‘सामुहिक धुनी’का लागि दाउरा बितरण
बर्दघाट – बर्दघाट नगरस्तरीय विपद् ब्यवस्थापन समितिको निर्णय अनुसार अतिबिपन्न बाहुल्य रहेको बस्तीहरुमा मंगलवार सामुहिक धुनीका लागि दाउरा वितरण गरिएको छ । अतिविपन्नलाई आगो ताप्ने प्रबन्ध मिलाउने निर्णय भए अनुसार वर्दघाट १२ र १३ मा दाउरा वितरण गरिएको नगरपालिका अन्तरगत गठित बन तथा बातावरण समितिका संयोजक एंव वडा नम्बर १३ का वडाध्यक्ष नरबहादुर चौधरीले जानकारी गराउनुभयो । उहाँले उल्लेखित वडाका मझौनी, लेवडा लगायतका बिभिन्न गाउँ टोलमा दाउरा बितरण भएको र बुधवार बिभिन्न क्षेत्रका वितरण गर्ने बताउनुभयो ।
साथै नगरले पुनः प्रयोग गर्न मिल्ने न्यानो कपडा संकलन गर्ने तयारी स्वरुप स्थानीय ब्यवसायी तथा बासिन्दाले न्यानो कपडा संकलन कार्य तीब्र बनाएका छन् । करिब ३ गाडी कपडा संकलन भएको र त्यसलाई एक ठाँउ बनाउने कार्य भइरहेको बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा गौतमले जानकारी दिनुभयो । आर्थिक विकास समितिका संयोजक समेत रहनुभएका वडा नं ८ का वडाध्यक्ष कविराज आचार्यले संकलित कपडाको बर्गीकरण गर्ने बिषयमा समेत छलफल भएको बताउनुभयो ।