसरबाट करिब दुई किलोमिटर उत्तर पूर्वमा रहेको चमेरे गुफालाई संरक्षित क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।
साथमा हाती रह र यसक्षेत्रमा रहेको झरनाहरुले पर्यटन ब्यवसाय बृद्धि गर्न सकिने स्थानीय बासिन्दा बताउछन् ।
यसैबीच नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उप–प्रमुख रुद्रप्रकाश उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा, बर्दघाट नगरपालिका वडा नम्बर ५ की वडाध्यक्ष बिमला गुरुङ सहितको टोलीले त्यस स्थानको अवलोकन निरीक्षण समेत गर्नुभएको छ ।
सो क्रममा नगर प्रमुख श्रेष्ठले धार्मिक तथा पर्यटकीय महत्वको क्षेत्र भएकाले त्यस स्थानहरुको पर्यटन प्रर्वद्धनको लागि कार्यक्रम अगाडी बढाइने बताउनुभयो ।
उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले कंचनगढीलाई नेपाल सरकारले सूचीकरण गरेको १०० वटा पर्यटकीय गन्तव्य स्थल मध्ये एक रहेको भन्दै त्यस स्थानको पर्यटन प्रर्वद्धन अपरिहार्य रहेको बताउनुभएको थियो ।
त्यस्तै त्यस स्थानमा रहेको खोलालाई बाँध लगायतका संरचनाहरु निर्माण गरी सिंचाई तथा गर्मी मौसममा सितलता दिने प्रकृतिको संरचनाहरु निर्माण गर्न योजना आफुहरुले बनाएको उपप्रमुख उपाध्यायले बताउनुभयो ।

You might also like