बर्दघाट नगरपालिकाद्धारा न्यानो कपडा र दाउरा वितरण
रवि पाण्डेय
बर्दघाट – बर्दघाट नगरस्तरीय विपद् ब्यवस्थापन समितिले अतिविपन्नलाई आगो ताप्ने प्रबन्ध र न्यानो कपडा बितरण गरेको छ । नगरले पुनः प्रयोग गर्न मिल्ने न्यानो कपडा संकलन गरेर दिन लागेको भन्दै आलोचना भएपनि विपन्न परिवारहरुलाई कपडा वितरण गरेको छ ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरले कपडा बितरणको काम भइरहेको बताउदै विपन्न जनतालाई न्यानो कपडा दिदाँ अफवाह फैलाइएको तर्क गर्नुभयो ।
समितिको सोमवार बसेको बैठकले जाडो तथा शितलहरबाट अतिबिपन्न नगरवासीलाई वितरण गर्नका लागि पुनः प्रयोग गर्न सकिने कपडा संकलन गर्ने र दाउराको प्रबन्ध गर्ने निर्णय गरेको थियो ।
आर्थिक विकास समितिका संयोजक समेत रहनुभएका वडा नं ८ का वडाध्यक्ष कविराज आचार्यले ब्यवसायी एंव नगरवासीहरुले दिएको कपडा विहीवार वडा नम्बर ८ र ११ को बस्तीमा बितरण भएको जानकारी गराउनुभयो । उहाँले ज्याकेट , सर्ट , पाइन्ट, टिर्सट , स्विटर र उनीको टोपी महिला बालबालिका देखि जेष्ठ नागरिकहरुलाई समेत बितरण गरिएको बताउनुभयो ।
त्यस्तै विपन्नलाई आगो ताप्ने दाउरा वितरण गर्ने कार्य समेत भइरहेको नगरपालिका अन्तरगत गठित बन तथा बातावरण समितिका संयोजक रहेका वडा नम्बर १३ का वडाध्यक्ष नरबहादुर चौधरीले जानकारी गराउनुभयो । जनप्रतिनिधि र नगर प्रहरीले दाउरा वितरण कार्य गर्दै आएको चौधरीले बताउनुभयो ।